|

काठमाडौं :  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले जरिवाना मिनाहा गरिदिन माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्।  समयमै निर्वाचन खर्च नबुझाएपछि आयोगको कारबाही स्वरूप जरिवाना तिर्नुपर्ने भएपछि साहले जरिवाना मिनाहाका लागि निवेदन दिएका हुन्। 

उनले फोहर व्यवसस्थापनमा व्यस्त भएकोले खर्च विवरण बुझाउन नसकेको भन्दै आयोगमा खर्च मिनाहाको माग गर्दै आयोगमा निवेदन दिएका हुन्।  निर्वाचन आयोग स्रोतका अनुसार काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले असोज ११ गते जरिवाना मिनाहा गर्न निवेदन दिएको आयोगले जनाएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, “जरिवाना मिनाहाका लागि निवेदन आएको सुन्यौँ तर उहाँको आग्रह निर्वाचन आयोगको क्षेत्राधिकारबाहिरको विषय हो।”

 उक्त निवेदन आयोग पदाधिकारीको बैठकमा निर्णयार्थ प्रस्तुत गरिएको आयोग स्रोतको दाबी छ।   जिल्ला निर्वाचन कार्यालय, काठमाडौँको अभिलेखबमोजिम शाहले असार १२ गते खर्च विवरण बुझाएका थिए। 

जेठ १२ गते काठमाडौँ महानगरपालिकाको प्रमुख पदको नतिजा सार्वजनिक भएको थियो। त्यसअघि शाहले सामाजिक सञ्जालमा निर्वाचन खर्च विवरण आयोगले तोकेको ढाँचामा नै सार्वजनिक गरेका थिए। 

बालेनले आयोगले तोकेको समयसीमाभित्रै असार ६ गते खर्च विवरण सार्वजनिक गरेका थिए। खर्च विवरण सार्वजनिक गरे पनि निर्वाचन कार्यालयमा भने बुझाएका थिएनन्। उनले सार्वजनिक गरेको विवरण अनुसार निर्वाचनमा कुल तीन लाख ९४ हजार ४८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्। 

निर्वाचन आयोग ऐनले राजनीतिक दल वा उम्मेदवारले तोकिएको अवधिमा खर्च विवरण पेस नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई निजले गरेको निर्वाचन खर्च वा आयोगद्वारा निर्धारित खर्चको हदमध्ये जुन बढी हुन्छ, सोही बराबरको रकम जरिवाना गर्न सक्ने व्यवस्था छ। जसबमोजिम काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले खर्च गर्न पाउने साढे सात लाख रुपियाँ जरिवाना तिर्नुपर्ने हुन्छ। 

स्थानीय निर्वाचन २०७९ वैशाख ३० मा सम्पन्न भएको थियो। स्थानीय तह निर्वाचन ऐन २०७३ बमोजिम निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र उम्मेदवारले निर्वाचन खर्च सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुपर्ने हुन्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.