|

सल्यान : तिहार झिलीमिली बत्तीको पर्व हो। तिहार बत्तीको पर्वसँगै अर्को महत्वपूर्ण पक्ष देउसी र भैलोलाई पनि लिने गरिन्छ। परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता भने पछिल्ला केही वर्षयता हराउँदै गएको पाइन्छ।

तिहार शुरु भएसँगै टोलटोलमा देउसी र भैलो खेल्ने समूहले बालबालिकादेखि बूढापाकासम्मलाई मनोरञ्जन दिए पनि आधुनिक शैली अँगाल्दा मौलिकता भने गुमाउँदै गएको छ।

देउसी र भैलोमा बज्नुपर्ने मादल, खैँजडी र बाँसुरीको साटो अचेल साउन्ड सिस्टमबाट नेपाली‚ हिन्दी आधुनिक र र्‍याप गीत बज्ने गरेका छन्। सोरठी, पैसेरी, मयुर, मारुनी जस्ता नृत्यको स्थान आधुनिक शैलीको नाचले लिएको छ।

यमपञ्चक शुरु भएपछि सल्यान बजारका चोकचोकमा देउसी, भैलो खेल्नेको भीड छ तर उनीहरूले गाउने गीत र नाचमा कुनै मौलिकता नदेखिएको सिद्ध कुमाख गाउँपालिका-३ का धर्मराज घर्तीले बताए।

परम्परागत देउसी र भैलोलाई आधुनिकताले प्रभावित पारेको उनले बताए। उनले मौलिक कला, संस्कृतिको संरक्षणतर्फ युवा पुस्ताको चासो बढ्नुपर्ने सुझाव दिए।

पश्चिमा संस्कृतिले नेपालको मौलिकता मेटाउन लागेको बनगाड कुपिण्डे नगरपालिका-४ का निवर्तमान वडाध्यक्ष मोमत रोकाले बताए। उनले भने‚ ‘अहिलेको गीतमा मौलिकता कत्ति पनि छैन। मादल, बाँसुरी र खैंजडी बजाएर गरिने बनगाडी टप्पा, मारुनी र सोरठी नाच अब कहाँ हेर्न पाउनु?’

आधुनिक देखिने चाहना र प्रविधिको विकाससँगै देखासिकीका कारण मौलिकता हराएको उनको बुझाइ छ। ‘हामीमा मौलिकता जोगाउने भन्ने भावना विकास नै भएन, अरुको देखासिकी गर्ने बानीले कैयौँ संस्कृति लोप भइरहेका छन्‚’ उनले भने।

विदेशी संस्कृतिको अनुशरण गरे पनि मौलिक देउसी, भैलोको खास, महत्व र मर्म भने हराउन दिन नहुने उनी बताउँछन्। तर पछिल्ला वर्षमा रकम बढी उठोस् भनेर नै देउसी भैलोमा विदेशी गीत, सङ्गीत र नाचको प्रयोग गर्ने गरेको उनको भनाइ छ।

उनले भने‚ ‘प्रविधिको विकाससँगै आफूलाई परिमार्जित गर्नु राम्रो हो तर आफ्नो मौलिकता भुल्नु भनेको पहिचान सङ्कटमा पार्नु हो। नयाँ पनि सिकौँ, अनुशरण गरौँ र पुरानोलाई पनि संरक्षण गरौँ भन्ने भावना युवा पुस्तामा भएन भने भोलि विदेशी र हामीमा केही भिन्नता हुने छैन।’

मौलिकता र नेपालीपन जोगाउन युवापुस्ता नै लाग्नुपर्ने छत्रेश्वरी गाउँपालिका-१ पलाटेका प्रदीप योगीले बताए। उनले बूढापाका मौलिकताको खानी भएको भन्दै उनीहरूबाट युवा पुस्ताले ग्रहण गर्नुपर्ने धेरै कुरा रहेको उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.