|

पर्वत : आइतबार भएको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा मुस्ताङबाट देशमा नै पहिलो जित निकालेको काँग्रेसले प्रदेशसभा सदस्यमा पनि जित हात पारेको छ।

प्रतिनिधिसभाको एउटा र प्रदेशसभा सदस्यको २ वटा गरी प्रत्यक्षतर्फ ३ जना सांसदको लागि भएको निर्वाचनमा सबै पदमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन्। यससँगै काँग्रेसले मुस्ताङमा नेकपा एमालेको विरासत भत्काएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय मुस्ताङका अनुसार प्रतिनिधिसभामा पूर्वसांसद रोमी गौचन थकालीका छोरासमेत रहेका २९ वर्षीय योगेश गौचन थकालीले एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका छन्।

गौचनले ३ हजार ९९२ मत पाउँदा प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार प्रेम तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका छन्। तुलाचनलाई ९१४ मतान्तरले पछि पार्दै गौचन विजयी भएका हुन्। विजयी बनेका गौचन होटल, ट्राभल्स एन्ड टुर्स तथा किवी खेती गरिरहेका व्यवसायी हुन्।

२०७४ सालमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रेमले रोमीलाई ४८५ मतले पराजित गरेका थिए। काँग्रेसका रोमीले २ हजार ८३२ मत पाउँदा एमालेका प्रेमले ३ हजार ३१७ मत पाए।

प्रदेशसभा ‘क’ मा काँग्रेसकै नाम्डु गुरुङ विजयी भएका छन्। उनले एमालेका इन्द्रधारा बिष्टलाई पराजित गरेका हुन्।

२०७४ सालमा भएको प्रदेशसभा सदस्यको निर्वाचनमा मुस्ताङको प्रदेशसभा ‘क’ मा एमालेका इन्द्रधारा विष्टले काँग्रेसका मिक्युर गुरुङलाई झन्डै दोब्बर मतान्तरले पराजित गरेका थिए। विष्टले १ हजार १६७ मत पाउँदा गुरुङले ६५७ मत मात्र पाएका थिए।

प्रदेशसभा ‘ख’ मा पनि काँग्रेसका उम्मेदवार विकल शेरचन विजयी भएका छन्। उनले एमालेका चन्द्रमोहन गौचनलाई पराजित गरेका हुन्।

२०७४ सालमा प्रदेशसभा ‘ख’ मा पनि एमालेकै उम्मेदवार महेन्द्रबहादुर थकालीले काँग्रेसका छिरिङ धावा गुरुङलाई पराजित गरेका थिए। थकालीले २ हजार ५८४ मत पाउँदा गुरुङले २ हजार २५९ मत पाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.