|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस कार्यकालमा जतिसक्दो राम्रो काम मात्र गर्ने बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्।

‘‘यसपटक कुनै पनि नराम्रो काम नगर्ने र अरूलाई पनि गर्न नदिनेमा छु। यसपटक जति काम गर्छु, राम्रो मात्र गर्छु’’ प्रधानमन्त्री प्रचण्डले भने, ‘‘म तेस्रोपटक प्रधानमन्त्री भएको छु। यो मेरा लागि परीक्षा पनि हो। म परीक्षामा उत्तीर्ण हुन्छु, हुनैपर्छ।’’

कार्यक्रममा उनले हस्तकला क्षेत्र नेपालको मौलिक क्षेत्र भएकाले यसलाई सातवटै प्रदेशमा विस्तार गर्ने बताएका छन्। ‘‘हस्तकला क्षेत्र नेपालका लागि अर्गानिक क्षेत्र छ। यो असीमित सम्भावना भएको क्षेत्र हो’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘यो क्षेत्रलाई राम्रोसँग विकास गर्न सकियो भने एकातिर व्यापार घाटा कम गर्न सकिन्छ। यसैले सरकार हस्तकला उद्योगलाई सातवटै प्रदेशमा बिस्तार गर्न प्रतिवद्ध छ।’’प्रधानमन्त्रीले निजी क्षेत्रसँगको साझेदारीमा हस्तकला उद्योग प्रवद्र्धन गर्नुपर्ने बताए।

हस्तकला व्यवसाय प्रवद्र्धनका निम्ति पाठ्यक्रममा नै केही विषय राख्नु राम्रो हुने प्रधानमन्त्रीले बताए। उनले भने, ‘‘हस्तकला उद्योगमा पुस्तान्तरणको समस्या छ भन्ने मलाई थाहा छ। यसलाई अर्को पुस्तामा हस्तान्तरण गर्ने पहल हामीले लिनुपर्छ। यसकारण पाठ्यक्रममा नै हस्तकला उद्योगको कुरा राख्ने माग सकारात्मक छ, म पहल गर्छु।’’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.