महानगर भन्छ : ध्यानाकर्षण भयो‚ हेरौँला

|

काठमाडौं : पछिल्लो समय सडक मगन्तेले माग्ने शैली परिवर्तन गर्दै लगेका छन्। आजभोलि काठमाडौंका चोकचोकमा ट्राफिकले सवारीसाधन रोकेका वेला  उनीहरू हतारिदै गाडीका झ्यालढोका ढकढक्याएर माग्छन्। कोही सार्वजनिक यातायातभित्रै छिरेर यात्रुलाई नमस्कार गर्दै माग्ने गर्छन्।

यी काम गर्न उनीहरू सडकपेटीमा तम्तयार रहेर बस्ने गरेका भेटिन्छन्। सोमबार गौशाला चोकमा अन्दाजी ४०-४५ वर्षीय एक पुरुषले सवारीसाधन जाम भएपछि गाडीको ढोका ढकढक्याउँदै माग्न शुरु गरे। एक कार चालकले १० रुपैयाँ दिए।

अर्का बाइकमा माग्न जाँदा भने गाली खाए। ‘कति माग्न आएको?,उता जा, जहिले पनि यहाँ जाम पर्दा माग्न आइहाल्छ, कति दुःख दिन सकेको’‚ ती चालकले माग्नेप्रति आक्रोश पोखे।

ट्राफिकले रोकिएका सवारीसाधन जान इसारा गरेपछि ती पुरुष सडकपेटीमा निस्के। मगन्तेको यस्तै ​हर्कतले सवारीचालक र यात्रु आजित छन्।

सवारीसाधन दुर्घटना हुने जोखिम बढ्यो 

सडकमा यसरी  माग्ने गर्दा सवारीसाधन दुर्घटना हुने जोखिम बढेको ट्राफिक प्रहरी बताउँछन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्ट भन्छन्, ‘मगन्तेहरूले माग्दा सवारीचालकको ध्यान त्यता जाने गर्छ, यसै कारण सवारी दुर्घटना हुने जोखिम बढेको छ।’ उनका अनुसार मगन्तेबाट सर्वसाधारण आजित छन्।

त्यसैले उनीहरू माग्न आउँदा छल्नका लागि चालक सवारीसाधन स्पिडमा हुइँकिएर जाने गर्छन्। यसो गर्दा सवारीसाधन दुर्घटना हुने गरेको भट्ट बताउँछन्। उनले यी माग्नेहरूको व्यवस्थापन स्थानीय तहले गर्नुपर्ने बताए। ‘हामीले भन्दा पनि स्थानीय तहले यसको व्यवस्थापन गर्ने हो‚ जहाँ तहीँ माग्नेहरू छन्, व्यवस्थापन भएको देखिन्न’‚ उनले भने। 

प्रहरी भन्छ : पक्रेर कहाँ राख्नु?, स्थानीय तहले हेर्नुपर्छ

प्रहरीले एकताका समयमा सडकमा हिँड्ने बटुवालाई अनावश्यक दुःख दिने मात्र नभई शहरको सभ्यतामाथि नै प्रश्न उठ्न थालेपछि सडक मगन्तेरहित बनाउने अभियान शुरु गरेको थियो। सडकमा बस्ने मगन्ते लागुऔषध दुर्व्यसनदेखि अपराधमा समेत संलग्न रहेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिन थालेको थियो।

अहिले भने सर्वसाधारणलाई अनावश्यक दुःख दिए पनि उनीहरूलाई प्रहरीले पक्राउ गर्दैन। नेपाल प्रहरी प्रधान कार्यालयका प्रवक्ता टेकप्रसाद राई सडकमा माग्नेहरूको व्यवस्थापन प्रहरीले गर्न नसक्ने र यसका लागि स्थानीय तहले नै व्यवस्थापन गर्नुपर्ने बताए।

उनले भने, ‘हामी सबैलाई पक्रेर कहाँ राख्ने? यो काम त स्थानीय तहले पो व्यवस्थापन गर्ने हो।’ प्रहरीले सडकमा माग्ने गरेका बालबालिकालाई भने नियन्त्रणमा लिएर सम्झाई बुझाई उनका अभिभावकलाई बुझाउने गरेको उनले बताए। ‘हाम्रा तर्फबाट सक्ने जति त व्यवस्थापनमा लागिपरेका छौँ, सडकमा यसरी मागेर अरूलाई दुःख नदिनु भनेर सम्झाउँछौँ तर माग्नेहरू अटेर गर्छन्’‚ उनले भने।

उनका अनुसार अहिले सडकमा माग्नेहरू भारतीय र नेपाली नागरिक पनि छन्। सडकमा माग्नेहरूको संख्या कति छन् भन्नेमा उनले यकिन गर्न नसकिने बताए।

सडकमा माग्न निषेध गर्ने महानगरको घोषणा नीतिमै सीमित

काठमाडौं महानगरपालिकाले हरेक पटक ल्याएको नीति तथा कार्यक्रममा सडकमा माग्न निषेध गर्ने घोषणा गर्छ। बेवारिस तथा सडक सहयोगापेक्षी मानव उद्धार, उपचार तथा व्यवस्थापनको लागि मानव सेवा आश्रमसँगको सहकार्यमा व्यवस्थापन गर्ने महानगर भन्छ तर यो घोषणा कार्यान्वयनमा ल्याउन सकेको छैन।

महानगरपालिकाले पुनः सडकमा माग्ने कार्यलाई पूर्ण निषेध गर्ने भनेको छ। महानगरपालिकाको आव २०७९।८० को नीति तथा कार्यक्रम भनिएको छ, ‘असहाय, बेवारिसे तथा सडक सहयोगापेक्षी मानव उद्धार, उपचार तथा व्यवस्थापनका लागि मानव सेवा आश्रमसँगको सहकार्यलाई थप प्रभावकारी बनाइनेछ, महानगर क्षेत्रमा भिक्षा माग्ने र माग्न लगाउने कार्यलाई पूर्णतः निषेध गरिनेछ।’ तर,अहिले होटल,रेष्टुराँ होस् या सडकमा माग्नेहरूको बिगबिगी कमी छैन।   

महानगर भन्छ : ध्यानाकर्षण भयो, अनुगमन बढाऔँला

महानगरपालिकाले अब सडकमा माग्नेहरूको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले किन महानगरपालिकाले सडकमा माग्नेहरूको व्यवस्थापन गर्न सकेन भन्ने प्रश्नमा  भने, ‘ठिक छ, हाम्रो ध्यानाकर्षण भयो, अनुगमन बढाएर व्यवस्थापन गरौँला नि‚ हुन्न र !’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.