|

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन्। 

संयोगले दुवै पार्टीका महासचिव पराजित भएका हुन्। उनीहरू दुवैजना माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीले रुचाएका पात्र हुन्। ​तीनवटा  निर्वाचन क्षेत्र रहेकाे दाङमा पोखरेल दाङ २ बाट पराजित भए भने गुरुङ लमजुङबाट पराजित भएका हुन्। 

एमाले महासचिव पोखरेललाई १९२ मतान्तरले पराजित गर्दै रेखा शर्मा विजयी बनेकी हुन्। 

माओवादी केन्द्रकी शर्माले २६ हजार ८७७ मत पाएर विजयी भइन् भने नेकपा एमालेका महासचिव पोखरेलले २६ हजार ६८१ मत पाएर पराजित भए। ​पोखरेल २०७४ सालको प्रदेशसभा निर्वाचनपछि लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका थिए।

दाङ २ (क) बाट २० हजार ७२३ मतसहित विजयी भएका पोखरेलले २०७८ वैशाखमा पदबाट राजीनामा दिएका थिए।  पोखरेल गत वर्ष मंसिरमा चितवनमा सम्पन्न १० औं राष्ट्रिय महाधिवेशनबाट महासचिवमा चुनिएका थिए। उनी सर्वसम्मत महासचिवमा निर्वाचित भएका हुन्। 

त्यस्तै, एक मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा महासचिव गुरुङ पराजित भएका हुन्। उनलाई नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङले पराजित गरेका हुन्। गुरुङले ३१ हजार ७८१ मत पाउँदा एमाले उपमहासचिव गुरुङले ३४ हजार ९ सय ६९ मत पाएका थिए। 

गुरुङ २०७४ सालको निर्वाचनमा लमजुङ १ बाट निर्वाचित भएका थिए। तत्कालीन वाम गठबन्धनको सहयोग पाएका गुरुङले ३९ हजार ४६८ मत पाएका थिए। यसपटक एमालेको मत नपाउँदा गुरुङले हार व्यहोर्नु परेको हो। 

देव गुरुङ गत भदौमा  महासचिवमा चयन भएका हुन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठकमा २० जना पदाधिकारीलाई चयनका लागि प्रस्ताव गरेका थिए। उक्त बैठकले प्रचण्डले पेश गरेको प्रस्ताव पारित गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.