शारीरिकभन्दा मानसिक पीडाले बढी सतायो : साम्बा
शारीरिकभन्दा मानसिक पीडाले बढी सतायो : साम्बा
इलाम : गतवर्ष नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) १३ महिनाको इन्जुरीपछि खेलमा फर्किइन्। २०७७ फागुन ३ गते राष्ट्रिय महिला लिगअन्तर्गत १० औं चरणको खेलका क्रममा नेपाल पुलिसकी गोलरक्षक उषा नाथसँग ठोकिँदा गोल मेसिन सावित्राले घुँडाको इन्टेरियर क्रुसियल लिगामेन्ट (एसिएल) इन्जुरीका कारण बाँकी खेल गुमाउन पुगिन्।
एपिएफले उपाधि जितेको त्यो संस्करण १० खेलमा कीर्तिमानी ४३ गोल गरेकी सावित्रा पुरस्कार वितरण समारोहमा भने वैशाखी टेकेर पुगेकी थिइन्। करिब ५ महिनापछि अखिल नेपाल फुटबल संघ (एन्फा) को समन्वयमा कतारको विश्व प्रसिद्ध अस्पेटार अस्पतालमा २०७८ असार ३१ गते उनको शल्यक्रिया गरिएको थियो।
करिब ७ महिनाको फिजियोथेरापीपछि माघ २५ गते उनी स्वदेश फर्किएकी थिइन्। त्यसपछि चितवनमा भएको महिला लिगअन्तर्गत त्रिभुवन आर्मीविरुद्ध वैकल्पिक खेलाडीको रूपमा दोस्रो हाफमा मैदान प्रवेश गर्दै १३ महिना ७ दिनपछि फुटबलमा कमब्याक गरिन्। अहिले उनी भारतीय आई लिग खेल्नका लागि गोकुलम केरला एफ सीमा आबद्ध भएर भारतमा रहेकी छन्।
शारीरिकभन्दा मानसिक पीडाले बढि सताइरहयो : साम्बा
एसिएल इन्जरीका कारण खेलाडीहरूले शारीरिक पीडासँगै मानसिक पीडासमेत भोग्ने गरेको अनुभव छ। नेपाली राष्ट्रिय टोलीकै स्ट्राइकर सावित्राको भनाइलाई आधार मान्ने हो भने शारीरिकभन्दा पनि मानसिक पीडाले खेलाडीहरू ग्रस्त रहने गर्दछन्। भारतमा रहेकी सावित्राले थाहाकर्मीसँग कुरा गर्दै १३ महिना पिच बाहिर रहँदा फुटबल करिअर नै सकिएझैँ लागेको बताइन्।
‘१३ महिना फुटबलबाट बाहिर रहँदा अत्यन्त कष्टपूर्ण रह्यो। चोटबाट शारीरिक पीडा एक ठाउँमा छ त्योभन्दा पनि बढी मानसिक पीडा हुँदो रहेछ’, उनले भनिन्, ‘जीवन नै फुटबललाई समर्पित गरेको अवस्थामा इन्जुरीबाट फेरि कम्ब्याक हुन्छ हुँदैन भन्ने चिन्ताले सताइरहन्थ्यो।
कमब्याक भएपछि पनि पुरानो स्तरको प्रदर्शन हुन्छ हुँदैन भन्ने चिन्ताले सताइरहन्छ। त्यस बेला त करियर नै सकिएलाझैँ महसुस भएको थियो। पुनः कम्ब्याक गर्न सफल भएँ। फुटबलमा आफ्नो पुरानो लय समात्ने प्रयत्न गरिरहेको छु।’
अन्तराष्ट्रिय स्टार फुटबलको पीडा पनि उस्तै
आर्सनल स्ट्राइकर भिभियान मिडेमा गत बिहीबार साँझ ( १५ डिसेम्बर) आफ्नो हातले आफ्नो अनुहार छोपेर स्ट्रेचरमा पिच छाडिन्। युइएफए महिला च्याम्पियनसिपअन्तर्गत लियोनविरुद्धको खेलको पहिला हाफमा उनी मैदान बाहिरिएकी थिइन्।
चार दिनपछि (१९ डिसेम्बर) मा पत्ता लाग्यो विश्वका उत्कृष्ट महिला खेलाडीहरू मध्येकी एक मिडेमालाई एसिएल चोट लागेको थियो, जसलाई फुटबलरको रूपमा सबैभन्दा खराब चोटहरू मध्ये एक मानिन्छ। वुमेन्स सुपर लिगमा सर्वाधिक गोलकर्ता उनी तीव्र रूपमा विस्तार हुँदै गइरहेको एसिएल इन्जर्ड क्लबको सूचीमा सामेल भइन्।
जसमा आर्सनलकी टिममेट एवम युरो २०२२ को सर्वोत्कृष्ट घोषित बेथ मिड र बालोन डी’ओर फेमिना विजेता स्पेनिस कप्तान एलेक्सिया पुटेलास समावेश भइसकेका छन्। पछिल्लो १२ महिनामा २० भन्दा माथि खेलाडीहरू छन् जसले विश्वभरका शीर्ष महिला लिगहरूमा उस्तै नियति भोगेका छन्।
फेब्रुअरीमा बार्सिलोनाको १९ वर्षीय डिफेन्डर जना फर्नान्डेज र स्पेनिस गोलकिपर काटा कोल थिए। मार्चमा नेशनल वुमन सकर लिगको स्टार सारा गोर्डन र टिर्ना डेभिडसन थिए।
अप्रिलमा ६ पटकको फिफा वर्ष खेलाडी मार्टाको चोट र पेरिस सेन्ट–जर्मेनकी बारबोरा भोटिकोभाको चोट, त्यसपछि लियोनको डिजेनिफर मारोजसानले जर्मनीको लागि अन्तर्राष्ट्रिय कर्तव्यमा हुँदा मे मा घुँडामा चोट बोकिन्।
अमेरिकी राष्ट्रिय टोलीकी सदस्य क्रिस्टेन प्रेसले गत जुनमा नेशनल वुमन सकर लिगका क्रममा चोट बोक्न पुगिन्। जुलाईमा फ्रान्सेली स्टार मारी–एन्टोइनेट काटोटो, दुई पटकको बालोन डी’ओर फेमिना विजेता एलेक्सिया पुटेलास र उत्तरी आयरल्याण्डकी सिमोन म्यागिल एसीएल इन्जुरीको सुचीमा समावेश भए।
सेप्टेम्बरमा डेनमार्ककी नादिया नादिमको पालो थियो, एक वर्षमा उनको दोस्रो इन्जुरी थियो। बायर्न म्युनिखकी हन्ना ग्लासले करियरको चौथो एसीएल इन्जुरीको समस्या भोगिन्। सन् २००९ मा स्विडेनको यु–१७ टिमबाट खेलेकी ग्लासले १ वर्षपछि पहिलो इन्जुरीको सामना गरिन्। सन् २०१५ मा युरो २०१७ छनौटको लागि स्विडस राष्ट्रिय टोलीमा नाम समेटिए पनि तेस्रो एसिएल इन्जुरीको सामना गर्नुपर्यो। २ वर्षपछि नर्वे विरुद्धको खेलमा सिनियर टोलीमा डेब्युको अवसर पाइन्।
ग्लासले चौथो इन्जुरी सामना गर्दा पेरिस सेन्ट–जर्मेनकी पाउलिना डुडेक पनि एसिएल इन्जुरी क्लबमा सामेल भइन्। लगत्तै २३ वर्षीया बायर्न म्युनिख खेलाडी जिउलिया ग्विनले दोस्रोपटक आफ्नो एसिएल च्यातिन्। टोटेनह्यामकी फरवार्ड एली ब्राजिल र फ्रान्सकी क्लेयर लाभोगेजले पहिलोपटक वुमन सुपर लिगमा एसिएल इन्जुरीको सामना गरे। नोभेम्बरमा मिडमा र फ्रान्सेली गोलकिपर जस्टिन लेरोन्ड चोटका कारण मैदान बाहिर रहे।
पुरुषको तुलनामा महिलाको इन्जुरी २ देखि ८ गुणा बढी
विभिन्न समयमा गरिएको अनुसन्धानबाट पुरुष एथ्लेटको तुलनामा महिला एथ्लेटमा एसिएल इन्जुरीको समस्या बढी देखिएको पुष्टि हुन्छ। अझ बढी फुटबल खेलमा एसिएल इन्जुरीको समस्या छ। पुरुष फुटबलरको तुलनामा महिला फुटबलरमा एसिएलको समस्या २ देखि ८ गुणा बढी देखिएको अनुसन्धानले देखाउँछ।
एसिएलको चोट महिला फुटबलमा सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ। यो महिला खेलाडीहरूका लागि खतराको संकेतसमेत हो। लामो रिकभरी समय (हाल करिब ९–१२ महिना)र पुनरावृत्तिको सम्भावनाको कारणले महिला फुटबलरको करियरमा एसीएल इन्जुरीले एउटा नयाँ मोड लिन सक्छ।
विश्लेषकका फरक फरक तर्क
आर्सनल महिला टोलीका फिजियो ग्यारी लेविन मासिक धर्म चक्रले एसीएल चोटहरू वृद्धिमा भूमिका खेल्न सक्छ भन्नेमा सहमत छन्।
‘सामान्यतया, म त्यहाँ एक सम्बन्ध छ भन्न चाहन्छु। त्यो सम्बन्ध के हो, हामीले निश्चित रूपमा पत्ता लगाउन सकेनौँ कि? मलाई थाहा छ त्यहाँ केही धारणाहरू छन् र महिनावारी चक्रका विभिन्न चरणहरूले थकानको विभिन्न स्तरहरू निम्त्याउँछ, जसले शक्ति गुमाउन सक्छ’, उनले भने ‘त्यो तिनीहरूको क्रुसियल फुट्नुको कारणसँग जोडिएको हुन सक्छ। तर, महिला खेलकुदलाई सामान्य रूपमा थप अनुसन्धान चाहिन्छ किनभने धेरै अनुसन्धानहरू पुरुषहरूको खेलहरूमा आधारित हुन्छन्। मैले महिला फुटबलमा छोटो समयमा भेटेको अर्को कुरा भनेको ओस्टियोकोन्ड्रल डिफेक्ट जहाँ हड्डी संलग्न हुन्छ र हड्डीको पतन हुन्छ।’
पुरुषहरूको तुलनामा महिलाहरूको घुँडा वरिपरि कम मांसपेशीहरू हुन्छन् जसले अस्थिरता निम्त्याउन सक्छ। किनकि तिनीहरू ’क्वाड डोमिनेन्ट’ हुन्छन् र कम ह्यामस्ट्रिङ बलले घुँडाको नियन्त्रणलाई असर गर्न सक्छ।
लन्डनको सेन्ट मेरी युनिभर्सिटीका खेलकुद चिकित्साका वरिष्ठ व्याख्याता, फुटबल विशेषज्ञ डाक्टर क्याट्रिन ओखोल्म क्रिगरले महिलाको खुट्टा पुरुषको आकार र भोल्युममा फरक हुने कुरा औंल्याउछिन्। नचाहिने ठाउँमा खुट्टा निचोल्ने खालका जुत्ताले चोटपटक लाग्ने खतरा रहेको उनी बताउँछिन्।
‘हामीलाई थाहा छ कि महिलाहरूमा एन्टरियर क्रुसिएट लिगामेन्ट (एसीएल) चोटपटकको जोखिम दुई देखि पाँच गुणा बढी हुन्छ जसले घुँडालाई असर गर्छ’, उनी भन्छिन्।
महिनावारीका कारण चोटको जोखिम बढेको बारेमा अनुसन्धानको कमी रहेकोमा उनको जोड छ। ‘महिनावारी चक्र र एसिएल जोखिम बीचको सम्बन्धमा केहि धेरै उच्च गुणस्तरको अनुसन्धान गरिएको छैन् धेरै गाह्रो छ किनकी तपाईलाई या त निरन्तर रगतको नमूना वा र्याल चाहिन्छ’, उनले भनिन्, ‘धेरै जसो महिलाहरू कुन चरणमा छन् भनेर उनीहरूको महिनावारी कहिले सुरु हुन्छ भन्ने आधारमा भविष्यवाणी गर्ने गरिन्छ, धेरैजसो अध्ययनहरूले वास्तवमा शरीरमा हर्मोनको स्तर मापन गरेका छैनन्। त्यसैले यो सबै भविष्यवाणीहरू हुन्। जब तपाईं सबै तथ्यांकहरू सँगै राख्नुहुन्छ भने यो धेरै फरक देखिन्छ।’
महिलाहरू पुरुषको तुलनामा फरक तरिकाले हिँड्छन् र दौडन्छन्। तर अझै पनि जुत्ताहरूको डिजाइन पुरुषको आधारमा गरिदै आएका छन्। जसकारण महिलाहरू जुत्ता सतहमा अड्किने र चोटपटक लाग्ने जोखिम बढाउने ओखोल्म औँल्याउँछिन्।
स्पोर्टस किट निर्माता कम्पनीहरू महिला विशेष बुटहरू विकास गरिरहेका छन् जुन २०२३ मा फिफा महिला विश्वकपको लागि उपलब्ध हुनसक्छ। अहिलको अवस्थामा फुटबल बुटहरू उपलब्ध नहुनु चिन्ताको विषय भएको ओखोल्म बताउँछिन्। इङ्ल्यान्डकी स्ट्राइकर क्लो केली एसीएलको चोटको बारेमा ‘डर’ र ‘नकारात्मकता’ परिवर्तन गर्न आवश्यक रहेको बताउँछिन्।
(अन्तरराष्ट्रिय संचारमाध्यम र फुटबल सम्बन्धी अध्ययन प्रतिवेदनको आधारमा)
तपाईंको ईमेल गोप्य राखिनेछ ।