|

बागलुङ : अधिकारी चौरगाउँ अर्थात् ‘तरकारी गाउँ’। गाउँभरी प्लास्टिकका टनेल। टनेलभित्र लटरम्म फलेका गोलभेंडा, फक्रिएका बन्दा र काउली।

एक दशक अगाडिसम्म गहुँ, जौँ, धान र मकै फल्ने अधिकारी चौरका खेतीयोग्य जमिनमा अहिले तरकारी खेती भइरहेका छन्। अहिले ति बारीहरूमा सेताम्मे प्लास्टिका टनेल छन्। पहिले गहुँ, मकै उत्पादन गरे परिवार पाल्न गाह्रो हुने किसानलाई अहिले लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका छन्।

ढोरपाटन नगरपालिका,५ मा पर्ने अधिकारीचौर र नाथुरी गाउँका अधिकांश नागरिक तरकारी खेतीमा आवद्ध छन्। वि.सं. २०७५ सालदेखि गाउँलेले सुरु गरेको व्यवसायिक तरकारी खेतीले अहिले ठूलो रुप लिएको छ।

कृषकहरूले तरकारी खेतीलाई विस्तार गरेपछि गाउँका बाँझो जमिन पनि प्रयोगमा आएका छन्। युवाले रोजगार पाएका छन्।

गाउँमा दुई सय २० घर परिवार छन्। उनीहरू सबै तरकारी खेतीमै आबद्ध छन्। यहाँ प्लास्टिक टनेल नहालेको कुनै परिवार छैन। बुर्तिबाङ बजारनजिकै रहेको अधिकारीचौर तथा नाथुरी गाउँका अधिकांश नागरिक तरकारी खेती गर्दै आएका छन्।

बजारीकरणको समस्या नभएको हुँदा यहाँका कृषकले वार्षिक न्यूनतम एक लाखदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको स्थानीय कृष्णलाल कँडेलले बताए।

कँडेलले गाउँका स्थानीयमा उद्यम गर्नु पर्छ भन्ने सोंचको विकास भएपछि अधिकारीचौर र नाथुरीगाउँ ‘तरकारी गाउँ’का रूपमा विकास भएको बताए। पछिल्लो समय यहाँ तरकारी खेती फस्टाउँदै गएपछि गाउँले नै यसतर्फ आकर्षित भएको उनी बताउँछन्।

'यो गाउँका मान्छेहरूलाई पहिले बारीमा उत्पादन भएको धान, मकै र गहुँले खान पुग्दैनथ्यो, अहिले हेर्नुहुन्छ भने यहाँका कोही पनि नागरिकलाई खोजेर खानु पर्ने अवस्था छैन, सबैको बारीमा तरकारी फलेको छ, पैसा चाहिए एक ढोका तरकारी बजारमा लगेर बेचे भइहाल्छ, केही होलान् गाउँमा तरकारी खेती नगरेका तिनीहरू पनि तरकारी खेतीमा जोडिँदैछन्', कँडेलले भने, 'अहिले यो गाउँमा टनेल नबनाएको घरनै छैन, तरकारी खेतीले दैनिकी पनि फेरिएको छ।'

व्यवसायिक तरकारी खेतीले उनीहरूको जीवनशैली नै बदलिदिएको कँडेलको भनाइ छ। उहाँले आफूहरूले उत्पादन गरेको तरकारीले पनि राम्रो बजार पाएको भन्दै कृषकहरू थप उत्साहित भएर लागेको बताए। तरकारी खेती गर्न कृषि ज्ञान केन्द्रले पनि राम्रो सहयोग गर्दै आएको उनी बताउँछन्। गाउँमा खाली जग्गामा पनि विस्तारै तरकारी खेती हुन थालेको कँडेलको भनाइ छ।

'विगतमा यहाँका जनताको अवस्था कस्तो थियो, अहिले कस्तो भयो हामी चकित पर्छौँ, लगनशीलता र परिश्रमले जीवन फेरिँदो रहेछ, पहिले धेरै जसोले मजुदरी गरेरै जीविकोपार्जन गर्नु पर्थ्यो, अहिले आफ्नै बारीमा पैसा फलेको छ', उनले भने, 'बजारको समस्या छैन, गाउँमै मोटरबाटो आएको छ, त्यसले गर्दा व्यापारीहरू बारीमै तरकारी खरिद गर्न आउँछन्।'

स्थानीय जनकराज पाण्डेले तरकारी खेतीबाट वार्षिक तीन लाख बढी आम्दानी गर्ने गरेको बताउनुभयो। आफ्नो बारीमा ११ वटा अस्थायी एउटा स्थायी टनेल निर्माण गरेर तरकारी खेती गर्दै आएको पाण्डेको भनाइ छ। उनले कृषि ज्ञान केन्द्र बागलुङले तीन लाख सहयोग गरेको भन्दै त्यसबाट तरकारी खेती विस्तारमा ठूलो राहत मिलेको बताउँछन्।

पाण्डे भन्छन्, 'मेरो तरकारी फर्म केही लेकमा पर्छ, टनेलमा खेती गर्दा राम्रै उत्पादन हुँदो रहेछ, मैले बाह्र वटा टनेलमा तरकारी खेती गरेको छु, वार्षिक तीन लाख आम्दानी हुने गरेको छ, गाउँमा अरू किसानहरूले पनि राम्रो आम्दानी गर्नुभएको छ, पहिले यस्तो तरकारी खेती गर्ने चलन थिएन, मोटरबाटो आएपछि मात्रै यसरी व्यवसायिक रुपमा खेती हुन थालेको हो।'

कृषकले उत्पादन गरेको तरकारीले उचित मूल्य पाउन नसकेको पाण्डेले गुनासो गरे। उनले बजारको समस्या रहेको हुँदा व्यापारीले भनेकै मूल्यमा बिक्री गर्नुपर्ने अवस्था रहेको बताए। पाण्डेले हिउँदको समयमा तरकारी बजार पुर्‍याउन सहज भए पनि बर्खामा ठूलो समस्या पर्ने गरेको बताउँछन्।

'यहाँ उत्पादन भएको तरकारी सबै बुर्तिबाङ बजारमा पुर्‍याउँछौँ, बजारमा भारतबाट आएका तरकारीले गर्दा हाम्ले उत्पादन गरेको तरकारी कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था छ, व्यापारीहरूले भनेको मूल्यमा दिनु पर्ने अवस्था छ', उनले भने, 'खोलामा पुल छैन, बर्खाको समयमा ढोकोमै बोकेर बजार पुर्‍याउनु पर्ने अवस्था छ, असार लाग्यो भने बाटो बन्द हुन्छ, असोज कार्तिकसम्म बोकेरै बजार पुर्‍याउनु पर्छ, तरकारीको ठूलो सिजन पनि त्यही हो।'

स्थानीय शालिकराम कँडेलले तरकारी खेती गरेपछि आर्थिक समस्या भोग्न नपरेको बताए। तरकारी खेतीबाट परिवार चलाउन सहज भएको बताए। उनले कृषि ज्ञान केन्द्रबाट चार लाख अनुदान प्राप्त भएको भन्दै त्यसबाट टेनल व्यवस्थापन गरी थप खेती विस्तार गरेको बताए। ज्ञान केन्द्रले सहयोग गरे पनि ढोरपाटन नगरपालिकाबाट अहिलेसम्म सहयोग प्राप्त नएको उनको भनाइ छ।

कँडेल भन्छन्, 'सिंगो गाउँनै तरकारी खेतीमा लागेको छ, तर हाम्लाई नजिकको सरकार नगरपालिकाले सहयोग गरेको छैन, किसानहरूका थुप्रै समस्याहरू छन्, केही सहयोगको अपेक्षा त हुँदो रहेछ तर भएन, तरकारी खेतीले सानो सानो रकम कसैलाई माग्न परेको छैन, परिवार सजिलैसँग चलाउन सकिएको छ।'

अधिकारीचौर र नाथुरी गाउँ तरकारी खेतीका लागि उर्वर भूमि रहेको हुँदा कृषकहरू पनि सक्रिय भएर लागेका छन्। गाउँका सबै स्थानीय तरकारी खेतीमा आबद्ध हुँदा वार्षिक गाउँमा पचास लाख बढी भित्रिने गरेको छ।

कृषकलाई समय,समयमा परामर्श, तालिम तथा आवश्यक अनुदानसमेत दिँदै आएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए।

उनले यहाँका कृषकले निकै मेहनतका साथ तरकारी खेती गरेको बताए। यहाँको माटो र वातावरण तरकारी खेती सुहाउँदो भएको हुँदा उत्पादन पनि राम्रो हुने गरेको भट्टराई बताउँछन्। कृषि ज्ञान केन्द्रले यहाँ तीन सयभन्दा बढी प्लास्टिक टनेल निर्माण गरि दिएको उनको भनाइ छ।

'अधिकारीचौरका किसानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण प्रयोजना अन्तरगत व्यवसायिक कृषि उत्पादन केन्द्र तरकारी ब्लकबाट दुई वर्षमा पचास लाखको सहयोग गरि सकेका छौँ, यहाँका धेरै किसानहरू तरकारी खेतीमा आवद्ध हुनुहुन्छ', भट्टराईले भने, 'उहाँहरू निकै मेहनतका साथ लाग्नु भएको छ, ज्ञान केन्द्रको सहयोगले उहाँहरूलाई ठूलो राहत पुगेको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.