|

धनगढी : कैलालीमा प्रहरी नायब निरीक्षक (सई) र सहायक हवलदार तस्करीमा मुछिएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नायव निरीक्षक सुशील चन्द र सहायक हवलदार नन्दराज भट्ट तस्करीलगायतका घटनामा मुछिएका हुन्।

प्रहरी अधिकारीद्वयविरुद्ध कार्यालय प्रमुखलाई समेत गुमराहमा राखेर तस्करलाई संरक्षण दिने र अवैध सामान भित्र्याउने गरेको आरोपसहितको उजुरी पनि परेको छ। जिल्ला प्रहरी कार्यालय कैलाली र नेपाल पत्रकार महासंघ कैलाली शाखामा उनीहरुमाथि कारबाही गर्न माग गर्दै बेनामी उजुरी परेको हो।

उनीहरुले भारतीय मुद्राको कारोबार, सुन, काठ, लागुऔषधको तस्करीसमेत गर्ने गरेको उक्त उजुरीमा उल्लेख छ। यस्तै गल्ती कमजोरी ढाकछोप गर्ने उद्देश्यले डराई, धम्क्याएर घुमुवा टोलीबाट हटाएको पनि उल्लेख छ। कैलालीका भजनी, टीकापुर, हसुलियालगायतका क्षेत्रबाट विभिन्न व्यक्तिसँग हप्ता असुलेको रकमबारे पनि सो पत्रमा खुलाइएको छ।

आरोपित प्रहरी चन्द भने मोटरसाइकल दुर्घटनामा घाइते भएर अस्पतालमा उपचाररत रहेको र भट्ट घरमा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
कैलालीबाट हालै सरुवा भएर गएका एसपी सोमेन्द्रसिंह राठौरको कार्यकालमा प्रहरीकै मिलेमतोमा व्यापक चोरी तस्करी हुने गरेको गुनासो बढेको थियो।

अहिले जिल्लाको प्रमुख भएर आएका एसपी देवेन्द्रबहादुर पालले कडाइ गरेका कारण कारबाहीको अपेक्षासहित पीडित प्रहरी अधिकृतले नै विभिन्न निकायमा बेनामी उजुरी दिएको स्रोत बताउँछ।

जिम्मेवारी खोसियो

अहिले ती आरोपित प्रहरीको जिम्मेवारी खोसेर छानबिन भैरहेको प्रहरीले जनाएको छ। आरोपसहितको उजुरी आएपछि सादा पोशाकका ती २ प्रहरीमाथि अनुसन्धान सुरु गरिएको हो।

जिम्मेवारीबाट हटाएर छानबिन शुरु

दुवै जनालाई जिम्मेवारीबाट हटाएर छानबिन थालिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र पालले जानकारी दिए। उनले भने, ‘उहाँहरूलाई तत्कालका लागि जिम्मेवारीमुक्त गरिएको छ। एउटा बेनामी उजुरी परेको छ। त्यसपछि कारबाहीस्वरुप जिम्मेवारीमुक्त गरेर थप छानबिन शुरु भएको छ, दोषी देखिएको अवस्थामा कारबाही हुन्छ, गर्छौं।’

उनीहरूविरुद्ध हुलाकमार्फत उजुरी परेको बताइएको छ। विवादित दुवै जनामाथि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले पनि छानबिन गरिरहेको जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) मोहन आचार्यले तस्करी र हप्ता असुलीमा नाम जोडेर दुवै जनाविरुद्ध बेनामी उजुरी परेको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताए।

उनले उनीहरूमाथि छानबिन गरेर दोषी देखिएको खण्डमा प्रचलित कानूनबमोजिम कारबाही गरिने जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.