|

काठमाडौं :  दक्षिण अमेरिकी देश पेरुमा एक हप्तादेखि जारी विरोध प्रदर्शनकाबीच राष्ट्रव्यापी रुपमा संकटकाल घोषणा गरिएको छ। 

पूर्व राष्ट्रपति पेड्रो क्यास्टिलोलाई हिरासतमा लिएपछि एक हप्तादेखि विरोध प्रदर्शन भइरहेको छ भने राजनीतिक अस्थिरता बढेको छ। पेरुका रुक्षामन्त्री अल्बर्टो ओटारोलाले एक महिनाका लागि संकटकाल घोषणा गरेका हुन्। 

संकटकाल घोषणासँगै नागरिकका अधिकांश मौलिक हक निलम्बन भएका छन्। पछिल्लो पटक अदालतले क्यास्टिलोमाथि छानबिन गर्न ४८ घण्टाको समय थप गरेपछि विरोध प्रदर्शन उग्र बनेको थियो। ​

क्यास्टिलो समर्थक नेताहरुले उनको रिहाईका साथै नयाँ चुनावको माग गरेका छन्। यस्तै राष्ट्रपति दिना बोलुआर्टोको राजीनामा माग गरेका छन्।  गत वर्षको जुलाईमा राष्ट्रपति बनेका पूर्व शिक्षक क्यास्टिलोले संसद भंग गरेपछि राजनीतिक अस्थिरताको बिउ रोपिएको थियो। 

यहीबीचमा उनीविरुद्ध महाअभियोग पारित भएको थियो। महाअभियोगपछि उपराष्ट्रपति दिनाले प्रथम महिला राष्ट्रपतिका रुपमा पद सम्हालेकी थिइन्। यी घटनाक्रमपछि वामपन्थी नेता क्यास्टिलोका समर्थकहरु विरोधमा उत्रिएका हुन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.