महालक्ष्मी उपाध्याय ‘डिना’‚ कमल थापा र दीपक सिंहबीच टक्कर

|

हेटौंडा : निर्वाचन आउन ४ दिन मात्रै बाँकी हुदा कसले कहाँ बाजी मार्ला भन्ने अड्कलबाजी हुन थालेको छ। 

मंसिर ४ गते हुने निर्वाचन मकवानपुरको क्षेत्र १ मा रोचक हुने देखिएको छ। दुईजना हेभिवेटको बीचमा स्थानीय चुनावमा लोकप्रिय मत पाएका राप्रपाका उम्मेदवारको प्रतिस्पर्धा रोचक हुने देखिएको हो।

१६ जनाको उम्मेदवारी परेको सो क्षेत्रमा नेपाली कांग्रेसको केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, राप्रपा नेपालको अध्यक्ष कमल थापा र राप्रपाका दीपक सिंहबीचको प्रतिस्पर्धालाई चासोको साथ हेरिएको छ।

डिना चौथो पटक र थापा आठौं पटक चुनावी मैदानमा होमिएका छन् भने सिंह पनि आधा दर्जन पटक मैदानमा उत्रिसकेका छन्। ०७४ को निर्वाचनमा कांग्रेसको समर्थनमा सोही निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा होमिएका राप्रपा नेपालका अध्यक्ष थापा यो निर्वाचनमा एमालेको समर्थन लिएर मात्र नभएर सूर्य चिह्नसमेत लिएर उम्मेदवार बनेका छन्।

यसअघिका ७ वटा निर्वाचनमा उम्मेदवार बनेका थापाले २ पटक मात्रै जितको स्वाद चाखेका छन् भने ५ पटक पराजयको। त्यसैले यो निर्वाचनमा कुनै पनि हालतमा चुनाव जित्ने दाउमा रहेका थापा तीन दशकदेखि आफूलाई पराजित गर्दै आएको दल एमालेकै चुनाव चिह्नबाट उम्मेदवार बनेका छन्।

सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी कांग्रेस सहमहामन्त्री डिनाले अघिल्लो निर्वाचनमा थापाको लागि आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गरेको थिइन्। क्षेत्र १ बाट उठ्ने तयारी गरेकी उनले पार्टीले थापालाई समर्थन गरेपछि निर्वाचन क्षेत्र परिवर्तन गर्दै क्षेत्र २ बाट चुनावमा उठेको थिइन्।

अघिल्लो निर्वाचनमा जसको लागि उनले निर्वाचन क्षेत्र परिवर्तन गरेको थिइन्, उनै थापा अहिले उनलाई हराउनको लागि कडा प्रतिस्पर्धी बनेर उभिएका छन्।

गएको वैशाखमा भएको स्थनीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा अनपेक्षित रुपमा लोकप्रिय मत पाएका दीपकबहादुर सिंह डिना र थापा दुवै जनाका लागि अवसर र वाधा दुवै बनेका छन्।

करिब ७/८ हजार मात्रै संगठित मत भएको राप्रपाबाट हेटौंडाको मेयरमा उम्मेदवार बनेका सिंहले २० हजार मत पाएका थिए। तीन दशकदेखि एमालेको लाल किल्लामा सिंहले एमालेलाई तेस्रो बनाउँदै दोस्रो स्थान हासिल गरेका थिए ।

राप्रपा नेपालका अध्यक्ष थापा र सिंहले लामो समयसम्म राप्रपामा सँगै सहकार्य गरेका थिए। थापाले राप्रपा पार्टी परित्याग गरेपछि सहोदर दाजुभाइभन्दा पनि नजिकको सम्बन्ध भएका उनीहरु आसन्न निर्वाचनमा एकअर्का विरुद्ध उभिएका छन्।

कांग्रेस सहमहामन्त्री डिना र एमाले उम्मेदवार थापा दुवै जनाको जीत हारको साँचो सिंहको हातमा रहेको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ। राप्रपाका पूर्वसहयोद्धा एउटै मैदानबाट चुनावी मैदानमा होमिएकोले उनीहरूबीच एकअर्काको मत बाँडिने हुँदा डिनालाई फाइदा हुने गठबन्धनको अड्कल छ।

स्थानीय तहको निर्वाचनमा सिंहले एमालेको मतसमेत काटेका थिए। राप्रपा नेपालको अध्यक्ष रहेका थापालाई एमालेजनले पूर्ण रुपमा स्विकारेको अवस्था पनि छैन। पछिल्लो अवस्था हेर्दा थापाले न एमालेको पूर्ण मत पाउन सक्छन् न राप्रपाको।

त्यसैले यो चुनावमा पनि सिंहले एमालेको मत काट्न सके डिनालाई जित्न सहज हुनेछ। थापाको विश्लेषणमा सिंहले जति धेरै भोट ल्याए आफ्नो जित्ने सम्भावना त्यति रहनेछ। सिंहले धेरैभन्दा धेरै मत ल्याउन सके आफ्नो जीत सुनिश्चित हुने उनको दाबी छ।

राप्रपाका सिंहले एमालेको मत चोर्ने सम्भावना बढी रहे पनि गठबन्धनको मतलाई पनि उनले आफ्नो पक्षमा पार्न सक्ने देखिन्छ। गत स्थानीय तहको निर्वाचनको मतलाई हेर्दा ३ जना उम्मेदवारमध्ये सबैभन्दा धेरै मत गठबन्धनकी डिनासँग रहेको छ।

क्षेत्र १ मा गएको स्थानीय तह निर्वाचनको मत परिणामलाई आधार मान्दा गठबन्धनकी डिना बलियो छिन्। यस क्षेत्रमा बागमती, बकैया, हेटौंडाको वडा नम्बर १५ र मकवानपुरगढीको वडा नम्बर १ देखि ४ सम्म गरी कुल ४० वडा पर्छन्।

उक्त क्षेत्रमा स्थानीय निर्वाचनमा राप्रपा नेपालले समर्थन गरेको एमालेले सबैभन्दा बढी १५ वटा वडा जित्यो तर कुनै पनि पालिका जित्न सकेन। कांग्रेसले २ पालिकासहित १२ वटा वडा जित्यो।

माओवादीले १ पालिकासहित १२ वटा वडा जित्दा नेकपा एकीकृत समाजवादीले १ पालिका र एउटा वडामात्र जित्यो। स्थानीय तह निर्वाचनमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो।

एमालेका वडाध्यक्षका उम्मेदवारले पाएको मत ३८ हजार ६५ छ। 

राप्रपाले ४ हजार २८ मत ल्याएको आयोगको तथ्यांकमा छ।

ग्रेसका वडाध्यक्षका उम्मेदवारले ३४ हजार ७२ मत प्राप्त गर्दा माओवादीले १६ हजार ११७ र एकीकृत समाजवादीले ३ हजार २८३ मत ल्याएको छ।

डिनासँग कांग्रेस‚ माओवादी केन्द्र र एकीकृत समाजवादीको पनि मत छ। क्षेत्र १ मा १ लाख ५० हजार १५५ जना मतदाता छन्। जसमध्ये ७५ हजार २२१ पुरुष, ७४ हजार ९३० महिला र अन्यमा ४ जना मतदाता छन्।

स्थानीय चुनावमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा डिनासँग ५५ हजार १३५ मत रहेको छ। उक्त मत विश्लेषणमा गठबन्धन १६ हजार १ सय ३४ मतले अगाडि रहेको देखाउँछ।

क्षेत्र १ मा एमालेको मत ३९ हजार १ रहेको विश्लेषण गठबन्धनको छ। राप्रपा नेपाल हालसम्म जनपरीक्षणमा नगएको हुँदा उसको मतको यकिन छैन। मकवानपुरमा राप्रपा नेपालको संगठन पनि छैन।

निर्वाचन आयोगको तथ्यांकअनुसार यस क्षेत्रमा ५ वर्षमा २५ हजार ३५६ मतदाता थपिएका छन्। २०७४ सालमा १ लाख २४ हजार ७९९ मतदाता रहेकोमा अहिले बढेर १ लाख ५० हजार १५५ पुगेको छ। चुनाव जित्न बढेकै मत महत्वपूर्ण छ।

२०७४ सालमा एमालेले समानुपातिकतर्फ २८ हजार ८८४ मत ल्याउँदा कांग्रेस र माओवादीले क्रमशः १६ हजार ८२२ र ११ हजार ५४३ ल्याएका थिए। कांग्रेस र माओवादीको मत जोड्दा २८ हजार ३६५ हुन्छ। अब त्यही मतमा एकीकृत समाजवादीको मत जोड्दा गठबन्धनको मत हुन्छ।

निर्वाचन आयोगको तथ्यांकअनुसार राप्रपाले १५ हजार १७१, मालेले ३१ मत ल्याउँदा अन्य पार्टीले २ सय मतको आँकडा पार नभएको देखिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.