|

हेटौंडा : नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलका नेता चयन गर्न निर्वाचन हुने भएको छ।

मंगलबार काठमाडौँमा बसेको कांग्रेस बागमती प्रदेशको कार्य सम्पादन समितिको बैठकले संसदीय दलका नेता छान्न निर्वाचन गर्ने निर्णय गरेको हो। नेपाली कांग्रेस बागमती प्रदेश समितिका प्रवक्ता तिलक रुवालीले बैठकले कांग्रेस केन्द्रको संसदीय दलको निर्वाचनपछि मात्र प्रदेशको निर्वाचनको प्रक्रिया शुरु गर्ने र मिति तय गर्ने निर्णय गरेको जानकारी दिए।

उनले बैठकले निर्वाचनबाट दलको नेता चयन गर्ने निर्णय गरेको बताउँदै रुवालीले निर्वाचनको मिति भने केन्द्रीय संसदीय दलका नेताको भोलि हुने निर्वाचनपछि तोक्ने जानकारी दिए।

उनका अनुसार बैठकले प्रदेश संसदीय दलका नेताको निर्वाचनका लागि समिति समेत गठन गरेको छ। उक्त समितिले दलको नेता चयनका लागि आवश्यक प्रक्रिया सञ्चालन गर्ने उनले बताए। बैठकले कांग्रेस बागमती प्रदेश समितिका उपसभापति समेत रहेका चन्द्र महर्जनको संयोजकत्वमा समिति गठन गरेको हो।

उक्त समितिले मंगलबारदेखि आफ्नो जिम्मेवारीमा रहेर निर्वाचन प्रक्रिया शुरु गर्ने उनको भनाइ छ। समितिमा चारजना सदस्य रहेका छन्। समितिका सदस्यहरूमा महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री ऋषिराम घिमिरे, सदस्य गंगा दाहाल र सानु श्रेष्ठ रहेका छन्।

समितिले प्रधानमन्त्री शेरबहादुर देउवासँगको समन्वयमा संसदीय दलको नेता चयनका लागि निर्वाचन गराउने उनले बताए। कांग्रेस संसदीय दलको नेतामा संस्थापन पक्षकै २ जना आकांक्षी हुँदा नेता चयन गर्न निर्वाचन हुन लागेको हो।

कांग्रेस केन्द्रीय सदस्य नुवाकोट जिल्ला प्रतिनिधिसभा क्षेत्र २ (ख)बाट निर्वाचित बहादुरसिंह लामा र कांग्रेस बागमती प्रदेशका सभापति मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ (ख)बाट निर्वाचित इन्द्रबहादुर बानियाँ संसदीय दलको नेता बन्ने दौडमा छन्।

कांग्रेस केन्द्रीय सदस्य लामा बागमती प्रदेशको मुख्यमन्त्री बन्नकै लागि केन्द्रबाट प्रदेशमा झरेको चर्चा छ। पार्टीमा लामो समयदेखि लाग्दै आए पनि आफूले अवसर नपाएकाले पनि मुख्यमन्त्रीमा आफ्नो दाबी स्वाभाविक भएको लामाको भनाइ छ।

बागमती प्रदेशसभाको अघिल्लो कार्यकालमा कांग्रेस संसदीय दलको नेता भइसकेका बानियाँ सोही कार्यकालमा मुख्यमन्त्रीका दाबेदार थिए। सहमति कार्यान्वयन भएको भए उनी यति वेला प्रदेशका मुख्यमन्त्री हुन्थे। सत्ता गठबन्धनमा बागमती प्रदेश सरकारको आधा–आधा कार्यकाल बानियाँ र हालका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेतृत्व गर्ने लिखित सहमति भएको थियो। यद्यपि अन्तिम समयमा पाण्डे सहमतिबाट पछि हट्दा बानियाँ मुख्यमन्त्री बन्ने अवसरबाट वञ्चित भएका थिए।

त्यसैले पनि यो पटक बानियाँ आफ्नो दाबेदारी स्वभाविक रहेको बताउँछन्। बानियाँ यसअघि संविधानसभा सदस्य हुँदै संघीय सरकारको गृह र पर्यटन राज्यमन्त्री भइसकेका छन्। यो पटक संसदीय दलको नेता र मुख्यमन्त्री आफूले पाउनुपर्ने उनको दावी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.