|

सुर्खेत : ३१ महिनाभित्र डिपिआर पूरा गर्ने भन्दै जाजरकोटको नलगाड जलविद्युत् आयोजनाको काम सुरु गरिए पनि ६ वर्ष बित्दासम्म काम पूरा हुन सकेको छैन।

सन् २०१६ मा ३१ महिनाभित्र आयोजनाको डिपिआर सम्पन्न गर्ने गरी नलगाड जलविद्युत् कम्पनी, अष्ट्रेलियाको स्नोइ माउन्टेन इन्जिनियरिङ कर्पोरेशन (स्मेक), एमडब्ल्युएच र नेपालको उदय जेभीबीच सम्झौता भएको थियो।

पटक पटक म्याद थप्दा पनि डिपिआरको काम पूरा नभएपछि जाजरकोटका स्थानीय बासिन्दा आक्रोशित भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए। विद्युत् उत्पादनगृहमा माटो जाँचको लागि खनिएको सुरुङको काम बीच बीचमा छोड्दै निर्माण गर्दा ढिला भइरहेको छ। अब ३५५ मिटर सुरुङमध्ये अहिलेसम्म ३५२ मिटर मात्र खनेको र बाँकी एक हप्ताभित्र पूरा हुने नलगाड जलविद्युत् आयोजनाका इन्जिनियर पदम थापाले बताए।

आयोजनको वातावरणीय प्रभाव मूल्याङ्कन वन मन्त्रालयमा पुगेर अध्ययन भइरहेको थापाले बताए। स्मेकलाई डिपिआरको काम छिटो सक्न पटक पटक म्याद थपेर काम गराइरहेको र असारसम्म त्यो सबै रिपोर्ट आइसक्ने आयोजनाले बताएको छ। नलगाड नगरपालिका–७ दल्लीमा विद्युत् गृह र बारेकोट गाउँपालिका–८ अँधेरीखोलामा आयोजनाको प्रस्तावित बाँधस्थल छ।

नलगाड नगरपालिकास्थित नलगाड खोला र ठूलीभेरीको दोभान नजिकै भूमिगत पावर हाउस निर्माण हुनेछ। बारेकोटको अँधेरी खोलादेखि दल्लीसम्म साढे आठ किमी लामो मुख्य सुरुङ र २ देखि ३ किलोमिटरसम्मका तीनवटा सहायक सुरुङ बन्नेछन्। ५ सय मिटर लम्बाइ र २४८ मिटर अग्लो ड्याम बन्नेछ। 

जलाशयमा ४७ करोड ४० घनमिटर पानी जम्मा हुने बताइएको छ। आयोजनामा चारवटा टर्बाइन हुनेछन्। प्रत्येक टर्बाइनबाट १०४.२५ मेगावाट विद्युत् उत्पादन हुनेछ। आयोजनाबाट एक वर्षमा १ हजार २३२ गिगावाट घण्टा ऊर्जा उत्पादन हुन्छ।

आयोजनाबाट उत्पादित विद्युत् ४ सय केभी डबल सर्किट प्रसारण लाइनमार्फत कोहलपुर सबस्टेशनमा जोड्ने योजना छ। आयोजनास्थलबाट कोहलपुरसम्म ११२ किमी लामो प्रसारण लाइन निर्माण भइरहेको छ। आयोजनाले प्रभावित क्षेत्रमा मुआब्जा वितरण गरिसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.