|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक नेतृत्व नसच्चिए देश गम्भीर दुर्घटनामा पर्ने खतरा रहेको बताएका छन्। 

गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन बिहीबार आयोजित सभामा बोल्दै उनले अहिले प्रमुख दलहरुप्रति मतदाताले उपेक्षा गरेकोप्रति संकेत गर्दै यस्तो बताएका हुन्।

‘एजेण्डा होइन आवेगमा मानिसहरूलाई कहीँ न कहीँ भ्रमित पार्न सकिने संकेतहरु पनि देखा परेको भन्दै उनले राजनीतिक परिवर्तन र अधिकारका निम्ति लडाइँ लडेका पार्टीहरूका लागि चुनौती भएको बताए। 

‘यति ठूलठूला आन्दोलन र परिवर्तन ल्याउने राजनीतिक नेता र दलहरूले आफैंभित्र फर्केर कहाँ कमीकमजोरी भयो, जसले गर्दा विचार र सिद्धान्तको अवमूल्यन हुने खतरा देखा पर्‍यो भनेर सोच्नुपर्ने अवस्था आइलागेको छ।’ राष्ट्रिय स्वतन्त्र पार्टी ‘घण्टी’को जनलहरप्रति संकेत गर्दै प्रचण्डले भने, ‘अहिले नै सबै वर्वाद भइसकेको त छैन। यदि राजनीतिक नेतृत्वले गम्भीर आत्मसमीक्षा गरेर आउने दिनका लागि जनतामा समर्पित हुने नीति,कार्यक्रम र योजना लिएर नआउने हो भने देश अप्ठ्यारोमा पर्न सक्छ।’

देश सफ्ठेरोमा पर्ने भए त राजनीतिक दलहरुलाई जसले जति गाली गरे पनि केही फरक नपर्ने भन्दै उनले थपे, ‘तर देश झन् ठूलो राजनीतिक भूमरीमा पर्ने हो भने त्यो स्वीकार्य हुने विषय होइन।’ 

प्रचण्डकै निर्वाचन क्षेत्रमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटी निकटतम प्रतिस्पर्धी भएका थिए। प्रचण्ड २६ हजार १ सय ९ मत ल्याएर विजयी हुँदा वुर्लाकोटीले १२ हजार ६ सय ३९ मत ल्याएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.