|

सर्लाही : सर्लाही क्षेत्र नम्बर ३ मा सत्तापक्षीय गठबन्धन र विपक्षी गठबन्धन दलका उम्मेदवारबीच कडा टक्कर देखिएको छ। सत्तापक्षीय गठबन्धन दलबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साह र विपक्षी गठबन्धन दलका उम्मेदवार हरि उप्रेतीबीच कडा प्रतिस्पर्धा देखिएको हो।

साह र उप्रेती दुवै संविधानसभाका सदस्य हुन्। साह २०७० को दोस्रो संविधानसभा चुनावमा तराई मधेस सद्‌भावना पार्टी (तमसपा)को समानुपातिक तर्फका संविधानसभा सदस्य हुन् भने उप्रेती नेकपा एमाले सर्लाही ३ नम्बर क्षेत्रबाट प्रत्यक्ष निर्वाचित संविधानसभा सदस्य हुन्।

साह व्यापारी पृष्ठभूमि हुँदै २०७० सालको दोस्रो संविधानसभाबाट राजनीतिमा प्रवेश गरेका हुन्। उप्रेती २०६४ को पहिलो संविधानसभा निर्वाचनमा यसै क्षेत्रबाट नेकपा एमालेबाट चुनाव लडेका थिए। २०६४ सालको संविधानसभा चुनावमा पराजित उप्रेती दोस्रो संविधानसभाका सदस्य निर्वाचित भएका थिए।

२०७४ सालमा माओवादी र एमालेबीच चुनावी तालमेल भएपछि यो क्षेत्रबाट माओवादी केन्द्रका रामेश्वर राय उम्मेदवार बनेका थिए। साह २०७४ को प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बने।

उप्रेती दुईपटक २०६४, २०७० मा चुनाव लडिसकेकाले राजनीतिमा उप्रेतीको जनाधार तुलनात्मक रूपमा बलियो देखिएको पत्रकार कृष्ण एस्मालीको विश्लेषण छ। उप्रेती लामो समयदेखि राजनीतिमा सक्रिय रहेका कारण युवादेखि पाका उमेरसम्म लोकप्रिय रहेको एस्मालीको बुझाइ छ।

स्थानीय निर्वाचनमा स्थानीय उम्मेदवारले पाएको मतलाई प्रतिनिधिसभा सदस्य चुनावमा आधार मान्न नहुने राजनीतिक विश्लेषणहरू बताउँछन्। स्थानीय चुनावमा पाएको मतको आधारमा कुन पार्टी बलियो छ र कुन कमजोर छ सहजै आँकलन गर्न नसकिने जानकारहरूको भनाइ छ।

विपक्षी गठबन्धन दलका उम्मेदवार उप्रेतीलाई भोट माग्न उनका भाइ अभिनेता निखिल उप्रेती दुई सातादेखि सर्लाही क्षेत्र नम्बर ३ मा सक्रिय छन्। उप्रेतीले इमानदार र असल उम्मेदवारलाई भोट दिन आग्रह गरेका छन्।

सर्लाही क्षेत्र नम्बर ३ मा कुल मतदाता १ लाख २७ हजार ३४ रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ। ५१ वडा रहेको यो क्षेत्रमा स्थानीय चुनावमा १३ वटा वडामा नेपाली काँग्रेस, ११ वटा वडामा नेकपा एमाले, १४ वटा वडामा नेकपा माओवादी केन्द्र, १० वटा वडामा जसपा, २ वटा वडामा एकीकृत समाजवादी पार्टी र १ वडामा बहुजन एकता पार्टी विजयी भएका थिए।

यसलाई आधार मान्दा सत्तापक्षीय उम्मेदवार साहका पक्षमा २९ वडा देखिन्छ। त्यसैगरी उप्रेतीको पक्षमा २१ वडा देखिन्छन्। बहुजन एकता पार्टी कुनै गठबन्धनमा समावेश छैन।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.