|

हेटौंडा : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार शपथग्रहण गर्दैछन्।  

मंगलबार बिहान ९ः३० बजे मुख्यमन्त्री जम्कट्टेललाई शपथ गराउने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। प्रदेशको चौथो मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथग्रहण गराउन लागेका हुन्। 

शपथ लिएलगत्तै उनले तीन सदस्यीय मन्त्रिपरिषद् पनि विस्तार गर्ने भएका छन्। उनले नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धव थापालाई सरकारमा लैजान लागेका हुन्। थपलियाले अर्थ मन्त्रालय सम्हाल्न छन् भने थापाको मन्त्रालय अझै टुंगिएको छैन। जम्कट्टेलले आफूलाई समर्थन गरेका दलहरूसँगको छलफलपछि मन्त्रिपरिषदलाई पूर्णता दिने जनाएका छन्। 

७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेललाई दलहरूबीच भागबण्डा मिलाउन सहज हुने देखिँदैन। सत्ता गठबन्धनको एमाले, माओवादी र राप्रपासँगै एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन उनलाई छ। स्रोतका अनुसार एमालेले ५, माओवादीले ४, राप्रपा र समाजवादीले २/२ र हाम्रो नेपाली पार्टीले १ गरी १४ मन्त्रालयमा दाबी गरेका छन्। मुख्यमन्त्री जम्कट्टेलले १४ वटा मन्त्रालय कटौती गरेर घटीमा ९ र बढीमा ११ कायम गर्ने बताएका छन्। 

एमालेले पनि मन्त्रालयको संख्या ८ मा झार्नुपर्ने बताएको थियो। कांग्रेस नेतृत्वको गठबन्धनले बागमती प्रदेशमा सरकार बनाउँदा मुख्यमन्त्री राजेन्द्र पाण्डेले गठबन्धनमा भागबण्डा पुर्‍याउनकै लागि आठ मन्त्रालयलाई १४ बनाएका थिए। तीनदलको समर्थनमा मुख्यमन्त्री बनेका पाण्डेले भागबण्डा मिलाउन १४ वटा मन्त्रालय बनाएको भन्दै विरोध भएको थियो। अहिले पाँच दल मिलेर सरकार बनेको छ।

मुख्यमन्त्री जम्कट्टेललाई मन्त्रालय कटौती गर्दै ५ दलमा भागबण्डा मिलाउन सकस पर्ने देखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.