|

बैतडी : वीरेन्द्र नाथ र गजेन्द्र बोहराको उत्कृष्ट प्रदर्शनले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा बैतडी विजयी भएको छ। बैतडीले शुक्रबार भएको खेलमा डडेल्धुरामाथि ५५ रनको जित हात पारेको हो।

छनोट प्रतियोगितामा बैतडीको यो दोस्रो जित हो। यसअघि पहिलो खेलमा बैतडीले बझाङलाई ६ विकेटले हराएको थियो।

बैतडीले दिएको १९० रनको लक्ष्य पछ्याएको डडेल्धुरा १५४ रनमा अलआउट भयो। उसका लागि विशाल ऐरले ३६ र कृष्ण भट्टले ३२ रनको योगदान गरे पनि हार भने टार्न सकेनन्।

डडेल्धुराको पारी ध्वस्त पार्ने क्रममा बैतडीका गजेन्द्र बोहराले ५ विकेट हात पारे। बोहराले ८ ओभरमा  २ मेडन राखेर २४ रन खर्चेर ५ विकेट हात पारे। वीरेन्द्र चन्दले २ विकेट झारे।

त्यसअघि पहिला ब्याटिङ गरेको बैतडीले वीरेन्द्र नाथको उत्कृष्ट ब्याटिङमा १८९ रन बनायो । वीरेन्द्रले ४ चौका र ३ छक्काको सहयोगमा अर्धशतकीय पारी खेल्दै ६१ रन हिर्काए। दीपक बोहराले ३१ र कप्तान बसन्त खत्रीले २४ रन जोडे।

डडेल्धुराका कृष्ण विष्टले ४‚ कैलाश ऐर र निर्मल रोक्काले २/२ विकेट हात पारे।

प्रदेशस्तरीय छनोटमा यहाँका ८ जिल्लाका टोली सहभागी छन्। सहभागी टोलीहरूबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रधानमन्त्री कपका लागि छनोट हुुनेछन्।

​नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता कात्तिक १२ गतेदेखि काठमाडौंमा हुँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.