|

काठमाडौं : बलिउड अभिनेत्री मनीषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का लागि भोट मागेकी छन्। शुक्रबार काठमाडौंको वसन्तपुरमा राप्रपाले गरेको चुनावी सभालाई सम्बोधन गर्दै कोइरालाले राप्रपालाई भोट दिएर जिताउन आह्वान गरिन्।

उनले राजेन्द्र लिङ्देनको व्यक्तित्व र भाषणबाट प्रभावित भएर आफू राप्रपाको पक्षमा उभिएको स्पष्ट पारिन्। कोइरालाले हजुरबुवा बिपीलाई सम्झिँदै राप्रपाका लागि भोट मागेकी हुन्। उनले बिपी धेरै बाटोबाट निस्किए, तर अन्त्यमा आएर राजसंस्था र बहुदलीय व्यवस्था एउटै बाटोमा आउनुपर्छ भनेर बुझेको भाषण गरिन्।  

‘म आज राजेन्द्र लिङ्देनजीको मुख हेरेर, उहाँको भाषण सुनेर यहाँ उभिएकी छु। उहाँले भन्नुभएको थियो कि भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानुजस्तै हो। त्यो सुनेपछि मलाई लागेको थियो कि अब चाहिँ नेपालले साँच्चिकै असल नेता पायो भन्ने मनदेखि लाग्यो। त्यसैले म यहाँ उभिएकी छु,’ उनले भनिन्, ‘अरूले बिर्सिए होलान् तर राजेन्द्र लिङ्देनजीले बिपी बालाई बिर्सिनुभएको छैन। बिपी बा धेरै बाटोबाट निस्किनुभयो तर अन्त्यमा उहाँले हाम्रो राजसंस्था र बहुदलीय व्यवस्था एउटै बाटोमा आउनुपर्छ र त्यसले नेपाल सुदृढ हुन्छ भनेर बुझ्नुभयो।’

कोइरालाले बिपी र महेन्द्रले एक अर्कामा आदर राख्ने गरेको उल्लेख गर्दै उनीहरूले कहिल्यै पनि सहकार्य गर्ने मौका नपाएको बताएकी छन्। उनले बिपी र महेन्द्रले सहकार्य नगर्दा त्यतिखेर मुलुकले ठूलो अवसर गुमाएको उल्लेख गरेकी छन् तर उही बिपीले जन्माएको पार्टी नेपाली कांग्रेस बिपीको नीतिमा टेकेर संघीय लोकतान्त्रिक गणतन्त्र बोकेर हिँडिरहेको छ। 

‘धेरै पहिले बिपी बा’ र महेन्द्र सरकार एक अर्कामा आदर राख्नुहुन्थ्यो तर उहाँहरूले कहिल्यै पनि सहकार्य गर्ने मौका पाउनुभएन। त्यतिखेर मुलुकले ठूलो अवसर गुमायो,’ कोइरालाले भनिन्, ‘अहिले त्यस्तै मौका अहिले तपाई हाम्रो ढोकामा आएको छ। अब यो मौकाले हामीले गुमाउनु हुँदैन। राप्रपालाई अत्यधिक भोट दिएर जिताउनुहोस्।’

हजुरबुवा पुस्ताले राजा फाले, नातिनी उल्टो बाटोमा 

नेपाली राजनीतिमा कोइराला परिवार भन्नेबित्तिकै एउटा विरासत सम्झिइन्छ। १०४ वर्षे राणा शासन र २४० वर्षको राजतन्त्र ढाल्न कोइराला परिवारको विशेष योगदान रहेको छ। विराटनगरका कृष्णप्रसाद कोइरालाका पाँच भाइ छोराहरूले नेपालको राजनीति उलटपुलट पारेको इतिहास ताजै छ। कृष्णप्रसादका पाँच भाइ छोरा मातृका, बिपी, केशव, तारिणी र गिरिजा हुन्। २००७ सालको आन्दोलन र त्यसपछिका सबैजसो राजनीतिक घटनाक्रममा कोइराला परिवारको भूमिका रहेको छ।

कुनै समय नेपाली कांग्रेस भन्नेबित्तिकै कोइराला परिवार र कोइराला परिवार भन्नेबित्तिकै नेपाली कांग्रेस भन्ने बुझिन्थ्यो। अहिले परिस्थिति बदलिएको छ। कोइराला परिवारको पहिलो पुस्ता इतिहास बनिसकेका छन्। उनीहरूका छोराछोरी राजनीतिमा सक्रिय छन्। बिपीपुत्र शशांक, केशवपुत्र शेखर र गिरिजापुत्री सुजाता कांग्रेसका नेताका रूपमा स्थापित छन्। 

१०४ वर्षे राणा शासन फ्यालेका बिपी कोइरालालाई राजाले नै अपदस्त गरे। साथै ८ वर्षे जेल जीवन पनि भोगे। आफ्नो जीवनकाल भरि राजासँग उनको सम्बन्ध सौहार्द भएन। भन्नलाई उनले राजासँग मेरो घाँटी जोडिएको छ भने तर राजाले घाँटी जोडेको व्यवहार देखाएनन्।

बिपीपुत्र प्रकाश कोइरालाकी पुत्री मनीषा राजनीतिमा सक्रिय हुन थालेकी छन्। बलिउड क्षेत्रमा चर्चा कमाएकी मनीषा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सक्रिय हुन थालेकी छन्। उनी हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा खुलेकी हुन्।

उनले देशमा राजसंस्थाको आवश्यकता रहेको वकालत गरेकी छन्। उनले उही राजा फाल्न आफ्ना पुर्खा गिरिजाप्रसाद कोइरालाको योगदान बिर्सिएकी छन्। ​मनीषाको राजतन्त्र फर्काउने चाहना पूरा नहुने पूर्वप्रधानमन्त्री एवं  नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बताएका छन्। 

मनीषा राजतन्त्रको पक्षमा खुलेसँगै भट्टराईले प्रतिक्रिया दिएका छन्

‘बगेको खोलो फर्कंदैन। ठूलो पहिरोले केही क्षण थुनिन सक्छ तर अन्ततः फेरि खुलेर अगाडि बढ्छ। प्रकृति र समाज विकासको शाश्वत नियम यही हो। अतः जतिसुकै ठूलो सेलिब्रिटीको मुखारविन्दबाट निस्के पनि हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र उल्टिँदैन। यस्ता उडन्ते कुरालाई महत्त्व नदिऊॅ। समय र शक्ति बर्बाद नगरौं’‚ उनले भनेका छन्। 

बिपीको सपना गिरिजाले पूरा गरे

विश्वेश्वरप्रसाद कोइराला सानो समयदेखि विद्रोही स्वभावका थिए। बाल्यकाल भारतमा बिताएका बिपीले ऊर्जाशील समय नेपालको परिवर्तनमा खर्चिए। भारतमा रहँदादेखि नै बिपीमा विद्रोहको स्वर गुञ्जायमान थियो।

राजनीति यात्राको सुरुवाती चरणमा मार्क्सवादी छाप बोकेका बिपी भारतमा रहँदा अंग्रेजका लागि ‘भारत छोडो’  आन्दोलनमा सक्रिय रहे। उनले त्यहाँ रहँदा जेल जीवन भोग्नुपर्‍यो। 

भारत स्वतन्त्र भएसँगै नेपालमा पनि राणा शासनविरुद्ध आन्दोलन सुरु भयो। राणाहरूको अत्याचारबाट आजित नेपाली जनता विद्रोहको पक्षमा थिए। जनता बोल्न नसकेपछि  साहित्यकार तथा लेखकहरूले विरोध सुरु गरे।

साहित्यकारहरू धरणीधर कोइराला र कृष्णलाल अधिकारीले आफ्ना लेख रचनामार्फत राणा शासनको विरोध गर्दथे। भारतमा बसेर नेपालका राणाहरूको अत्याचारबारे नियालिरहेका बिपी संगठन बनाएर नेपाल प्रवेश गरे।  

बिपीले देशमा प्रजातन्त्र बहालीका लागि संघर्ष गरे। त्यसको परिणाम स्वरूप वि.सं. २००७ सालमा दिल्लीमा सम्झौता भयो। सम्झौतापछि प्रजातान्त्रिक सरकार गठन भयो र मोहन शम्शेर प्रधानमन्त्रीत्वमा बिपी गृहमन्त्री बने। एक वर्ष पनि नटिकेको यो सरकार २००८ मा विघटन भयो।

नयाँ सरकारमा मातृका प्रधानमन्त्री भए। मातृका र बिपीमा आन्तरिक द्वन्द्व बढ्न थाल्यो।  मातृका दरवारको पक्षमा ढल्किए भने बिपीले छुट्टै पार्टी खोले। वि.सं. २०११ चैत्र १ गते राजा त्रिभुवनको मृत्यु भयो। त्यसपछि महेन्द्र राजा भए। महेन्द्रले संसदीय चुनावको घोषणा गरे।

उक्त निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्यायो। बिपी जननिर्वाचित प्रधानमन्त्री भए। २०१७ पौष १ गते बिपी लगायतका नेताहरूलाई गिरफ्तार गरियो। बिपी सुन्दरीजल जेलमा आठ वर्ष बसेर रिहा भए। जेलबाट रिहा भएपछि बिपीले देशमा प्रजातन्त्र पुनर्बहाली गर्न सशस्त्र क्रान्तिको घोषणा गरे तर उक्त क्रान्ति सफल भएन। भारतमा रहेका बिपी राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ साल पौष १६ गते नेपाल फर्किए। तैपनि उनले सोचेजस्तो नेपालमा प्रजातन्त्र पुनर्बहाली हुन सकेन। 

२०३६ सालमा राजा वीरेन्द्रले सुधारिएको पञ्चायत वा बहुदल रोज्ने भनेर जनमतसङ्ग्रहको घोषणा गरे। जनमतसङ्ग्रहमा पनि नेपाली जनताको चाहना पूरा हुन पाएन। पञ्चहरूको जित भयो।  देशलाई प्रजातन्त्र र समाजवादमा लाने बिपीको चाहना पूरा भएन। उनका कान्छा भाइ गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नेपालमा गणतन्त्र आयो। अन्तत: २०६५ जेठ १५ मा राजा ज्ञानेन्द्र शाहले दरबार छाडेर बाहिरिन बाध्य हुनुपर्‍यो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.