हिँड्ने बाटोमा रक्सी पार्दा मातिन्छ हात्ती, गतिलो डमरु पाउन शक्तिशाली बाघ खोज्छे बघिनी

|

पर्वत : कास्कीको पोखरामा जारी ‘नेपाल लिटरेचर फेस्टिभल’ शुक्रबार जीवजन्तुको आनीबानीबारे जानकार तथा लेखक ददि सापकोटाले हात्तीको प्र‌संग उठाए।

हात्ती आक्रमणका थुप्रै घटना हुने गरेको सन्दर्भमा उनले जोगिने तरिका बताए। त्यसका लागि हात्तीको आनीबानी र उसको रहनसहन शैलीबारेमा थाहा पाउनुपर्ने उनको भनाइ छ। 

अरू जनावरको गणनादेखि जंगल यात्रामा उपयोगी मानिने हात्ती बाघ र सिंहसँग डराउँछ। हात्तीको आक्रमण हुन सक्ने ठाउँमा वा हात्तीलाई लखेट्नुपर्ने अवस्थामा बाघ र सिंहको आवाजको प्रयोग गर्नुपर्ने सापकोटाको भनाइ छ। यही कारण बाघ र सिंहको आवाज बजाउन सकेमा हात्तीबाट जोगिने उपायले काम गर्छ। 

अर्को कुरा हात्ती मात्तिनुको एउटा कारण रक्सीको गन्ध हो। उसले रक्सीको गन्ध आएको घर भत्काउन पछि पर्दैन। ‘दोस्रो कुरा हात्ती हिँड्ने बाटोमा रक्सी पार्नु हुँदैन। रक्सीको गन्ध थाहा पाएपछि हात्तीले जसरी पनि त्यो घर फोर्छ’, उनले भने, ‘रक्सी पिउँदा मान्छे जसरी मैमत्त हुन्छ हात्ती पनि गन्ध पाएपछि त्यस्तै बन्छ। फेरि मान्छेजस्तै ऊ मैमत्त हुन्छ।’ 

हात्तीबाट जोगिने अर्को उपाय हो मौरी पालन। मौरीले हात्तीको संवेदनशील अंगमा चिल्ने भएकाले हात्ती मौरीदेखि टाढा रहन चाहन्छ। यही कारण हात्तीको आक्रमण हुन सक्ने ठाउँमा मौरी पालेमा मानिस हात्ती आक्रमणबाट जोगिन सक्ने सापकोटाले बताए। 

हात्तीले कृषकको बालीनाली सखाप पारेर समस्यामा पार्ने गरेको प्रसङ्गबारे उनले अर्को सुझाव दिए। हात्तीले आफ्नो वासस्थान सार्ने बेलामा बालीहरू बढी खाने गरेकोले हात्तीको बसाइँ सर्ने समयको बारेमा कृषकहरूले थाहा पाउनुपर्छ। ‘हात्ती सधैँ हिँड्ने वा एकै ठाउँमा बसिरहने पनि गर्दैनन्। बसाइँ सर्छन् भन्ने बुझेर त्यो बेला नपाक्ने बाली लगाउनुपर्छ’, सापकोटा भन्छन्, ‘गर्भिणी हात्तीले केराको पात खाँदैनन्। केराको पात खाँदा गर्भ तुहिने भएकाले उसले केराको पात नखाने हो। हात्तीको समस्याग्रस्त ठाउँमा केरा खेती गरेपछि क्षति हुँदैन। हात्तीले के–के खाँदैनन् भन्ने पत्ता लगाएर त्यही अनुसारको बाली लगाउनुपर्छ।’ जंगलबाट ल्याएका हात्ती कसरी घरपालुवा हुन्छन्?

‘फेस्टिभल’ मा ‘चराचुरु‌गी र जनावरको आनीबानी’ को ‘सेसन’ मा बोलेका जानकार सापकोटाले जङ्गलबाट ल्याएर घरमा पालिएका हात्तीहरू घर पालुवा हुन नसक्ने विचार राखे। निकुञ्ज आसपासका क्षेत्रमा घर पालुवा हात्ती भनेर प्रशस्तै हात्ती भेटिने गरेको भए पनि ती हात्तीहरू घर पालुवा नहुने उनको भनाइ छ। 
माउते वा मालिकको नियन्त्रणमा रहेका ती हात्तीहरूको रेखदेख र पालनपोषण मानिसले गर्ने भए पनि हात्तीको मन भने जंगलमा रहने सापकोटा बताउँछन्।

‘ती हात्तीको रेखदेख र खानपिन उसको मालिकले नै गर्छन्। तर घरमा पाल्दैमा जंगली जनावर हात्ती घरपालुवा हुन्छ? कुनै जनावर घरपालुवा हुन १३ देखि १७ पुस्ता चाहिन्छ’, उनी भन्छन्, ‘कुखुरा पाल्दा छोरा, नाति भएर १७ औँ पटकमा घर पालुवा हुन्छ। त्यसैले हात्ती पनि घरपालुवा हुँदैन।  नेपालमा चौथो पुस्ताका हात्ती छन्। जङ्गलबाट समातिएको चिज कहिल्यै घरपालुवा हुन्छ? मान्छे अन्टार्कटिकामा  लगेर राखेर पेन्गुइन बनाउँछु भनेर सम्भव छ? छैन। हो त्यस्तै हो।’

सापकोटाका अनुसार घरमा पाले पनि हात्तीको आनीबानी जंगललकै हात्तीकै जस्तो हुन्छ। मान्छेले जङ्गली हात्तीलाई जबरजस्ती घरपालुवा बनाएको सापकोटाको तर्क छ। जंगली हात्तीलाई कुटेर पिटेर मानिसको नियन्त्रणमा राखे पनि ऊ घर पालुवा नहुने उनको भनाइ छ। नेपालमा भएको कुनै हात्तीलाई जंगलमा लगेर छोडिदिएमा अपवादका रूपमा केही हात्ती मानिसको घरमा आए पनि ९९ प्रतिशत फर्किएर नआउने सापकोटाले बताए। 

उस्तै रमाइलो बाघ र बघिनीको कहानी

शक्तिशाली जनावरको रूपमा जंगलमा रहने बाघ बस्ने पनि निश्चित ठाउँ हुन्छन्। र उसले आफू बस्ने गरेको क्षेत्रलाई सानदार क्षेत्रको रूपमा चिनाएर राखेको हुन्छ। त्यो भनेको उसको पञ्जाको डाम हो। मानिसले जंलमा जाँदा पनि बाघका पाइला देखेको हुन्छ। तर मानिसले ‘बाघ रहने क्षेत्र’ का रूपमा सामान्य तरिकाले सोचिदिन्छ। तर ती पाइलाहरू बाघको ‘पहिचान’ हुने सापकोटाको अनुभव छ।

मान्छेलाई त्यो पाइला ‘पाइला’ मात्रै लागे पनि जीवजन्तुले भने तिनै पाइलाबाट बाघको उमेर र शक्ति पत्ता लगाउन सक्ने उनको भनाइ छ। ‘उसले ४२ वा त्यो भन्दा केही घटबढ वर्ग मिटर कभर गरेर राखेको हुन्छ। वासस्थानको वरपरको क्षेत्रमा पाइला राखेर आफूभित्र रहनु भनेको ‘यो मेरो घर हो। यहाँ कोही नआउनु भनेको हुन्छ। उसले मेरो घर हो भन्नका लागि केही विधि अपनाएको हुन्छ’, सापकोटाले भने, ‘त्यो पाइलाको गहिराई हेरेर प्रतिद्वन्द्वीले यहाँ बसेको बाघको आकार यत्रो छ भन्ने थाहा पाउँछ।

बाहिर आएको बाघले आफ्नो पञ्जासँग तुलना गर्छ। लड्न सक्छु भन्ने लागेमा भित्र प्रवेश गर्छ। हार्ने जस्तो मानेमा भित्र जाँदैन त्यहीँबाट फर्किन्छ।’ 

बाघको पाइलाको कहानी बाघ बाघ भिड्नेमा मात्रै होइन की बघिनीले कस्तो ‘पार्टनर’ बनाउने भन्ने आधार तय गर्नका लागि पनि जोडिएको छ। बघिनीलाई आकर्षण गर्नका लागि पनि बाघले आफ्नो वासस्थान वरपर पाइला छोड्ने सापकोटाले सुनाए। उनका अनुसार एउटा बाघको पाइलाबाट अरू बाघले उसको उमेर र शक्ति पहिचान गर्न सक्छन्। ‘हट्टाकट्टा, बलियो, अरूलाई पछार्न सक्ने, आहारा समात्न सक्ने भाले चाहिने मनस्थितिमा बघिनी हुन्छे। जति स्वस्थ बलियो बाघसँग सहवास गर्‍यो उसका बच्चा त्यति स्वस्थ हुन्छ’, उनी भन्छन्, ‘कुन हैसियतको बाघ हो भन्ने सूचक पाइला हो। यसरी पाइलाले पनि बाघको सहवासको निधो गरेको हुन्छ।’ 

भाले बाघको पिसाबमा हुने १३ देखि १७ प्रकारका रसायनले बघिनीलाई भाले बाघको उमेर र शक्तिको जानकारी लिन सजिलो हुने र त्यसका आधारमा पनि सहवासका लागि बाघको छनोट गर्ने सापकोटा बताउँछन्।

यस्तो छ नेपाली र अमेरिकी भँगेराबीचको फरक

‘फेस्टिभल’ मा सहभागी थिए भँगेराबारे जानकार अनुज घिमिरे। उनले अमेरिकाको नर्थ डाकोटा युर्निभर्सिटीबाट प्राणी शास्त्रमा विद्यावारिधि गरेका छन्। उनले भँगेराबारे अध्ययन नै नहुँदा नेपालमा संख्या घटेजस्तो देखिएको बताउँछन्। घिमिरेले प्रकृति संरक्षणमा सरकारको लगानी कम हुँदा संख्या घटेको बताए।

‘भँगेराको विषयमा अरू प्रजातिमा जस्तो अध्ययन नै भएको छैन। कतिले भन्नुहुन्छ, भँगेरा कम देखिरहेका छौँ। तर, यकिनकै साथ भन्नलाई तथ्यांक छैन,’ उनले भने, ‘आजभन्दा १५ वर्षअघि जति देखिन्थ्यो त्यो अहिले छैन भनिन्छ। बेलायतसहित केही देशमा भँगेराको संख्या घटेको देखाउँछ।’

‘अमेरिकी र नेपाली भँगेरामा के फरक छ?’ भनी सोधिएको प्रश्नमा घिमिरेले आनीबानी र कराउने तरिकमा भने केही फरक नभएको बताए। उनका अनुसार युरोपतिर भँगेरा भेटिनुको सम्बन्ध एसिया क्षेत्रसँग जोडिन्छ। ‘सन् १९६० तिर बेलायतबाट अमेरिका गएको देखिन्छ। अहिले यहाँ पाउने र त्यहाँ पाउनेमा फरक छैन’, घिमिरे भन्छन्, ‘लामो समय छुट्टिएकाले उप–प्रजाति अर्को हुनसक्ने अवस्था रहन्छ। तर, प्रजातिमा फरक हुँदैन। उहाँ कराउने र यहाँ कराउनेमा त्यस्तो फरक हुँदैन।’

नेपाल सरकारले खर्च नगर्दा चराचुरुंगी र जनावरको विषयमा अध्ययन हुने अवस्था नबनेको घिमिरेको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.