|

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनको लागि मतदान सुरु भएको छ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा आज बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान केही ढिला भएको हो ।

बुथमा मोबाइल लैजान दिनेरनदिने भन्ने विषयमा विवाद हुँदा मतदान केही समय ढिलो सुरु भएको हो। बुथमा मोबाइल लैजान नदिने सहमितपछि मतदान सुरु भएको छ।

संसदीय दलको मतदानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। प्रहरीले नाम र परिचयपत्र हेरेर मात्रै सांसद तथा आगन्तुकलाई भित्र प्रवेश गर्न दिएको छ भने पत्रकारहरुलाई प्रवेशमा रोक लगाइएको छ। पत्रकारलाई रिपोर्टिङका लागि सडक पेटीमै राखिएको छ।

दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन्। संस्थापनइतर समूहले महामन्त्री थापालाई साझा उम्मेदवार बनाएसँगै दलको नेताका लागि देउवा र थापाबीच प्रतिस्पर्धा हुने भएको हो।

सभापति देउवाको प्रस्तावक नेता रामचन्द्र पौडेल रहेका छन् भने उपसभापति पूर्णबहादुर खड्का समर्थक रहेका छन्। थापाको प्रस्तावकमा डाक्टर शेखर कोइराला रहेका छन् भने समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल रहेका छन्।

कांग्रेस संसदीय दलमा ८९ जना मतदाता रहेका छन्। दलको नेता चुनिन ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ। यसअनुसार दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने देखिन्छ।


सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.