|

जनकपुरधाम : मधेश प्रदेशमा नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथग्रहण पुस १५ गते शुक्रबार हुने तय भएको छ।

सोमबार आह्वान गरिएको सर्वदलीय बैठकमा मधेश प्रदेशसभामा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहणको मिति र समय निर्धारण गर्ने उद्देश्यले बैठकमा यस्तो सहमति भएको प्रदेशसभाका सचिवालय सचिव रञ्जित यादवले बताए।

सचिव यादवले सर्वदलीय बैठकमा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहण पुस १५ गते शुक्रबार दिउँसो २ बजे हुने बताए।

नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले शपथ ग्रहण गराउने सचिव यादवले जानकारी दिए।

नेपालको संविधानको धारा १७९ बमोजिम प्रदेशसभा सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि प्रदेश कानुन बमोजिम शपथ लिनुपर्ने भन्ने व्यवस्था छ।

शपथग्रहण कार्यक्रममा उपस्थित हुनुअघि निर्वाचन आयोगबाट प्राप्त प्रदेशसभा सदस्यको प्रमाण पत्र (सक्कल तथा एकप्रति प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एवं हालसालैको पासपोर्ट साइजको फोटो दुईप्रति सहित दुई घण्टाअगावै राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थितिका लागि सचिवालयले प्रदेशसभा सदस्यहरूलाई अनुरोध गरेका छन्।

प्रदेशसभाका कुनै सदस्यले आ-आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको ब्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी उक्त अनुवादको प्रतिसहित प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा (२) बमोजिम ३ दिन अगावै प्रदेशसभा सचिवालयमा उपलब्ध गराउन समेत सूचित गरिएको सचिव यादवले बताए।

मधेश प्रदेशसभामा एमाले प्रत्यक्षमा १५ र समानुपातिक ८ गरी २३ सिट पाएर पहिलो दल बनेको छ।

त्यसैगरी नेपाली कांग्रेस प्रत्यक्षमा १३ र समानुपातिकमा ९ गरी २२ सिट पाएर दोस्रो, जनता समाजवादी पार्टी प्रत्यक्षमा ९ र समानुपातिकमा ७ गरी १६ सिट पाएर तेस्रो, जनमत पार्टी प्रत्यक्षमा ६ र समानुपातिकमा ७ गरी १३ सिटसहित चौथो दल बनेको हो।

लोसपाले प्रत्यक्षमा ७ र समानुपातिकमा २ गरी ९ सिट पाएर पाँचौँ, माओवादी केन्द्र प्रत्यक्षमा ४ र समानुपातिकमा ४ गरी ८ सिट पाएर छैटौँ तथा एकीकृत समाजवादी प्रत्यक्षमा ४ र समानुपातिकमा ३ गरी ७ सिट पाएर सातौँ दल बनेको छ।

मधेश प्रदेशसभामा राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकमा १-१ सिट पाएका छन् भने योपटक ६ जना स्वतन्त्र उम्मेदवारहरू पनि निर्वाचित भएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.