|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आइतबार अपराह्न ५ बजे सकिँदै गर्दा दलहरूले अझै नयाँ सरकार गठन र प्रधानमन्त्रीमा दाबी पेश गर्न सकेका छैनन्। राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ३ गते दिएको ७ दिनको समय अपराह्न सकिन लागेको हो। 

मंसिर ४ गते सम्पन्न निर्वाचनमा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीको दाबी पेश गर्न आह्वान गरेकी थिइन्।

गठबन्धन दलबीच अहिलेसम्म भएका छलफलमा सरकार गठनबारे ठोस प्रगति भएको छैन। शनिबार साँझ बसेको गठबन्धनको बैठक पनि निष्कर्षविनै सकिएको थियो। तीन शीर्ष नेता शेरबहादुर देउवा, पुष्पकमल दाहाल र माधवकुमार नेपाल आलोपालोमा प्रधानमन्त्री हुने सहमति अनौपचारिक सहमति जुटेको नेताहरूले बताएका छन्। तर पहिलो देउवा कि प्रचण्ड भन्ने टुंगिएको छैन।

नेताहरूका अनुसार आइतबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले समग्र शक्ति बाँडफाँडबारे सहमति जुटाउनेछ। सरकार गठन र प्रधानमन्त्रीबारे आइतबार बिहान बस्ने बैठकले टुंगो लगाउने सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

प्रतिनिधिसभामा २७५ सदस्य रहेकाले नयाँ सरकार गठनका लागि संसदमा १३८ सांसद आवश्यक पर्छ। निर्वाचनको परिणामअनुसार पहिलो दल नेपाली कांग्रेसले प्रत्यक्षमा ५७ सहित ८९ सिट जितेको छ। एमालेको ४४ प्रत्यक्षसहित ७८ र माओवादी केन्द्रको प्रत्यक्षमा १८ सहित ३२ सिट छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीले २०, राष्ट्रिय प्रजातन्त्र पार्टीले १४, जनता समाजवादी पार्टीले १२ सिट जितेको छ। एकीकृत समाजवादीले १०, जनमत पार्टीले ६ र लोकतान्त्रिक समाजवादीले ४ सिट जितेका छन्। नागरिक उन्मुक्ति पार्टीले तीन, राष्ट्रिय जनमोर्चाले एक, नेपाल मजदुर किसान पार्टीले एक र पाँच जना स्वतन्त्र प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।

निर्वाचनमा कुनै दलको एकल बहुमत नआएकाले अब दुई वा दुईभन्दा बढी राजनीतिक दलले बहुमत दाबी गरेपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्त गर्नेछिन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.