|

बारा : मंसिर ४ को प्रतिनिधिसभा सदस्य पदका लागि बारा–४ मा श्रेष्ठ, मियाँ र वाग्लेबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ।  चारवटा निर्वाचन क्षेत्र रहेको बारामा चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य पदमध्ये–४ मा प्रतिनिधिसभा सदस्यका लागि दुई पूर्वमन्त्रीसहित तीन जना प्रतिस्पर्धामा छन्।

तनहुँ स्थायी घर भएका पूर्व श्रममन्त्री नेकपा एकीकृत समाजवादीका कृष्णकुमार (किसान) श्रेष्ठ अहिले बारा निर्वाचन क्षेत्र नं ४ मा बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारका रुपमा चुनावी मैदानमा छन्। 

त्यस्तै जसपाबाट ०७४ को निर्वाचनमा विजयी भएका एकवाल मियाँ पार्टी परित्याग गरी पुनः नेकपा एमालेबाट चुनावी प्रतिस्पर्धामा होमिएका छन्। त्यस्तै गठबन्धन नरुचाएर वागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका इच्छाबहादुर वाग्लेको अवस्था अन्य स्वतन्त्र उम्मेदवारमध्ये बलियो देखिएको छ। 

यसर्थ मंसिर ४ मा श्रेष्ठ, मियाँ र वाग्लेबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको हो। आफ्नो प्रतिद्धन्दी नै नरहेको दावी गर्ने गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले भौतिक पूर्वाधार विकासका सपना बाँडेका छन्। 

चुनावी घरदैलो अभियानका क्रममा उनले हरेक गाउँपालिका र उपमहानगरपालिकाका सबै वडाहरूलाई व्यवस्थित सडक सञ्जालमा जोड्ने प्रतिबद्धता जनाउने गरेका छन्। उनले आफुले जिते राष्ट्रिय गौरवका योजनाहरू सम्पन्न तथा यथाशिघ्र सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।

शिक्षा, स्वास्थ, यातायात, भौतिक पुर्वाधार, सुकुम्बासी समस्या समाधान, पर्यटन प्रवर्द्धन, खेलकुद, चुरे तथा नदी नियन्त्रण लगायतका एजेण्डा लिएर घरदैलोमा व्यस्त नेकपा एमालेका एकवाल मियाँ चुनावी दौडमा व्यस्त छन् । मन्त्री बन्दा समेत खासै देखिने खालका काम नगरेको आरोपका विच रुमल्लिएको मियाँले मुस्लिमको बाहुल्यता भएको क्षेत्र नं. ४ मा आफुलाई जित्न कसैले नरोक्ने दावी गरेका छन्।  ०७४ को निर्वाचनमा विश्वास गरेकाहरुले अहिले पनि आफुलाई जिताउने र विकासको लहर ल्याउन बाटो खोल्नेमा आफु ढुक्क रहेको उनले बताएका छन्।

आफ्नो स्वतन्त्र उम्मेदवारी लोकतन्त्र रक्षाका लागि भएको बताउने इच्छा बहादुर वाग्लेको अवस्था स्वतन्त्र मध्ये राम्रो देखिएको छ । निजि क्षेत्रको लगानी विना मुलुकमा समृद्धिको कल्पना समेत गर्न नसकिने बताउँदै उनले आफ्नो जितबाट मात्रै निजी क्षेत्रको लगानी सम्भव भएको दावाका साथ आर्थिक विकास, समुन्नती र भष्ट्राचारको अन्त्य गरेर देशको विकास गर्नका लागि आफू अघि बढेको बताएका छन्। 
जनताको मन जितेर एक्लै चुनाव लड्न नसक्ने स्थितीका विच विचार नै नमिलेका दलहरुले चुनावका लागि मात्रै गठबन्धन गर्नु भनेको सत्तामा पुग्ने फोहरी खेल मात्रै भएको उनको दावी छ।

गठबन्धनको नाममा बढ्दो राजनीतिक विकृती तथा अराजनीतिक गतिविधिलाई अन्त्य गरी नीतिगत परिवर्तनका लागि आफ्नो उम्मेदवारी भएकोले जनताले जिताउनेमा पूर्ण विश्वस्त रहेको उनले बताए। 

गठबन्धनका कारण अस्तित्व नै समाप्त हुने गरी बारा ४ मा कांग्रेस उम्मेदवार विहिन भएको भन्दै रुष्ट बनेकाहरुको नेतृत्व गर्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका वाग्लेको पक्षमा कांग्रेसका कार्यकर्ताहरु खुलेर लाग्न थालेका छन्।  आ–आफ्ना जितका दावि प्रस्तुत गरिरहेका तिनैजना प्रतिस्पर्धी मध्ये क्षेत्र नं. ४ का वासिन्दाले कस्लाई रोज्छन् त्यो भने हेर्न बाँकी नै छ। 

क्षेत्र नं. ४ मा कुल एक लाख पाँच हजार नौ सय ७० मतदाता छन्। जस मध्ये पुरुष ५८ हजार एक सय ५२, महिला ४७ हजार आठ सय १२ र अन्य १६ मतदाता छन्।
यस क्षेत्रका लागि ६१ मतदानस्थलमा एक सय ३३ मतदान केन्द्रको व्यवस्था गरिएको छ। मतदाताहरुमध्ये राजनीतिक दलबाट १० र स्वतन्त्र १० गरी २० जना चुनावी मैदान उत्रिएका छन्। 

प्रदेशसभातर्फ (१) मा पुरुष २७ हजार एक सय ८३, महिला २३ हजार तीन सय ६० गरी कुल ५० हजार पाँच सय ३३ मतदाताहरुमध्ये राजनीतिक दलबाट नौ, स्वतन्त्र चार गरी १३ उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा रहेका छन्। तीमध्ये एमालेबाट देवनारायण चौधरी र नेकपा माओवादी केन्द्रबाट क्षेत्रबहादुर श्रेष्ठ (अनिल) बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। 

यसैगरी प्रदेशसभा (२) मा पुरुष ३० हजार नौ सय ७९, महिला २४ हजार चार सय ५२ र अन्य ६ गरी कुल ५५ हजार चार सय ३७ मतदाता छन्।  जसमा लोकतान्त्रिक समाजवादीका जितेन्द्र सोनल र जसपाका आत्माराम प्रसाद साहबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। विगतमा प्रदेशसभाको निर्वाचनमा विजयी भएर मन्त्री बनिसकेका जितेन्द्र सोनलको अवस्था राम्रो देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.