राजधानी-बुटवल-सार्छौँ-:- खाँण

|

बुटवल : गृहमन्त्री एवं नेपाली काँग्रेसका रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकृष्ण खाँणले लुम्बिनी प्रदेशको राजधानी बुटवल सार्ने बताएका छन्।

गृहमन्त्री खाँणले लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवल नै उपयुक्त भएको बताएका हुन्।​ न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले अस्थायी राजधानी बुटवललाई कोरोना कालमा लकडाउन भएको वेला दाङ सारी रूपन्देहीका जनतामाथि अन्याय भएको दाबी गरेका हुन्।

पूर्वाधारका हिसाबले पनि सुगम भएकाले राजधानीका लागि रूपन्देही नै उपयुक्त भएको स्पष्ट पारे।

उनले भने‚ ‘प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो कार्यकालमा सात प्रदेशमा अस्थायी राजधानीको मुकाम उहाँले तोक्नुभएको हो। ५ नम्बर प्रदेशको राजधानी बुटवलमा तोकियो। सांस्कृतिक, भौतिक सबै कुराले बुटवल उपयुक्त थियो।’

आफूलाई जिताए गृहमन्त्री खाँणले लुम्बिनी प्रदेशको राजधानी बुटवलमा फिर्ता गर्ने र त्यसका लागि जनताको साथ र सहयोग चाहेको बताए। राजधानी दाङ सार्ने पूर्ववर्ती सरकारको निर्णयले रूपन्देहीका जनतालाई अन्याय भएको उनको कथन छ।

उनले भने‚ ‘हचुवाको भरमा राजधानी बुटवलबाट बाहिर सार्नु उचित थिएन। यसमा जनताको साथ सहयोग चाहिन्छ। त्यसैले रूपन्देहीका जनता पूर्ववर्ती सरकारसँग रुष्ट हुनुहुन्छ। रूपन्देही र बुटवलका नागरिकप्रति अन्याय भएको छ।’

नेकपा एमालेका उपाध्यक्ष एवं रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विष्णु पौडेलले पनि आफूले लुम्बिनी प्रदेशको राजधानी बुटवल नै हुनुपर्ने बताए।​

चुनावी घरदैलोका क्रममा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले आफ्नो निर्णयविपरीत प्रदेशको राजधानी अन्यत्र सारेको भन्दै गुनासो गरे। उनले राजधानीका लागि सबैभन्दा उपयुक्त ठाउँ बुटवल रहेको बताए। उपाध्यक्ष पौडेलले प्रदेशसभाको निर्णय उसको अधिकार भए पनि प्रदेशसभाले चाहेमा पुनः प्रदेशको राजधानी सार्नसक्ने स्पष्ट पारे।​

पौडेलले भने‚ ‘मैले प्रदेशको राजधानी र केन्द्र कहाँ हुनुपर्छ भनिसकेको छु। मेरो निर्णयविपरीत प्रदेशसभाले निर्णय गरेको हो। केन्द्र र प्रदेशको राजधानी हुन चाहिने आधारका दृष्टिकोणले सबैभन्दा उपयुक्त ठाउँ बुटवल हो।’

उपाध्यक्ष पौडेलले रूपन्देहीका जनताले निर्माणाधीन आयोजना छिटो सम्पन्न गर्न, रूपन्देही जिल्लालाई आर्थिक विकासको केन्द्र बनाउन र  शिक्षा, स्वास्थ्य, रोजगारीमा प्राथमिकता दिन माग गरेको बताए।

उनले जिल्लाका सुकुमवासीका समस्या चाँडै समाधान होस् भन्ने रूपन्देहीका जनताको अपेक्षा रहेको बताए। उनले निर्वाचनपछि नेकपा एमालेको बहुमतको सरकार बन्ने दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.