|

हेटौंडा : नयाँ प्रदेश सरकार गठनको बाटो खुलेसँगै बागमती प्रदेशमा संसदीय दलको नेतामा आकांक्षीहरूको दौडधुप शुरु भएको छ।

निर्वाचन आयोगले मंसिर ४ मा बागमतीमा सम्पन्न निर्वाचनको अन्तिम मत परिणामसहितको निर्वाचन प्रतिवेदन प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई शनिबार बुझाएको थियो। आयोगले प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाएसँगै प्रदेशमा नयाँ सरकार गठनको बाटो खुला भएको छ।

सरकार गठनको बाटो खुलेसँगै बागमती प्रदेशसभामा निर्वाचित दलहरूमा संसदीय दलको नेता बन्न दौडधुप शुरु भएको हो। बागमती प्रदेशसभामा सत्ता गठबन्धनँग सरकार गठनका लागि स्पष्ट बहुमत रहेको छ।

त्यसैले सत्ता गठबन्धनबाट निर्वाचित प्रदेशसभाका सदस्यहरू संसदीय दलको नेता चुनिएर मुख्यमन्त्री बन्ने कसरत गरिरहेका छन्। गठबन्धनमा रहेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सँग सरकार निर्माण गर्न आवश्यक प्रदेशसभा सदस्य रहेकाले मूलतः कांग्रेस र माओवादी केन्द्रभित्र संसदीय दलको नेता को बन्ने भन्नेमा बढी प्रतिस्पर्धा देखिएको छ।

प्रदेशसभामा प्रमुख प्रतिपक्षीको भूमिकामा देखिन सक्ने सम्भावना रहेको नेकपा एमालेबाट केन्द्रीय सदस्यसमेत रहेका जेएन थपलिया दलको नेता बन्ने चर्चा पार्टीभित्र चलिरहेको छ।

एमालेसँग बहुमत नभएको र सरकारमा सहभागी हुने सम्भावना पनि नरहेकोले एमालेमा दलको नेताको लागि धेरै रस्साकस्सीसमेत नरहेको जनाइएको छ। तर गठबन्धन दल सरकारमा सहभागी हुने र भागबण्डाको आधारमा नेतृत्व गर्ने दलको नेता मुख्यमन्त्री बन्ने हुँदा गठबन्धनमा रहेको पार्टीभित्र दलको नेता बन्न रस्साकस्सी चलेको हो।

कांग्रेसमा २ जनाको कसरत

नेपाली कांग्रेस ३७ सिट जित्दै बागमती प्रदेशसभाको सबैभन्दा ठूलो दल बनेको छ। २५ प्रत्यक्ष र १२ समानुपातिक प्रणालीबाट गरी ३७ प्रदेशसभा सदस्य रहेको कांग्रेसको यस प्रदेशमा संस्थापन पक्ष हाबी रहेको छ। संस्थापन पक्षबाटै संसदीय दलको नेता बन्न दुईजना नेता कसरत गरिरहेका छन्।

कांग्रेस केन्द्रीय सदस्य नुवाकोट जिल्ला प्रतिनिधिसभा क्षेत्र २ (ख) बाट निर्वाचित बहादुरसिंह लामा र कांग्रेस बागमती प्रदेशका सभापति मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ (ख) बाट निर्वाचित इन्द्रबहादुर बानियाँ संसदीय दलको नेता बन्ने दौडमा छन्।

कांग्रेस केन्द्रीय सदस्य लामा बागमती प्रदेशको मुख्यमन्त्री बन्नकै लागि केन्द्रबाट प्रदेशमा झरेको चर्चा छ। पार्टीमा लामो समयदेखि लाग्दै आए पनि आफूले अवसर नपाएकाले पनि मुख्यमन्त्रीमा आफ्नो दाबी स्वाभाविक भएको लामाको भनाई छ।

बागमती प्रदेशसभाको अघिल्लो कार्यकालमा कांग्रेस संसदीय दलको नेता भइसकेका बानियाँ सोही कार्यकालमा मुख्यमन्त्रीको दाबेदार थिए। सहमति कार्यान्वयन भएको भए उनी यति वेला प्रदेशको मुख्यमन्त्री हुन्थे। सत्ता गठबन्धनमा बागमती प्रदेश सरकारको आधा–आधा कार्यकाल बानियाँ र हालका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेतृत्व गर्ने लिखित सहमति भएको थियो।

तर अन्तिम समयमा पाण्डे सहमतिबाट पछि हट्दा बानियाँ मुख्यमन्त्री बन्ने अवसरबाट वञ्चित भएका थिए। त्यसैले पनि यो पटक बानियाँ आफ्नो दावेदारी स्वाभाविक रहेको बताउँछन्।

बानियाँ यसअघि संविधानसभा सदस्य हुँदै संघीय सरकारको गृह र पर्यटन राज्यमन्त्री भइसकेका छन्। यो पटक संसदीय दलको नेता र मुख्यमन्त्री आफूले पाउनुपर्ने भन्दै बानियाँ सोहीअनुसार दलभित्र सहमति भएर आफू सर्वसम्मत रुपमा नै दलको नेता चयन हुने उनको दाबी छ।

माओवादी केन्द्रमा ४ जनाको दौड

सत्ता गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रमा पनि प्रदेश संसदीय दलको नेतामा ४ जनाबीच रस्साकस्सी शुरु भएको छ। २१ जना प्रदेशसभा सदस्यसहित संसदको तेस्रो दल बनेको माओवादीमा दलको नेता बन्न ४ जनाले कसरत थालेका हुन्।

माओवादी केन्द्रमा सिन्धुपाल्चोकबाट निर्वाचित माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल, बागमती प्रदेश सरकारको आर्थिक मामिलामन्त्री समेत रहेका धादिङबाट निर्वाचित  प्रदेशसभा सदस्य शालिकराम जम्कट्टेल, सिन्धुलीबाट निर्वाचित गङ्गानारायण श्रेष्ठ र प्रदेशका पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाल संसदीय दलको नेता बन्न लविङमा छन् ।

नेपाल समाजवादी पार्टीका सहअध्यक्ष रहेका श्रेष्ठ डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी गठन गर्नुअघि माओवादी केन्द्रको नेता थिए। तर चुनावमा नयाँ शक्ति र माओवादीबीच भएको सहमतिअनुसार उनी माओवादीको चुनाव चिह्नबाट उठेका थिए।

माओवादी केन्द्रका पौडेल आफू पार्टीको प्रदेश अध्यक्ष भएकाले संसदीय दलको नेतामा दाबी स्वाभाविक रहेको बताउँछन्। पुस ५–६ गते पार्टीको बैठक बसेर दलको नेताको टुंगो लाग्ने उनको भनाई छ।

एकीकृत समाजवादीमा शर्माको दाबी

गठबन्धनको अर्को घटक दल एकीकृत समाजवादीमा दलको नेताका लागि प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनाल आकांक्षी छन्।

खनालले पार्टीको दलको नेतामा आफ्नो दाबी रहेको बताएका छन्। प्रत्यक्षमा ५ र समानुपातिकमा २ सिट पाएको समाजवादी ७ सिटसहित प्रदेशसभाको पाँचौं दल बनेको छ।

चुपचाप छ राप्रपा

पहिलोपटक प्रत्यक्षतर्फ चुनाव जित्दै संसदमा बलियो उपस्थिति बनाएको प्रदेशको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीमा संसदीय दलको नेताका लागि भने हालसम्म कुनै चर्चा चलेको छैन। पार्टीको केन्द्रीय निर्णय र नीति आएपछि संसदीय दलको नेता चयन प्रक्रिया थाल्ने राप्रपाका नवनिर्वाचित सांसदहरूको भनाई छ।

प्रदेशसभामा नेपाल मजदुर पार्टीका एकजना प्रत्यक्षबाट निर्वाचित र समानुपातिकतर्फका दुईजना गरी तीनजना र हाम्रो नेपाली पार्टीको प्रत्यक्ष प्रणाली र समानुपातिक प्रणालीबाट १/१ जना गरी दुईजना प्रदेशसभा सदस्य रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.