|

सिरियास्थित संयुक्त राष्ट्रसंघीय निकाय विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को कार्यालयका प्रमुखलाई लाखौं डलर दुरुपयोग गरेको आरोप लागेको छ।

उक्त कार्यालयका कर्मचारीले कोभिड–१९को महामारीबाट देश आक्रान्त भएका वेला कार्यालय प्रमुख डा. अक्जेमल म्याग्टिमोवाले सरकारी अधिकारीलाई कम्प्युटर, सुनका सिक्का र कारसमेत उपहार दिएर डब्ल्युएचओ कोषको दुरुपयोग गरेको आरोप लगाएका हुन्।

एसोसिएटेड प्रेस (एपी)ले प्राप्त गरेका १०० भन्दा बढी गोप्य कागजात, सन्देश र अन्य सामग्रीमा डब्ल्युएचओका सिरिया प्रमुखले सिरियाली सरकारका उच्च पदस्थ राजनीतिज्ञहरूसँग सम्झौता गर्न कर्मचारीलाई दबाब दिएकी तथा लगातार गलत ढंगले कोष र दाताहरूले दिएको रकम दुरुपयोग गरेको बयान दिएका भेटिएको छ।

कर्मचारीहरूले अनुसन्धानकर्ताहरूलाई उनले भ्रष्टाचार गरेको बयान दिएका दस्तावेज एपीले हात पारेको हो। म्याग्टिमोभाले उनीमाथि लागेका आरोपबारे जवाफ दिन अस्वीकार गरेकी छन्। आफ्नो पदीय मर्यादाको ख्याल गर्दै उनले जानकारी दिन अस्वीकार गरेकी बताइएको छ।

यद्यपि उनले ती आरोपलाई अपमानजनक भनेकी छन्। उनीविरुद्ध १२ जना कर्मचारीले उजुरी गरेका थिए। उजुरी परेसँगै डब्ल्युएचओले २० भन्दा बढी अधिकारी खटाएर आन्तरिक अनुसन्धान थालेको छ। उक्त संस्थाले उनीविरुद्धको आरोपको छानबिन भइरहेको र त्यसनिम्ति बाह्य अनुसन्धानकर्ता परिचालन गरेको बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.