|

काठमाडौं : नेकपा माओवादी केन्द्रले बहुमत सांसदको हस्ताक्षरसहित सरकारको नेतृत्वमा दाबी पेश गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १६९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति विद्यादेवी भण्डारीलाई सरकारको नेतृत्वका लागि दाबी पेश गरेका हुन्। 

माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन पेश गरेका छन्। साथै स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह, किरणकुमार साह र प्रभु साहले पनि समर्थन गरेका छन्।

‘उपरोक्त सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूबाट २०७९ पुस ३ गते नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नका लागि दाबी पेस गर्न आह्वान भएकोमा सोही समय सीमाभित्रै प्रतिनिधिसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता श्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री पदमा हाम्रो समर्थन रहेको ब्यहोरा अनुरोध गर्दछौ। हामी हस्ताक्षरकर्ता दलहरूले प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य सङ्ख्या कुल प्रतिनिधि सभा सदस्य सङ्ख्याको बहुमत रहेको हुँदा उहाँलाई संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गरिदिनुहुन अनुरोध छ’, निवेदनमा भनिएको छ। 

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनका लागि एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठको हस्ताक्षर गरेका छन्। प्रतिनिधिसभामा एमाले ७८, माओवादी ३२, रास्वपा २०, राप्रपा १४, जनमत पार्टी ६, नागरिक उन्मुक्ति पार्टी ४ र जसपा १२ सांसद रहेका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.