|

काठमाडौं : पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले संयमित भएर काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन्।

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनको बेला निर्वाचन आयोगको सबैभन्दा ठूलो शक्ति नै संयमता भएकाले सोही अनुसारको बोली, वचन र व्यवहार हुनुपर्ने बताएका हुन्।

निर्वाचन आयोगको सानो गल्तीले पनि आगोको झिल्कोझैं सल्किने सक्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने उनको भनाइ थियो। ललितपुरमा आयोजित ‘निर्वाचन आयोगको अभिभारा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो कारणले निर्वाचनको वातावरण भत्किन नपाओस् भनेर आयोगले गहिरोसँग विचार गर्नुपर्ने स्पष्ट पारे।

पोखरेलले भने, ‘निर्वाचनमा अप्ठयारो पार्ने इलामेन्टस्हरु धेरै छन्। हाम्रो आफ्नै बोली, बचन र व्यवहारबाट त्यो परिस्थिति नआओस्। यतिखेर असाध्यै संवेदनशील किनभने सानो एउटा झिल्को  भयो भने डढेलो लाग्छ भन्छन् नि। काँही हाम्रो बोलाईबाट भनौन संयमता, सबभन्दा ठूलो यतिखेर आयोगको शक्ति भनेको संयमता हो। हामीले संयमतालाई ख्याल गरेर हाम्रो आफ्नै कारणबाट अरु भत्किन नपाओस् भनेर बिचार गरौँ।’

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन अर्का पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले आयोगको ध्यानाकर्षण गराए। उनले शीर्ष नेताहरु उम्मेदवार भएको जिल्ला बढि संवेदनशील हुने गरेको उल्लेख गर्दै त्यसमा सुरक्षाको आवश्यक व्यवस्था मिलाउन ध्यान दिनुपर्ने स्मरण गराए।

श्रेष्ठले मतदाता शिक्षाको कामलाई प्रभावकारी बनाउन पनि आयोगले ख्याल राख्ने विश्वास व्यक्त गरे। उनले भने, ‘सेन्सेटिभ एरियाहरु पत्ता लगाएर सुरक्षाको आवश्यक व्यवस्था मिलाउनु पर्दछ। टप लिडरहरु लडेको ठाउँमा विशेष ध्यान दिनै पर्‍यो। किनभने उहाँको हारजित एउटा प्रेष्टिजको सवाल हुन्छ पार्टीमा। र, मुलुककै लागि पनि। त्यसले गर्दा त्यहाँ साम, दाम, दण्डभेद जे पनि अपनाउन सक्ने अवस्था त्यहाँ रहन्छ। त्यसलाई हामीले राम्रोसँग नियाल्नु पर्दछ। अर्को भोटर्स एजुकेशनका कुराहरु पनि छन। अहिले आयोगबाट राम्रा भईरहेको छ। गठबन्धनको कुराले गर्दा यसमा धेरै अप्ठयारो अवस्था छ।’

पूर्वकार्यबहाक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले मतगणनामा गडबढी हुन नदिन निर्वाचन आयोग गम्भिर बन्नुपर्ने आवश्यक्ता औंल्याए। उनले सबै निर्वाचनहरुमा मतगणनाको विषय जटिल हुने उल्लेख गर्दै त्यसो हुन नदिन आयोगले बेलैमा योजना बनाउनुपर्ने बताए। निर्वाचनमा पठाइएको मतपत्रको अनुगमनको काममा पनि आयोग सचेत हुनुपर्ने गुरुङको भनाई थियो।

उनले भने, ‘अत्यन्तै संवेदनशील र कठिन हुने भनेको नै मतगणना हो।  यो चाँही २०३३ सालदेखि अहिले २०७९ सालको स्थानीय तह निर्वाचनसम्म हेर्दाखेरी प्रत्येक पटक निर्वाचन आयोगले गरेका सबै निर्वाचनहरुमा मत गणनामा नै गड्बढी हुँदै आएको छ। अव म यहाँहरुलाई भनौं–म २०४९ सालमा सिडियो हुँदाखेरी सोलुखुम्बुमा निर्वाचन अधिकृतको रुपमा काम गर्दा त्यहाँ पनि त्यस्तै भयो।

०५१ को सुर्खेतमा पनि त्यस्तै भयो। त्यसपछि भएन भनेर यो २०६४ मा ब्यालेट बक्स बोकेर आएको ट्रक नै बेपत्ता भयो। त्यो अहिलेसम्म पत्ता लागेको छैन। परिणाम आउन थालेपछि बहिष्कारका कुराहरु आए। र, त्यो २०७० निर्वाचन र २०७९ को निर्वाचनहरुमा पनि मतगणनाका बेला दानका बेला जटिलता भए। २०७४ मा मतगणना स्थलमा जाली थप गर्नुपर्ने अवस्था आयो। यस विषयमा निर्वाचन आयोगले अत्यन्तै संवेदनशील भएर ध्यान दिनुपर्‍यो।’

गुरुङले निर्वाचन आयोगले निर्वाचनको ब्यालेट बक्सको सुरक्षामा पनि चनाखो हुनुपर्ने बताए। विगतमा ब्यालेट बोकेर आएको ट्रक नै बेपत्ता भएको घटनाको चर्चा गर्दै उनले त्यस्तो अवस्था आउन दिन नहुने पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.