|

बैतडी : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै बैतडीका राजनीतिक दलहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन्। विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवार बनेका उम्मेदवारहरू मतदाताको घरदैलोमै पुगेर भोट मागिरहेका छन्।

उम्मेदवार विभिन्न आश्वासन दिँदै मतदातालाई रिझाउन व्यस्त रहेका हुन्। चुनावी प्रचारमा जुटेका उम्मेदवारसहित दलका नेता कार्यकर्ता घरदैलो तथा गाउँघरमा देखिन थालेका छन्। मतदाताको माग र उनीहरूको समस्या बुझ्न नआउने नेताहरू अहिले भोट माग्न घरदैलोमा पुगेका हुन्।

सत्ता गठबन्धनबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर)ले घरदैलो अभियान र अगुवा कार्यकता भेटघाटलाई तीव्रता दिएको बताए। उनले भने, ‘घरदैलो र भेटघाटका क्रममा गठबन्धनको आवश्यकताबारे मतदातालाई जानकारी दिने गरेका छौँ। उनीहरूको माग र समस्याका बारेमा पनि बुझ्ने गरेका छौँ।’

नेकपा एमालेले पनि घरदैलो अभियान र कार्यकर्ता भेटघाटलाई तीव्रता दिएको जनाएको छ।  संघ र प्रदेशको छुट्टाछुट्टै टोली बनाएर घरदैलो अभियान सञ्चालन गरिएको नेकपा एमाले बैतडीका सचिव चक्र कार्कीले जानकारी दिए। उनले भने, ‘हामीले संघ र प्रदेशको छुटाछुट्टै टोली बनाएर घरदैलो अभियान सञ्चालन गरेका हौँ, घरदैलो अभियान अन्तिम चरणमा छ।’

राप्रपाले पनि जनताको माग र आवश्यकता बुझ्न घरदैलो अभियान सञ्चालन गरेको उक्त पार्टीका बैतडी जिल्ला अध्यक्ष तथा प्रदेशसभाका समानुपातिक उम्मेदवार इन्द्रदेवशरण भट्टले बताए। उनले भने, ‘तल्लो स्वराड क्षेत्रलाई बढी फोकस गरेर घरदैलो अभियान सञ्चालन गरेका छौँ। त्यसपछि अन्य ठाउँमा पनि घरदैलो गर्छौँ।’
राष्ट्रिय स्वतन्त्र पार्टीले  पनि घरदैलो अभियानमा व्यस्त रहेको जनाएको छ।

उक्त पार्टीका सुदूरपश्चिम सचिव भोजराज जोशी (क्वालिटी) का अनुसार भोट माग्न उम्मेदवारसहित घरदैलो अभियानमा व्यस्त रहेका छन्। विकासका एजेण्डासहित घरदैलो अभियान जारी रहेको र नागरिकको समस्या बुझेर समाधानका लागि पहल गने जोशीको भनाइ छ। उनले भने, ‘घरदैलोमै पुगेर उनीहरूका समस्याका बारेमा बुझिरहेका छौँ। उनीहरूकै मागका आधारमा हामीले भावी योजना बनाउँछौँ।’

गत वैशाख ३० को निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई आधार मान्दा बैतडीमा गठबन्धनको सहज जित हुने आँकलन गरिएको छ। सत्ता गठबन्धनमा रहेको कांग्रेसको ३३ हजार ६८३, माओवादीको १४ हजार ९९८, नेकपा एकीकृत समाजवादीको ३ हजार १४० मत रहेको छ। नेकपा एमालेको ३५ हजार ४८ र राप्रपाको २ हजार ४ मत छ।

यसैबीच जिल्ला निर्वाचन कार्यालय बैतडीले सबै दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरेको छ। उम्मेदवारलाई चुनावी प्रचारमा जाँदा १० भन्दा बढी झण्डा, २५ जनाभन्दा धेरै लैजान, बाजा सहितको भीडभाडमा आयोगले रोक लगाएकाले आचारसंहिता विपरीतका गतिविधि नगर्न आग्रह गरेको हो।

यसैगरी बैतडीका उम्मेदवारले ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकिएको छ। आयोगले प्रतिनिधिसभाका सदस्य उम्मेदवारले ३३ लाख, प्रदेशसभा १ का उम्मेदवारले २१ लाख र प्रदेशसभा २ का उम्मेदवारले २३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको हो।

बैतडीमा प्रतिनिधिसभा सदस्यका लागि ३ स्वतन्त्रसहित ११ जना चुनावी मैदानमा छन्। यस्तै प्रदेशसभा क्षेत्र नं १ मा एक  स्वतन्त्र सहित ६ जना र प्रदेशसभा क्षेत्र नम्बर २ मा ५ जना चुनावी मैदानमा छन्। प्रतिनिधिसभाका लागि एक मात्र क्षेत्र रहेको बैतडीमा १ लाख ५० हजार १५६ मतदाता रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.