|

काठमाडौं : सोमबार बिहान अक्युपाई टुँडिखेलका अभियन्ता काठमाडौं महानगरपालिकाको ढोकामा पुगे। महानगरले खुलामञ्चमा निर्माण गर्न लागेको भूमिगत पार्किङ स्थगन गर्न माग गर्दै ज्ञापनपत्र बुझाउन उनीहरू महानगर पुगेका हुन्।

काठमाडौं महानगरपालिकाको १० औं नगरकार्यपालिका बैठकले खुल्ला मञ्चमा भूमिगत पार्किङ बनाउने निर्णय गर्‍यो। त्यससँगै सम्पदा अभियन्ता संरक्षण गर्नुपर्ने आवाज उठाए। महानगरका प्रमुखलाई पटक पटक भेट्न खोज्दा पनि समय पाएनन्।

मेयरलाई सोमबार पनि ज्ञापनपत्र बुझाउन पुगेका अभियन्ताहरूले उनलाई भेट्न पाएनन्। माघको पहिलो सातासम्म व्यस्त रहेकाले मेयरले भेट्न नसक्ने जानकारी गराए। उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले ज्ञापनपत्र बुझे।

टुँडिखेललाई पुरानै अवस्थामा फर्काउनुपर्ने उनीहरूको माग छ। खुलामञ्चमा अण्डरग्राउण्ड पार्किङको सोच नै गलत रहेको अभियन्ताहरूले बताउँदै आएका छन्। विरोध कार्यक्रममा अक्युपाई टुँडिखेल अभियानका प्रवक्ता सञ्जय अधिकारीले सार्वजनिक जग्गालाई सबैले संरक्षण गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताए।

सम्पदा जोगाउन आन्दोलन नै गर्नुपर्ने? 

काठमाडौं महानगरपालिकाको सम्पदा जोगाउन सरकारविरुद्ध लड्नु परेको सम्पदा अभियन्ता तथा अधिवक्ता सञ्जय अधिकारी बताउँछन्। यसअघि रानीपोखरी, कमलपोखरी‚ काष्ठमाण्डप, दुईमाजुलगायतका ऐतिहासिक सम्पदा जोगाउन संघर्ष गर्नु परेको थियो। 

स्थानीय सरकारमा जो आए पनि जनताको सेवक होइन शासक बनेर आएको उनको तर्क छ। अधिकारी भन्छन्, ‘यसअघिका मेयर विद्यासुन्दर शाक्यले सम्पदा मास्ने अभियान चलाए। अहिलेका मेयर बालेन साहले प्राकृतिक सम्पदा मास्ने तयारी गर्दैछन्।’ स्थानीयचाहिँ जनप्रतिनिधिको विरोधीजस्तो बन्नु परेको र सहकार्य समन्वय गरेर काम गर्न तयार नभएकाले आवाज उठाउनु परेको उनीहरूको तर्क थियो।  

टुँडिखेल एउटा खाली ठाउँमात्र नभएर ऐतिहासिक सम्पदा पनि हो। सरकारको लापरबाहीका कारण टुँडिखेलको परिधि दिनानुदिन घट्दै गएको छ। सन् १९६७ सार्वजनिक जग्गा भएको टुँडिखेलको जमिन क्रमशः मिचिँदै गएको छ। सन् १९९० मा आइपुग्दा ३३ प्रतिशत सार्वजनिक जग्गा रहेको थियो। सन् २००५ मा २५ प्रतिशत‚ सन् २०१७ मा आइपुग्दा १४ प्रतिशत बाँकी रहेको छ। जसलाई संरक्षण गर्नुपर्ने सरकार आफैं विनाश गर्न लागि परेको अक्युपाई टुँडिखेलका  संयोजक विजय श्रेष्ठ बताउँछन्। अहिले आएको युवा नेतृत्वले सार्वजनिक जग्गालाई सरकारी जग्गा बुझेर जनभावनाविपरीत काम गरिरहेको आरोपसमेत उनले लगाए। उनले भने, ‘महानगरपालिका सार्वजनिक जग्गाको संरक्षक हो, मालिक होइन।’

अभियानको कार्यक्रममा सहभागी बनेका पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधानले काठमाडौं जस्तो ऐतिहासिक र सांस्कृतिक ठाउँमा जथाभाबी संरचना बनाउन नमिल्ने बताए। उनले टुँडिखेलजस्तो ऐतिहासिक स्थानमा अण्डरग्राउण्ड पार्किङजस्ता कुनै पनि संरचना बनाउन दिनु नहुने बताए। उनले पार्किङ चाहिएको भए भृकुटीमण्डपमा अण्डरग्राउण्ड पार्किङ बनाउन सुझाव दिएका थिए।  

‘कस्तो बनाउने भन्ने विस्तृत विवरण डिपिआर तयार भएपछि जानकारी हुन्छ‚’ उनले भने, ‘अहिले चाहिँ फोहर र झाडीका कारण अस्तव्यस्त देखिएकाले सफा गरिएको छ। हाम्रो अन्तिम तयारी भनेको भूमिगत पार्किङ नै हो।’ महानगरमा भइरहेको पार्किङ समस्या समाधान गर्न यसले अहम् भूमिका खेल्ने मानन्धरको भनाइ थियो। 

भूमिगत पार्किङ बनाउनु पर्दैन : उपमेयर डंगोल 

काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरूले भूमिगत पार्किङको विषयमा दुई थरी जवाफ दिन थालेका छन्। केही दिन अगाडि महानगरका प्रवक्ता नविन मानन्धरले पार्किङको समस्या समाधान गर्न पार्किङ बनाउन जरुरी भएको बताए। डिपिआरको काम भइरहेकाले कति लगानी र कहिले बन्ने र कस्तो बन्ने भन्ने जानकारी डिपिआरपछि दिने बताएका थिए। 

महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनचाहनाविपरीत टुँडिखेलमा अन्डरग्राउन्ड पार्किङ नबनाइने बताइन्। सोमबार अक्युपाई टुँडिखेल अभियानले टुँडिखेलमा अन्डरग्राउन्ड पार्किङ बनाउनु नहुने भन्दै बुझाएको ज्ञापनपत्र बुझ्दै सो कुरा बताएकी हुन्।

अन्डरग्राउन्ड पार्किङ टुँडिखेलमा आवश्यक हो वा होइन भन्नेबारे स्थानीयको सुझाव लिएर मात्रै काम अघि बढाइने आश्वासन उनले दिएकी छिन्। धरहरा, काठमाडौं प्लाजालगायतमा सञ्चालन हुने अन्डरग्राउन्ड पार्किङले सबै समस्या समाधान गरेको खण्डमा नयाँ संरचना बनाउन आवश्यक नपर्ने उनको भनाइ छ।

उनले भनिन्, ‘धरहरा, काठमाडौं प्लाजालगायतमा सञ्चालन हुने अन्डरग्राउन्ड पार्किङले सबै समस्या समाधान गर्छ भने नयाँ संरचना बनाउनै पर्दैन। जनताको चाहनाविपरीत कुनै पनि निर्माणका काम हुनु हुँदैन। सर्वसाधारणको सुझावविना महानगरले कुनै काम गर्ने छैन।’


तस्वीर : शिला  तिम्सिना

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.