|

स्टार खेलाडी र परिपक्व प्रशिक्षक भएर मात्र खेल जितिँदैन। खेल आफ्नो पक्षमा पार्नका लागि सफल रणनीतिसमेत चाहिन्छ।

आफ्नो टोलीलाई जिताउन सफल रणनीति बनाउन माहिर देखिए मोरक्कोका प्रशिक्षक वालिद रेगाग्रुई। ४–३–३ रणनीतिबाट रुस विश्वकपको उप-विजेता क्रोएशियालाई गोलरहित बराबरीमा रोक्दै शुरु भएको मोरक्कोको यस पटको विश्वकप फुटबल  यात्रा  विश्व वरीयताको दोस्रो स्थानमा रहेको बेल्जियमाथि प्रभावशाली जितबाट अगाडि बढ्यो।

क्रोएशियासँग बराबरी र बेल्जियमविरुद्ध जितसँग मनोबल उच्च बनाएको ‘दि एटलस लायन्स’ले अल्फोन्सो डेभिसको टोली क्यानडामाथि समूह चरणको अन्तिम खेलमा जित निकालेपछि समूह एफको विजेताको रुपमा अन्तिम १६ पुग्न सफल रह्यो।

मोरक्को टोलीका धेरैजसो खेलाडीसँग युरोपेली क्लबको अनुभव छ। पिएसजी, बार्यन म्युनिख, चेल्सी, सेभियालगायत क्लबबाट प्रभावशाली प्रदर्शन गरेका खेलाडीहरू रहे पनि मोरक्कोले हराएका टोली उनीहरूभन्दा बलिया स्टारसहितका थिए।

पिएसजीमा अशरफ हकिमी र बार्यनमा नउसेर माज्राउईले नियमित मौका पाइरहेका छन्। गोलरक्षक यासिन बोनोऊ सेभियाको गोलपोष्टको बलिया खम्बा हुन्। हाकिम जिएच चेल्सीका विंगर हुन्। सोफयान अम्राबात इटालीको फिओरेन्टिनाका डिफेन्सिभ मिडफिल्डर हुन्।

स्ट्राइकर युसेफ इन–नेसरी स्पेनको सेभियाबाट खेल्छन्। बार्द विनोनसंँग कतारी मैदानको अनुभव थियो। सेन्टर ब्याक उनी ४ महिनाअघि कतार स्पोर्ट्ससँग अनुबन्धित भएका थिए। सेन्टर ब्याक नएफ अगुर्ड इंग्लिस प्रिमियर लिग क्लब वेस्टह्यामका लागि खेल्छन् । कप्तान रोमेन साइस भने उल्भसबाट खेलिरहेका छन्।

विभिन्न देशका लिगमा फरक शैलीबाट खेलेका खेलाडीलाई एकजुट बनाएर सशक्त टिम बनाउनु मोरक्को फुटबल संघका लागि एउटा ठूलै चुनौती थियो। कतार विश्वकप खेल्नुअघि टोलीले म्याच एक्सपोज भने राम्रै पाएको थियो। यसै वर्षमात्र खेलेका १३ खेलमध्ये २ मा मात्र पराजय भोगेको थियो।

अर्कोतर्फ उत्तर अफ्रिकी देशको चुनौती भनेको नयाँ प्रशिक्षक थिए। टोलीसँग ३ वर्ष बिताएका बोस्नियाली प्रशिक्षक वाहिद हालिहोड्जिक बर्खास्त भएपछि मोरक्को फुटबलमा उथलपुथल नै आएको थियो। अनुभवी खेलाडी हाकिम जिएचलाई टोलीबाट बाहिर राख्दा हालिहोड्जिकले प्रशिक्षक छाड्नुपरेको थियो।

अरुले बनाएको टिमलाई ३१ अगष्टमा सम्हाल्दा रेगाग्रुईले टिमअप गराउनु चुनौती थियो। सन् २००१ देखि सन् २००९ सम्म मोरक्कोबाट ४५ खेल खेलेका रेगाग्रुईले आफ्नो खेलको ८ वर्षे अनुभवलाई प्रयोग गरेर टिमलाई एक बनाए।

अगस्टमा नियुक्त भएका उनी तुरुन्तै टोलीको मानसिकता परिवर्तन गर्न चाहन्थे त्यसैले उनले आफ्नो टोलीलाई एक साधारण सन्देश दिए- चाँडै बाहिरिने आशा गर्ने कोही पनि कतार जाने छैनन्।

‘यदि तपाईं खासै नचिनिएको टोलीको सदस्य हुनुहुन्छ भने तपाईंंले सपना देख्न र त्यसमा विश्वास गर्न आवश्यक छ‚’ मोरक्को फुटबल टोलीलाई उनको प्रष्ट सन्देश थियो।

पोर्चुगललाई पराजित गरेपछि उनले भनेका थिए‚ ‘हाकिम जिएच चेल्सीका लागि‚ बायर्नका लागि नउसैर माज्राउई, पेरिस सेन्ट–जर्मेनका लागि अशरफ हकिमी शीर्ष क्लबहरूमा र विश्वकप खेल जित्न सक्ने टोलीमा हामीसँग एलिट खेलाडीहरू छन्। उनीहरूले देखेका छन् कि तिनीहरू प्रदर्शनको त्यो स्तरमा सक्षम छन् त्यो भविष्यका पुस्ताहरूका लागि महत्वपूर्ण छ।’

कतार विश्वकपअघि मोरक्कोले खेलेका अघिल्ला ५ विश्वकपमा सन् १९८६ मा पोर्चुगल र सन् १९९८ मा स्कटल्याण्डलाई मात्र पराजित गरेको थियो। ३६ वर्षअघि दोश्रो चरणसम्म पुग्नु नै मोरक्को टोलीको लागि ठूलो सफलता थियो।

अहिले घटनाले फरक मोड लिएको छ- एक महिनामा २२ औं वरीयताको टोलीले फिफाको शीर्ष १० वरीयताभित्रका ३ टोली बेल्जियम, स्पेन र पोर्चुगललाई हराउँदै मैदानमा विश्व विजेता फ्रान्समाथि दबाब बढाएको मात्र नभएर तनावमा पारेको छ।

स्पेनलाई पराजित गरेपछि पत्रकारहरूको जिज्ञासा समाधान गर्दै उनले भनेका थिए‚ ‘यो विश्वकपअघि युरोपमा जन्मेका र मोरक्कोमा नजन्मेका केटाहरूबारे धेरै समस्या थिए। आज हामीले देख्यौं कि ती सबै मोरक्कन हुन्। जब उनीहरू राष्ट्रिय टोलीमा आउँछन्, जब उनीहरू राहदानी लिएर आउँछन्, उनीहरू मोरक्कोका लागि मर्न तयार हुन्छन्, उनीहरू आफ्नो देशको लागि लड्न चाहन्छन्।’

फ्रान्सविरुद्धको खेल रेगाग्रुईका लागि अर्को अर्थमा पनि महत्वपूर्ण रहेको छ। उनी फ्रान्सेली पृष्ठभूमिसँग भावनात्मक रुपमा जोडिएका छन्। ४७ वर्षीय उनले फ्रान्सको राजधानीबाट ३० किलोमिटर टाढाको कोर्बेल–एसोनेसबाट आफ्नो खेल यात्रा शुरु गरेका थिए, जहाँ उनी हुर्केका थिए।

उनले एसी एजेसिसो, डिजोन र ग्रेनोबल लगायतका फ्रान्सेली टोलीहरूका साथै सन् २००१–०९ देखि मोरक्कोका लागि खेलेका थिए। ‘प्रशिक्षकको हैसियतमा म फ्रान्समा जन्मेको हुँ र मेरो देशको लागि मेरो मन कसैसँग हुन सक्दैन। खेलाडी जर्मनी, इटाली, स्पेन, फ्रान्स, नेदरल्यान्ड्स, बेल्जियममा जन्मिनु राम्रो कुरा हो – हरेक देशमा फुटबल संस्कृति छ र हामीले मिश्रण सिर्जना गरेका छौं।’

फ्रान्सविरुद्ध मोरक्को खेलको अर्को रोचक पक्ष रेगाग्रुईले पहिले सँगै खेलेका एकजना खेलाडी फ्रान्सेली टोलीबाट आज मैदानमा उत्रँदा टचलाइनमा उनी प्रतिस्पर्धी टोलीको प्रशिक्षकका रुपमा उभिनेछन्।

रेगाग्रुईले सन् २००८ मा ग्रेनोबलका लागि फ्रान्सेली स्ट्राइकर ओलिभर जिरुसँग खेलेका थिए। अहिले जिरु फ्रान्सेली टोलीको मुख्य हतियार हुन्।

मोरक्कोले अन्तिम १६ मा स्पेनलाई हरायो, जसले २० औं शताब्दीमा उसको केही भूभागलाई उपनिवेश बनाएको थियो र अझै पनि सेउटा र मेलिलाको एन्क्लेभहरू आफ्नो नियन्त्रणमा राखेको छ।

अनि आज फ्रान्सको सामना गर्दैछ जसले सन् १९५६ सम्म मोरक्कोलाई उपनिवेश बनाएको थियो। खेलको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा रेगाग्रुई खेलकुदमा नै केन्द्रित रहे।

‘म दोहोरो नागरिक हुँ। फ्रान्सविरुद्ध खेल्न पाउनु सम्मान र खुशीको कुरा हो तर यो फुटबल मात्र हो। म यहाँ फुटबल प्रशिक्षकको रूपमा छु र मेरो चासो जित्नु मात्र रहनेछ‚’ उनले पत्रकार सम्मेलनमा भने।

रेगाग्रुईले आफ्नो टोलीलाई ४–३–३ को फर्मेशनमा मैदानमा उतार्दै आएका छन्। पोर्चुगलविरुद्धको खेलमा युसेफ इन–नेसरी स्ट्राइकर रहँदा हाकिमी जिएच र सोफिएन बहुफल विंगरमा खेलेका थिए। मिडफिल्डमा ३ र डिफेन्स लाइन बलियो बनाउँदै ४ जना खेलाडी उतार्ने उनको रणनीति रहने अनुमान छ।

फ्रान्सेली प्रशिक्षक दिदिए देशाँको टोली ४–२–३–१ को फर्मेशनमा मैदानमा उत्रने अपेक्षा छ। पूर्वसहकर्मी जिरुसँगै केलियन एम्बाप्पे, एन्टोनी ग्रिजमेन, उस्मान डेम्बेले, राफेल भारान, उप्कमेनो, बेन्जामिन पाभार्द, एलेक्स दियास, किंग्स्ले कोम्यानलाई रोक्न रेगाग्रुईको ४–३–३ फर्मेशनको रणनीति कति सफल रहन्छ अल–बेत रंगशालामा आज राति १२ बजेर ४५ मिनेटमा  शुरु हुने खेलमा देखिनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.