|

काठमाडौं : तपाईंले सपनामा के देख्नुहुन्छ? वर्षौँसम्म हरेक दिन एउटै दैनिकी बाँचिरहेको मान्छेले कस्तो सपना देख्ला? अथवा अर्को शब्दमा भन्दा एउटा मेसिनले कस्तो सपना देख्ला? 

राजधानीस्थित मण्डला थिएटरको थिएटर पर्फमेन्स हलमा एउटा पात्रको सपना देखिएको छ। पूरा जिन्दगी मजदुरीमा बितेको उक्त पात्रको सपनामा पनि मालिकले काम गराइरहेको छ। तिमी मजदुर हौ, काम गर, काम गर, उत्पादन गर, भवन बनाऊ, महल बनाऊ, काम गर, तिमी मजदुर हौ, काम गर मालिकले दोहोर्‍याइरहेको छ।   

उसको सपना र विपनामा केही फरक छैन। सपना अझ भयानक छ। यो एक रातको सपना होइन। ऊ हरेक पटक यस्तै सपना देख्छ। सपनाकै कारण ऊ निदाउन डराउँछ। उसको हिजो जस्तो थियो, आज अझ खराब छ, थकानपूर्ण छ, भोलि अझै खराब र थकानपूर्ण हुनेछ भन्ने भयले उसलाई सताइरहन्छ। 

यो मण्डलामा जारी अन्तरराष्ट्रिय नाट्य महोत्सवमा मञ्चन भएको इटालीको नाटक मेड इन इल्भाको एउटा दृश्य हो। आना डोरा डोर्नोको निर्देशन तथा निकोला पिएन्जोलाको लेखन तथा एकल प्रस्तुति रहेको नाटकमा संसारभरका मजदुरहरूको कथा भन्ने प्रयास गरिएको छ। बाँच्नका लागि मजदुरी गरिरहेका, संघर्ष गरिरहेका र मजदुरी गर्नकै लागि बाँचिरहेका गरिबीको दुष्चक्रमा फसेर सामान्य जीवन बाँच्नबाट पनि वञ्चित मजदुरहरूको कथा नाटकले उठाएको छ। बिहीबार दिउँसो १२ बजे र ४ बजे गरी उक्त नाटकको दुईपटक मञ्चन भएको छ।

नाट्य महोत्सवको सातौँ दिन मेड इन इल्भाको दुई मञ्चनसहित थिएटर शिक्षाः अवसर र चुनौती नामक प्यानल डिस्कसन तथा कचहरी नाटक र क्लाउन नाटक सम्बन्धी कार्यशाला पनि सम्पन्न भएको छ। साथै बिहीबार नै मण्डला थिएटरले सञ्चालन गरेको पहिलो एक वर्षे ड्रामा स्कुलका क्रियाकलाप, उपलब्धि र प्रतिक्रिया समेटिएको वृत्तचित्र पनि प्रदर्शन गरिएको छ। 

त्यस्तै महोत्सवको छैटौँ दिन बुधबार भारतको नाटक ‘स्याडो लिवेरेसन’ र श्रीलंकाको नाटक ‘राजा मन वहला’ मञ्चन भएको थियो। पहिलो नाटक छायाँ र कचहरी नाटकको मिश्रित शैलीमा तयार पारिएको थियो भने दोस्रो लोक तथा सांगितिक शैलीमा प्रस्तुत भएको थियो।

त्यस्तै नारायण वाग्लेको उपन्यासमा आधारित सुरज सुवेदीले नाट्य रूपान्तरण गरेको नाटक ‘पल्पसा क्याफे’को विमोचन, ‘नाटकमा शब्दको आकृतिः कस्तो देखिन्छ, कस्तो लेखिन्छ?’ शीर्षकमा प्यानल डिसकसन तथा हुम बिसी र माधव त्रिपाठीको नेपाली लोकबाजाको सांगीतिक प्रस्तुति पनि बुधबार नै भएको थियो। 

मंसिर १७ सम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रूस, इटाली, स्पेन, बेलायत, बेलारूस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.