|

काठमाडौँ : एसिया रग्बी यु–१८ सेभेन्स च्याम्पियनसिपमा नेपाली पुरुष टोलीले पहिलो जित हात पारेको छ। प्रतियोगिताअन्तर्गत पहिलो दिनको आफ्नो अन्तिम खेलमा नेपालले भारतलाई हराएको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (शनिबार) सम्पन्न खेलमा नेपालले भारतलाई १२–१० ले हराएको छ। पहिलो खेलमा थाइल्याण्डसँग १५–७ ले पराजित भएको नेपाली टोली दोस्रो खेलमा मलेसियासँग ३४–० ले पराजित भएको थियो। पहिलो खेलमा मलेसियासँग १४–५ ले पराजित भएको भारतले दोस्रो खेलमा थाइल्याण्डलाई २९–० ले हराएको थियो।

महिलातर्फ नेपालले हारबाट नै प्रतियोगिताको शुरुवात गरेको छ। महिलातर्फको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३९–० ले पराजित भएको छ। दोस्रो खेलमा युएईसँग नेपाली महिला टोली ४१–० ले पराजित भएको थियो।

अन्य खेलमा चाइनिज ताइपेई पुरुष टोलीले बंगलादेशलाई ७०–० ले हराएको छ। युएई पुरुष टोलीले दक्षिण कोरियालाई २४–७ ले हराएको छ। भारत महिला टोलीले मलेसियामाथि ५८–० को जित निकालेको छ।

युएई पुरुष टोलीले बंगलादेशमाथि ८१–० को जित निकालेको छ। दक्षिण कोरिया पुरुष टोलीले चाइनिज ताइपेईलाई १७–१२ ले हराएको छ। मलेसिया पुरुष टोलीले थाइल्याण्डलाई १७–० ले हराएको छ। चाइनिज ताइपेई पुरुष टोलीले युएईलाई ३२–५ ले हराएको छ। आजको अन्तिम खेलमा दक्षिण कोरिया पुरुष टोलीले बंगलादेशलाई ८०–० ले हराएको छ।

आइतबार थाइल्यान्ड पुरुष टोली र बंगलादेश, नेपाल र चाइनिज ताईपेई पुरुष टोली, मलेसिया र कोरिया पुरुष टोली तथा भारत र युएई पुरुष टोलीबीच खेल हुनेछ।

पुरुषतर्फ नेपाल रहेको पुल ‘ए’मा थाइल्याण्ड, मलेसिया र भारत छन्। यस्तै पुल ‘बी’मा दक्षिण कोरिया, बंगलादेश, यूएई र मलेसिया छन्। पुरुषतर्फ दुवै पुलका शीर्ष दुई सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनलका विजेताबीच फाइनल हुनेछ।

महिलातर्फ नेपाल, भारत, यूएई, थाइल्याण्ड र मलेसियाबीच राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा हुनेछ। शीर्ष दुई टिमले फाइनल खेल्नेछन्। आजबाट शुरु भएको प्रतियोगितामा पुरुषमा ८ तथा महिलामा ५ टिम सहभागी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.