|

म्याग्दी : बेनी नगरपालिकाका  सार्वजनिक जग्गा, पुल, सडक र खोल्सा र गुठी जग्गा अतिक्रमणमा परेका छन्। कतै सार्वजनिक जग्गा अतिक्रमण गरेर घरटहरा बनाइएका छन् भने कतै जग्गा मिचेर व्यक्तिगत प्रयोजनमा ल्याइएको छ।

बेनी नगरपालिका–२ हाडेभिरको सार्वजनिक जग्गा लिएर कृषि औजार कारखाना चलाउनुका साथै टहरा बनाएर अन्य व्यवसायीलाई भाडामा लगाइएको छ।

खाद्य संस्थानबाट किनेका जग्गा र बेनी नगरपालिकालाई दिएको चारआना जग्गाको भवन पनि व्यक्तिको कब्जामा छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिए पनि गलेश्वरको रिभरसाइड होटल र हाडेभिरमा कुलदीप जुग्जालीले मोटरेबल पुल अतिक्रमण गरेर बनाएको टहरा अझै हटेको छैन।

बेनीको क्याम्पसचोक र कालीपुल क्षेत्रका अधिकांश घर सार्वजनिक जग्गामा बनेका छन्। बेनी अस्पतालको जग्गा मिचेर न्यू वेष्ट प्वाइन्ट आवासीय माविले सडक बनाएको छ। कालीपुलस्थित बालमन्दिर आधारभूतको जग्गा र नगरपालिका भवन पछाडिको जग्गा सुकुम्वासी र अव्यवस्थित बसोबासीको नाममा अतिक्रमण भएको छ।

पर्वत–बेनी जोड्ने झोलुंगे पुल र न्यूरोडपछाडिको प्रकाश माविको जग्गा पनि अतिक्रमण भएको छ। स्थानीयवासी कुलदीप जुग्जालीले खेर गएको जमिन नगरपालिकालाई भाडा तिरेर संरक्षण गरेको बताए।

बेनी नगरपालिकामा जनप्रतिनिधि निर्वाचित हुनेबित्तिकै नगर क्षेत्रको सार्वजनिक जग्गाको पहिचान र संरक्षण गर्ने निर्णय गरेका थिए। अख्तियार  र अदालतले अतिक्रमित जग्गामा बनेका भौतिक संरचना हटाउन गरेको निर्देशन तथा फैसला कागजमै सीमित भएको छ।

बेनीबजारमा सडकको क्षेत्राधिकारमा निर्माण भएका संरचना हटाउन प्रशासन, सुरक्षा निकाय र नगरपालिकाको टोलीले नापजाँच तथा हटाउन अनुरोध गर्दै घरदैलो गरेका थिए। पछिल्लो समय बेनी नगरपालिकाले त्यस्ता संरचना हटाउन ३५ दिने सूचना समेत जारी गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए।

गुठी जग्गा पनि अतिक्रमण ​

त्यसैगरी बेनी नगरपालिका २ ज्यामरुककोटमा अवस्थित ऐतिहासिक कोत (खड्ग भवानी) को बगरफाँटमा अवस्थित गुठी जग्गा पनि अतिक्रमणको चपेटामा परेको छ।

तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली थुम (कमाइ खानु भनेर बिर्तामा दिएको राज्य) ज्यामरुक कोटका अन्तिम राजा भर्तिबम मल्लको अन्त्यपछि खड्ग भवानी कोतको नाममा रहेको बनेपा २ बगरफाँटको १२ रोपनी ६ आना क्षेत्रफल जग्गामध्ये करिब ३ रोपनी जग्गा अतिक्रमण भएको स्थानीयको गुनासो छ।

जग्गा अतिक्रमण भएको बारेमा पटकपटक जानकारी गराउँदा पनि सम्बन्धित निकाय मौन रहेको गुठीयारले बताए। खड्ग भवानी कोतको नाममा जग्गा धनी प्रमाण पुर्जा रहेको करिब ३३ रोपनी जग्गामध्ये २० रोपनी जग्गा ज्यामरुक कोटको भकुण्डे क्षेत्रमा र १२ रोपनी ६ आना जग्गा बगरफाँटको कुरुङदीमा रहेको खड्ग भवानी कोत पूजा एवं गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.