|

जनकपुरधाम : धनुषाको धनुषधाममा माघे सङ्क्रान्तिको अवसरमा लाग्ने एकमहिने मकर मेला आइतबारदेखि शुरु भएको छ। मकर मेला माघमा आइतबार र मंगलबार लाग्ने गर्छ।

जनकपुरधामदेखि १९ किलोमिटर उत्तरी पूर्वी क्षेत्रमा ऐतिहासिक, धार्मिक एवं पौराणिक महत्त्व बोकेको धनुषधामको मकर मेला प्रत्येक वर्ष माघ १ गतेदेखि महिनाको अन्त्यसम्म लाग्ने गर्छ। यो मेला यस क्षेत्रको सबैभन्दा प्रख्यात र महत्त्व बोकेको मेला रहेको स्थानीय श्याम साह बताउँछन्।

यस मेलामा नेपालसहित भारतका विभिन्न स्थानबाट लाखौँको सङ्ख्यामा श्रद्धालु भक्तजनहरू मेला हेर्न आउने गर्छन्।

त्रेता युगमा राजा जनकले छोरी जानकीको विवाहका लागि आयोजना गरेको सीता स्वयंवरमा श्रीरामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र मध्य टुक्रा धनुषधाममा झरेको जानकारहरू बताउँछन्।

मन्दिरका महन्थ भरत दासका अनुसार त्रिपुरासुर सङ्ग्राम भएपछि दधिचि मुनिको हाडबाट बनेको धनुष परशुरामलाई दिइएको थियो। परशुरामले उक्त धनुष राजा जनकलाई दिएका थिए।

रामले उक्त धनुषमा वाण चलाउँदा तीन टुक्रा भएको थियो। एक टुक्रा आकाश हुँदै रामेश्वरम्, दोस्रो पाताल र तेस्रो जनकपुरधामको धनुष क्षेत्रमा झरेको हो। 

धनुष खसेको जनकपुरधामको पोखरी धनुष सागरको नामले चिनिन्छ। मध्य भाग आएर खसेको ठाउँ धनुषधाम रहेको मन्दिरका महन्थ भरत दासले जानकारी दिए।​

धनुषाधममा खसेको धनुषको कालो रङको शिलामाथि अहिले पीपलको रूख छ। उक्त रूख साढे पाँच सय वर्ष पुरानो रहेको विश्वास गरिन्छ।

पीपलको बोटमुनि नागको वास रहेको महन्त दासले बताए। अमावस्याको मध्यरातमा मणिसहितको नाग देखिने र पूरै मन्दिर हरियो रङले रङ्गिने जनविश्वास छ।

धनुषको मध्य टुक्रा झरेको स्थानमा धनुष बाबाको मन्दिर निर्माणपछि माघमा मकर मेला लाग्ने गरेको हो। भक्तजनले धनुषको टुक्रामा पुष्प जल अर्पण गर्छन्।  पूजाअर्चना गर्न वर्षेनि लाखौँको सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरू आउँछन्।

पाँच मकर स्नान गरेर धनुष भगवान्‌को दर्शन गरेपछि सय  रामेश्वरम्‌को दर्शन बराबर हुने जनविश्वास छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.