|

गुल्मी : जिल्लामा स्थगित भएको मतदान केन्द्रमा मंगलवार पुनः मतदान हुने भएको छ। 

क्षेत्र नम्बर– १ को कालीगण्डकी गाउँपालिका  वडा नम्बर २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा  मंगलवार पुनः मतदान हुने भएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए।

आइतबार मतदान चलिरहेको अवस्थामा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्षतर्फको  ५५ वटा मतपत्र परेपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो। मतदान केन्द्रमा रहेका एक हजार ३६९ जना मतदातामध्ये ६६४ जनाले मतदान गरेका थिए।

यो केन्द्र बाहेक जिल्लाका अन्य मतदान केन्द्रको मतदान सकेर जिल्ला सदरमुकाम तम्घासमा मतपेटिका ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामबहादुर कुँवरले जानकारी दिए।

यस्तै आइतबार गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नम्बर–५ को छापहिले माध्यमिक विद्यालयको (क) केन्द्रमा बिहान २ घण्टा रोकिएको मतदान स्थानीय दलका प्रतिनिधिसँग गरिएको सहमतिपश्चात् मतदान पुनः सुचारु गरिएको थियो।

जिल्लामा २ लाख २३ हजार ६१५ जना मतदाता छन् । जिल्लाका २७९ वटा मतदान केन्द्रमा मतदान गरिएको थियो । जिल्लामा २ प्रतिनिधि सभा र ४ प्रदेश सभामा ६ जना निर्वाचित जनप्रतिनिधिका लागि ६० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.