|

झापा : बालबालिका युवादेखि ज्येष्ठ नागरिकसमेत आफ्नो मोबाइलको क्यामरा पुछ्दै दमकस्थित दमक फनपार्कतिर  लागिरहेका  थिए।  

बुधबार  दिउँसो  पार्कमा  सुरक्षाकर्मीहरूको  पनि  बाक्लो  उपस्थिति  रहेको थियो। प्रतिनिधि  र  प्रदेश  सभाको  निर्वाचन  मिति  मङ्सिर  ४  गते  नजिकिँदै  गर्दा  चुनावी  रौनकले  सबैतिर  छोएको  छ ।  किसानलाई  धान  काट्न  र  थन्क्याउन भ्याइनभ्याइ छ। राजनीतिक दलका नेता कार्यकर्ता र स्वतन्त्र उम्मेदवारहरू कतै खेतबारीमा त कतै भजनकीर्तन भएको ठाउँमा गएर मतदातासँग मत माग्ने र प्रभाव पार्ने काम गरिरहेका छन्। 

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री, झापा क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार केपी शर्मा ओलीको शैली भने आधुनिक र फरक देखियो। 
उनीसँग मतदातालाई नजिक ल्याउन नयाँ र फरक शैली अपनाइयो जसले धेरैलाई आकर्षित बनाएर दमक फनपार्कमा ल्याएको थियो। ओलीले  बुधबार  दिउँसो  २  बजे  फनपार्कमा  आएर करिब चार घण्टासम्म ‘सेल्फी विथ केपी बा’ कार्यक्रम राखिएको थियो। 

ओली दिउँसो साढे चार बजेमात्र फनपार्क पुगे। फनपार्कमा उनीसँग सेल्फी खिचाउनको भीड थामिनसक्नुको भइसकेको थियो। श्रीमती राधिका शाक्यसहित मुसुक्क मुस्कुराउँदै जब ओली गाडीबाट निस्केपछि सबैले मोबाइलको क्यामरा तेस्र्याएर फोटो खिच्ने कार्यक्रम सुरु भयो। ओलीले सबैसँग एकल तथा सामूहिक सेल्फीमा करिब चार घण्टा  बिताएका थिए।  सबैसँग  मसुक्क  मुस्कुराउँदै  र  मतदाताको आग्रहअनुसारको हाउभाउमा उनलेले फोटो खिचाएका थिए।  “नयाँ र युवा मतदाताका लागि लक्षित कार्यक्रम भए पनि सबै उमेर समूहको उत्साहजनक उपस्थिति रह्यो,” निर्वाचन परिचालन समिति झापा क्षेत्र नं. ५ का संयोजक देवेन्द्र दाहालले भने।  धेरैलाई ओलीसँग प्रत्यक्ष भेट्न र फोटो खिचाउन रहर भएको पाएपछि यो कार्यक्रम राखिएको दाहालले बताए। 


ओलीको  सचिवालयका  दीपेन्द्र  दाहालका  अनुसार निवासदेखि कार्यक्रम स्थलहरूमा समेत ओलीसँग फोटो खिच्न धेरैले रहर गर्ने र त्योअनुसार समय व्यवस्थापन गर्न धेरै नै कठिनाइ रहेको थियो। यो कार्यक्रमले धेरै मतदाता र अन्यले पनि उनीसँग फोटो खिचाउने इच्छा पूरा गरेका छन्। 

ओलीसँग  फोटो  खिचिसकेपछि  २०  वर्षीया  साधना  निरौलाले  भनिने,  “कस्तो  राम्रो  फोटो  आएछ, कति ठूलो रहर थियो।”  उहाँसहित सात जना फोटो खिचाउनका लागि नै  गौरादहबाट  आएकी रिहछन्। “एक  हजार  रुपियाँमा सिटी भाडामा लिएर आएका हौं,” उनले भनिन्।  

ओली बेलुका ८ बजेसम्म फनपार्कमा सेल्फी  खिचाएर  बसेका थिए।  कतिपयले  उनीसँग  आफ्ना मागहरू पनि राखे। अन्तिममा उनी ‘कोही त छुट्नु भएन नि’, भन्दै ठट्यौली गर्दै फनपार्कबाट फर्किए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.