|

जनकपुरधाम : महोत्तरीको रामगोपालपुर नगरपालिका कार्यालयमा ​झडप भएको छ। 

निहारिका राजपूतसहितको समूहले महिला हिंसा गर्ने डाक्टरलाई कारबाहीको माग गर्दै नगरपालिकामा धर्ना दिएका वेला झडप भएको थियो।

उनीहरू तोडफोडमा उत्रिँदा अवस्था नियन्त्रणमा लिने क्रममा झडप भएको र झडपमा तीन सुरक्षाकर्मी घाइते समेत भएको महोत्तरी प्रहरीले जानकारी दियो। महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीका अनुसार  निहारिका राजपूतलगायत प्रदर्शनमा उत्रिँदा झडप भएको हो।

त्यस क्रममा नगरप्रहरी कृष्ण पण्डित, गंगाराम राय र सुरेश राय, नेपाल प्रहरीका सहायक प्रहरी हवलदार मुकेश राय र सशस्त्र प्रहरीका कमलेश यादव गरी ५ सुरक्षाकर्मी घाइते भएको प्रमुख पंगेनीले बताए। 

दाइजो तथा श्रीमतीमाथि घरेलु हिंसाको आरोप लागेका महोत्तरी रामगोपालपुर–५ का डा. पंकज चौधरीलाई कडा कारबाहीको माग गर्दै निहारिका लगायत नगरपालिकाको कार्यालयमा धर्नाका लागि पुगेका थिए।

दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घरबाट निकालेको जाहेरीका आधारमा महोत्तरी प्रहरीले उनलाई मंगलवार पक्राउ गरेको थियो।  

श्रीमान् चौधरीविरुद्ध नेहाले एक साताअघि घरेलु हिंसा र दाइजोविरुद्ध दुईवटा मुद्दा दायर गरेकी थिइन्। तीन वर्षको प्रेमपछि गत फागुनमा महोत्तरीकै औरही नपा- १ की नेहा र डा. पंकजबीच सामाजिक परम्पराअनुसार विवाह भएको थियो। विवाहको केही समयदेखि नै पर्याप्त दाइजो नदिएको निहुँमा श्रीमान् र परिवारले शारीरिक तथा मानसिक यातना दिन शुरु गरेको नेहाको आरोप छ। 

तोडफोड गरेपछि निहारिका राजपुत र नेहा चौधरीलाई नियन्त्रणमा लिएको महोत्तरी प्रहरीले जानकारी दिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख पंगेनीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.