|

सल्यान : पाक्नै लागेको धान बाढीले बगाएपछि सल्यानका किसानहरू हिजोआज बगरमा धानका बाला खोजिरहेका छन्। 

एक साता परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले धान पाकेर पहेँलपुर खेत बगरमा परिणत गरेपछि बगरमा किसान धान खोजिरहेका छन्। पाक्नै लागेको धान र भित्र्याउन तयार भएको मकै बाढी र पहिरोले बगाउँदा किसान चिन्तित छन्।

शारदा नदीमा आएको नदीले धानसँगै पाँच रोपनी खेत बगाएर लगेपछि परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताएको शारदा नगरपालिका–१२ का मङ्गलबहादुर अधिकारीले बताए।  उनले भने, ‘शारदा किनारमा पहेँलपुर भएर पाकेको धान दशैँ मनाएर काट्ने तयारी थियौँ। एक साता लामो वर्षाका कारण शारदा नदीमा बाढी आएपछि धान काट्नु त के, धानसँगै पाँच रोपनी खेत नै बगाएर लग्यो।’ 

छत्रेश्वरी गाउँपालिका राना गाउँकी मुना रानाको पीडा पनि योभन्दा फरक छैन। धान काट्ने वेला पानी पर्ला, बाढी आउला र ठूलो नोक्सान गर्ला भन्ने कुनै कल्पना नै नभएका वेला २५ मुरी धान फल्ने खेत समेत बाढीले बगाएको उनले बताइन्।

कपुरकोट–५ सलामका विजयसिंह बुढाको घरसहित खेतबारी पनि पहिरोले बगायो। उनी स्थानीय सरकारले व्यवस्थापन गरेको विद्यालयमा बसिरहेका छन्। यहाँका १४ घरपरिवारको घरका साथै खेतीयोग्य जमिन पहिरोले बगाएको छ।

अन्नबाली मकै र धान बगाएका किसान यति वेला राहतको आशामा बसेका छन्। शारदा नगरपालिका–१२ की खुमा अधिकारीले आफ्नो दुःखमा सरकारबाट सहयोग मिल्ने आशा गरेकी छन्।

शारदा नगरपालिका–१२ डाँग्रीका रेसम बुढाको ४ रोपनीमा लगाएको धानमध्ये करिब ३ रोपनी खेतमा लगाएको धान बालुवामा मिसिएको छ। करिब ३० मुरी धान नोक्सान भएको बुढाले बताए।

विशेषगरी शारदा नदी, बनगाड, कपुरकोट, कुमाख, छत्रेश्वरी, कालिमाटी र त्रिवेणीमा बढी क्षति भएको छ। खोलाको छेउछाउमा रहेका खेत डुबान र कटान भएकाले शारदा नदी र बनगाड आसपासको क्षेत्रमा बढी क्षति भएको छ।

अविरल वर्षासँगै आएको बाढीले सल्यानमा करिब १ हजार २ सय रोपनी क्षेत्रफलमा लगाएको धान बालीमा क्षति गरेको छ। कृषि विकास कार्यालय सल्यानका कार्यालय प्रमुख भरत बस्नेतले २ हजार बढी रोपनीमा क्षति पुगेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.