|

पर्वत : गण्डकी प्रदेशसभाको उपसभामुखमा नेकपा एमालेकी विनाकुमारी थापा निर्वाचित भएकी छिन्।

बागलुङको बडीगाड गाउँपालिका–१ घर भएकी उनी संविधानको धारा १८२ र प्रदेशसभा नियमावली ९ अनुसार उपसभामुखमा निर्वाचित भएकी हुन्। थापा समानुपातिक निर्वाचन प्रक्रियामार्फत प्रदेशसभा सदस्य बनेकी थिइन्।

प्रदेशसभाको सोमबार बसेको बैठकमा उपसभामुखका लागि भएको निर्वाचनमा थापाको पक्षमा ३२ मत परे।

गण्डकीमा गठबन्धनमा रहेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी तथा गठबन्धन बाहिरको नेकपा एकीकृत समाजवादीको मत उनको पक्षमा परेका थिए।

गण्डकीमा एमालेका २२ जना, माओवादीका ७ जना (सभामुखबाहेक) र राप्रपाका २ सांसद छन्। उनीहरूबाट ३१ मत आयो।

मनाङ (ख) बाट स्वतन्त्र रूपमा चुनाव जितेर आएपछि एकीकृत समाजवादीमा प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) ले पनि उपसभामुखमा एमालेकै उम्मेदवारलाई मत दिँदा थापाको पक्षमा ३२ मत पुगेको हो।

एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री बन्ने वेलामा उनैको पक्षमा देखिएका मनाङेले विश्वासको मत भने अधिकारीलाई दिएनन्। प्रतिपक्षमा बस्ने भन्दै एकाएक निर्णय गरेका उनी विश्वासको मत लिने गरी चलेको प्रदेशसभा बैठकमा उपस्थित नै भएनन्।

तर उनै मनाङेले एमालेबाटै उपसभामुख पदमा उम्मेदवार रहेकी थापालाई भने मत दिएका छन्। उनले माओवादीबाट गण्डकी प्रदेशसभाको सभामुख बनेका कृष्णप्रसाद धिताललाई पनि मत दिएका थिए।

प्रदेशमा प्रतिपक्षमा बसेको नेपाली काँग्रेसबाट उम्मेदवार रहेकी पार्वती तामाङले २६ मत पाइन्।

तामाङ समानुपातिकतर्फको निर्वाचन प्रक्रियाअन्तर्गत लमजुङ जिल्लाबाट प्रदेशसभा सदस्य बनेकी हुन्। प्रदेशसभामा काँग्रेसका २७ जना सांसद रहेका भए पनि तामाङका पक्षमा २६ मत परेका हुन्। गठबन्धनको जित सुनिश्चित रहेको अवस्थामा सांसद टिकाकुमारी बस्याल अनुपस्थित भएकी हुन्।

प्रदेशसभा बैठकमा थापालाई सांसद गोविन्दबहादुर नेपालीले उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गर्दा माओवादीकी सांसद सुशीला सिम्खडाले समर्थन गरेकी थिइन्।

काँग्रेसकी उम्मेदवार तामाङको प्रस्तावकमा नन्दप्रसाद न्यौपाने र समर्थकमा दोणकुमार कुँवर बसेका थिए। 

गण्डकीमा सत्ता गठबन्धनको सिट बाँडफाँटमा मुख्यमन्त्री एमालेको भागमा परेपछि सभामुख माओवादी र उपसभामुख एमालेको भागमा परेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.