|

काठमाडौं : भारतीय चर्चित कवि अमृता प्रितमका कविताहरू नेपालीमा सार्वजनिक भएको छ। कवि रीमा केसीको अनुवादमा इन्डिगो इन्क प्रालिले 'अमृता प्रितमका छानिएका‌ कविता' पुस्तक सार्वजनिक गरेको‌ हो।

शनिबार कवि तुलसी दिवस, भूपाल राई, ज्योति जङ्गल र अनुवादक केसीले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका हुन्।

कार्यक्रममा कवि तुलसी‌ दिवसले अमृतासँगको आफ्नो सहकार्य स्मरण गर्दै अमृताको लेखन साँच्चिकै जादूयी रहेको टिप्पणी गरे। अमृतासँगको आफ्नो पहिलो भेट सम्झँदै आफू दिल्ली पुगेपछि नेपाली हिन्दी भाषामा संयुक्त रुपमा साहित्यिक गतिविधि गरेको बताए। उनले अमृताले नेपाली आदिकवि भानुभक्तमाथि लिखित टिप्पणी समेत गरेको कार्यक्रममार्फत जानकारी दिए।

'दिल्लीस्थित नेपाली राजदूतावासमा पहिलोपटक भएको साहित्यिक कार्यक्रममा भानुभक्तलाई स्मरण गरेका थियौँ। उक्त कार्यक्रममा अमृता पनि आमन्त्रित थिइन्। त्यहाँ अमृताले भानुभक्तमाथि लिखित वक्तव्य दिएकी थिइन्। त्यो मसँग अझै सुरक्षित छ, समय आएपछि प्रकाशन गर्ने भनी‌ जतनसााथ राखेको छु', उनले बताए।

अनुवादकै विषयमा बोल्दै उनले नेपाली‌ कवितालाई‌ अन्य भाषामा‌ अनुवाद गर्नु अत्यावश्यक रहेको बताए।‌ उक्त कार्यका लागि एकल, संयुक्त वा सामूहिक रूपमा प्रयास गर्नुपर्ने बताए।

यसैगरी कवि भूपाल‌ राईले अनुवादका क्रममा रीमाले अमृतामाथि अन्याय नगरेको टिप्पणी गरे। कुनै पनि विषय अनुवाद भएर आउँदा लेखकको शैलीसहित आउनुपर्ने बताउँदै त्यो कोसिस रीमाले गरेको बताए। 'अनुवाद सांस्कृतिक सेतुको काम हो। हुबहु नआउन‌ सक्छ तर कोसिस गर्नुपर्छ। विदेशी अनुवाद गरे नेपालीपन आउनुपर्छ भन्नेहरू पनि छन् तर त्यसको विपक्षमा छु म', उनले भने,' जस्तो सेक्सपियरको अनुवाद गर्दा सेक्सपियरकै लेखन आउनुपर्छ। त्यसमा भानुभक्तको स्वाद आउनुहुँदैन। यसमा रिमाले त्यो प्रयास गरेको छ। यथाशक्य कोसिस गरेको छ अमृता प्रितमलाई अन्याय गरेको छैन।'

अनुवादमा जनताको करमा चलेका प्रज्ञालगायत राज्यको कोषबाट स्थापित संस्थाले अनुवादलगायतको काम नगरेकोमा असन्तुष्टि जनाउँदै उनले त्यस्तो काम निजी प्रकाशन गृहले‌ गरेकोमा तारिफ गरे।

यस्तै, अर्की कवि ज्योति जंगलले अमृताको लेखनको प्रशंसा गर्दै उनको काव्यिक शैली पृथक रहेको दाबा गरिन्। अमृताले‌ आफू, आफ्नो सत्व र आत्मप्रेम कवितामा बिसाएको उनको भनाइ थियो।

अनुवादक रीमाले यसै कविताको अनुवाद गरेर राखेकोमा पुस्तकको रुपमा प्रकाशित भएकोमा खुसी व्यक्त गरिन्। अमृताका शक्तिशाली कविता नेपालीमा अनुवाद हुँदा त्यसको सकारात्मक प्रभाव साहित्यिक क्षेत्रमा पर्ने दाबी उनको थियो।

उनले कार्यक्रममा साहिर र इमरोजसँगको प्रेमको विषयमा पनि बोलेकी थिइन्‌।‌ जुन प्रेमले उनको‌ कवि मन अझ कोमल भएको आँकलन उनको थियो। 'अमृताको जीवन नै आम व्यक्तिको भन्दा फरक थियो, त्यसैले उनलाई कवि बनायो जस्तो लाग्छ तर साहिर र इमरोजको प्रेमले उनी कवि भएकी होइनन्, कवि पहिल्यै थिइन्‌। तर जुन दर्द उनका कवितामा छ त्यो प्रेमले आएको हुनुपर्छ', उनले भनिन्।

कविहरू स्वप्निल स्मृति र लक्ष्मी रुम्बाले अमृताका कविता पनि वाचन गरेको पुस्तक लोकार्पण कार्यक्रमको सहजीकरण बाबु त्रिपाठीले गरेका थिए। ५२ कविता भएको उक्त पुस्तकको नेपाली मूल्य २९९ राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.