|

हेटौंडा : मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरूको चुनावी चहलपहल पनि बढेको छ। नतिजा आफ्नो पक्षमा पार्न उम्मेदवारहरू घरदैलोदेखि विविध कार्यक्रममा व्यस्त छन्।

आसन्न आम निर्वाचन चितवनको निर्वाचन–१ मा रोचक हुने देखिएको छ। चितवन–१ मा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र नेपाली कांग्रेसबाट अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलबीचको प्रतिष्पर्धा रोचक हुने देखिएको हो। यी दुवै नेता अर्थशास्त्रका ज्ञाताको रुपमा परिचित छन्। एमालेका उम्मेदवार पाण्डे तेस्रो पटक चुनावी मैदानमा होमिएका छन् भने गठबन्धनबाट कांग्रेसका उम्मेदवार पौडेल पहिलो पटक चुनावी मैदानमा छन्। 

पहिलो संविधान सभामा चितवनबाट समानुपातिक तर्फको सभासद बनेपछि नेकपा (एमाले) का पाण्डे करिब २० महिना अर्थमन्त्री भएका थिए। पाण्डे दुई कार्यकाल राष्ट्रिय सभा सदस्य थिए। उनी २०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा पहिलोपटक पहिलो पटक प्रत्यक्षतर्फ चुनाव लडेका थिए। पाण्डे चितवन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचन लडेर विजयी भए। २०७४ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पनि उनी यही क्षेत्रबाट निर्वाचित भए।

यी दुबै निर्वाचनमा पाण्डेले नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीलाई हराएका थिए। २०७४ मा पाण्डेले ५१ हजार ०८० भोट ल्याउँदा बुर्लाकोटीले ३५ हजार ३६० भोट ल्याएका थिए। त्यतिबेला १५ हजार बढीको मतान्तर निकाल्न पाण्डेलाई नेकपा (माओवादी केन्द्र)ले साथ दिएको थियो। तर,यो पटक उनलाई साथ दिएको माओवादीको समर्थन उनका प्रतिष्पर्धी पौडेललाई छ। उनी एमालेबाट एक्लै मैदानमा छन्। योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर उनीसँग प्रतिष्पर्धा गर्न आएका पौडेलको यो पहिलो निर्वाचन हो। रत्ननगरका बासिन्दा पौडेल पहिलो प्रतिष्पर्धामा नै जित निकाल्ने दाउँमा छन् भने पाण्डेलाई आफ्नो साँख जोगाउनुपर्ने चुनौती छ। 

पौडेल अर्थशास्त्रीको रुपमा देशभर राम्रो छवि बनाएका व्यक्ती हुन् भने एमालेका नेता पाण्डे लामो क्षेत्रदेखि सो क्षेत्रको विकास निर्माणमा संलग्न छन्। केहि समयअघि पाण्डेले भनेका थिए्, ‘म अहिले पनि आफ्नो निर्वाचनमा मतदाताकै माझमा छु, महिनाको चार पटक निर्वाचन क्षेत्रमा नै हुन्छु, काठमाडौं हुँदा पनि निरन्तर टेलिफोनमा नागरिकसँग सम्पर्कमा नै रहन्छु,। मैले अघिल्लो निर्वाचनमा गरेका अधिकांश प्रतिबद्धता लगभग पूरा गरेको छु, त्यसैले जोकोहीसँग चुनावी प्रतिस्पर्धा गर्न पनि तयार छु।’ यो अभिव्यक्तिले पनि उनी आफु जित्नेमा ढुक्क देखिन्छन्। तर, गठनबन्धन र त्यसमाथि पनि लोकप्रिय अर्थशास्त्री नै उनीसँग प्रतिस्पर्धा गर्न आउँदा पाण्डेमाथी चुनौती थपिएको  छ। 

फुटको असर यसपालिको निर्वाचनमा देखिन सक्ने सम्भावना  छ। पार्टी फुटको संघारमा हुँदा सुरेन्द्र पाण्डे माधवकुमार नेपालको समूहमा थिए। एमालेको महाधिवेशनमा नेपालले ओलीसँग प्रतिस्पर्धा गर्दा पाण्डे नेपाल समूहबाट महासचिवमा लडेका थिए। प्रधानमन्त्रीका रूपमा  ओलीले संसद विघटन गर्दा पनि उनी नेता नेपालसँगै ओलीको कदमविरूद्ध उभिएका थिए। त्यसताका आफ्नै निर्वाचन क्षेत्रमा भएको एक कार्यक्रममा ओली  पक्षका कार्यकर्ताले उनीविरूद्ध नाराबाजी गरेका थिए। तर पार्टी विभाजनको क्रममा पाण्डेले ओलीलाई साथ दिए।

यसपाली निर्वाचन जित्न पाण्डेले एकीकृत समाजवादीमा गएका आफ्ना पूर्वसहकर्मी र एमालेभित्रै पनि सबैको साथ पाउनु पर्छ। विश्व पौडेल सामू पनि गठबन्धनका सबै पार्टीहरूको मत जोगाउनु पर्ने चुनौती छ। यदी माओवादी केन्द्र र एकीकृत समाजवादीको मत आफ्नो पक्षमा ‘ट्रान्सफर’ गर्ने सकेमा पौडेल निर्वाचन लडेको पहिलो पटकमै सांसद बन्नेछन्। केही समय अघि सम्म वागी उम्मेदवारी दिएका कांग्रेस नेता राजेन्द्र बुर्लाकोटीले पौडेललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन्। यो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीले हरि ढकाललाई उम्मेदवार बनाएको छ। उनी पहिले एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा थिए। हाल पुँजीबजारमा सकृय ढकाल यस क्षेत्रका युवाहरुको माझमा परिचित छन्। उनी पहिला एमालेको विद्यार्थी संगठनमा भएको कारण उनले एमालेको पनि मत काट्न  सक्ने आंकलन पनि गरिएको छ। 

चितवन-१ मा राप्ती नगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिका पर्छन्। यी तीनवटै पालिकामा गत स्थानीय तहको निर्वाचनमा गठबन्धनको उम्मेदवारहरू विजयी भएका थिए। चितवन १ मा रहेका तीन पालिका अन्तर्गतका ४२ वटा वडा पर्छन्। जसमध्ये २० वटा वडाका अध्यक्ष एमालेले जितेको छ। कांग्रेसले १८, माओवादी केन्द्रले एक, एकीकृत समाजवादीले एक र स्वतन्त्रले दुई वडाका अध्यक्ष जितेका थिए। यो क्षेत्रमा मतदाता संख्या १ लाख ३९ हजार ८४५ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.