|

चन्द्रौटा : कपिलवस्तुको चन्द्रौटामा सातौँ चन्द्रौटा महोत्सव शुरु भएको छ। व्यापार संघ कपिलवस्तुको आयोजनामा ‘कृषि पर्यटन, उद्योग र व्यापार व्यवसायी दिगोपना हाम्रो मुख्य आधार’ भन्ने मूल नाराका साथ मेला आयोजना गरिएको हो।

बिहीबार सातौं चन्द्रौटा महोत्सवको उद्घाटन गर्दै राष्ट्रियसभा सदस्य विमला घिमिरेले आर्थिक गतिविधि चलायमान बनाउनुको साथै कृषि र पर्यटन प्रवर्द्धन गर्ने बताएकी हुन्। पछिल्लो समय देशमा मेला महोत्सवहरू आयोजना भइरहेकोले यसबाट स्थानीयले फाइदा पाउनुपर्ने उनको भनाइ थियो। कपिलवस्तुका धेरै ठाउँहरूमा मेला महोत्सव आयोजना भइरहेको बताउँदै आर्थिक विकाससँगै समृद्धिको दिशामा अघि बढ्नुपर्ने बताइन्।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले अहिले मुलुकमा आर्थिक सङ्कटको अवस्था सिर्जना भएको बताए। मेला महोत्सवले स्थानीहरूलाई समेट्न नसकेको गुनासो विभिन्न समयमा आउने गरे पनि आयोजकहरूले स्थानीयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

जिल्लाका पर्यटक स्थलहरूको प्रचारप्रसारमा महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने भएकोले कसरी हुन्छ नागरिकलाई धार्मिक तथा पर्यटक स्थलको बारेमा जानकारी दिनुपर्ने केसीले बताए।

महोत्सवमा स्थानीय उत्पादनले स्थान पाउने, अटो व्यवसायी, होटेल व्यवसायी तथा स्थानीय व्यवसायीलाई स्टलमा प्राथमिकता दिइएको मेला संयोजक महादेव पोख्रेलले बताए।

महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषिजन्य वस्तु तथा जातजातिको संरक्षण र पहिचान झल्काउने वस्तुहरूका लागि निःशुल्क स्टल उपलब्ध गराइने आयोजकले जनाएको छ। १ सय ५० भन्दा बढी स्टल रहने महोत्सवमा कृषि, पर्यटन, व्यापार, उद्योग, कला–संस्कृति, शैक्षिक प्रदर्शनी लगायत स्टलहरू रहने बताइएको छ। महोत्सव पुस २१ गते सकिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.