|

 मोरङ : मोरङको पथरी शनिश्चरे नगरपालिकाको उम्मेदवार चयनप्रति असन्तुष्टि जनाउँदै नेकपा एमालेका कार्यकर्ताहरुले बागी उम्मेदवारी घोषणा गर्न थालेका छन्। प्रमुख पदका लागि एमाले कार्यकर्ता राधा संग्रौलाले पत्रकार सम्मेलन नै गरेर उममेद्वारी घोषणा गरेकी छन्। एमालेले दिलीपकुमार राईलाई प्रमुखको उम्मेदवार तोकेको छ।

पार्टीले राईलाई टिकट दिएपछि उम्मेद्वारका केही आकांक्षीले आफ्नो घरमा राखेको झण्डा र चुनाव चिह्नसमेत सांसद चण्डीप्रसाद राईको घरमा लगेर छाडिदिएका छन्। एमालेले नगरबाट प्रमुखमा ७ र उपप्रमुखमा ८ जनाको नाम प्रदेश कमिटीमा पठाएको थियो।

वडा नम्बर १ मा धनकुमार तामाङले पनि स्वतन्त्र उम्दवार दिने भएका छन्। एमालेले बाबुराम सुब्बालाई वडा अध्यक्षको टिकट दिने भएपछि तामाङ बागी उठ्ने भएका हुन्। उनी उद्योग वाणिज्य संघ पथरीको अध्यक्ष हुन्।

त्यसैगरी, २ नम्बर वडामा एमालेले यामप्रसाद गुरागाइलाई अध्यक्षको टिकट दिएपछि रत्नबहादुर बस्नेतले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन्। बस्नेत २०५४ सालको स्थानीय निर्वाचनमा एमालेबाट वडाअध्यक्ष निर्वाचित भएका थिए। चौतारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रहेका उनी आफूलाई पार्टीले उपेक्षा गरे पनि चुनाव जित्ने बताउँछन्।

२०५४ सालको स्थानीय निर्वाचनमा एमालेबाट वडा अध्यक्ष पदमा उठेका रत्नबहादुर कार्कीले वडा नं. ७ मा स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन्। त्यसबेला ७ मतको अन्तरले पराजित भएका कार्की एमालेले कपिलमणी ढकाललाई वडा अध्यक्षको उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका हुन्।

आफूले स्वतन्त्र वडा अध्यक्षको उम्मेदवारी घोषणा गरेपछि सांसद चण्डीप्रसाद राई, प्रमुखका उम्मेदवार दिलीपकुमार राई लगायतले उम्मेदवार नबन्न दबाब दिएको कार्कीले बताए। तर, वडामा लामो समयदेखि सामाजिक काम लागिरहेकोले जनताले आफूलाई जिताउने वचनबद्धता दिएको उनको दाबी छ।

नगर प्रमुखमा राधाको उम्मेदवारी

मोरङको पथरी शनिश्चरे नगरपालिकाको प्रमुखमा राधा संग्रौलाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छन्। लामो समयदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय संग्रौलाले आगामी निर्वाचनमा पथरी शनिश्चरे नगरपालिकाको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी हुन्।

पथरी-शनिश्चरे नगरपालिका वडा नं ४ कि स्थायी बासिन्दा संग्रौला त्यस क्षेत्रका सामाजिक गतिविधिहरुमा सक्रिय महिला हुन्। कीर्तिपुर महिला समूहको अध्यक्षसमेत रहेकी संग्रौला सामाजिक काममा सक्रिय छन्।

पथरी-शनिश्चरे नगरलाई देशकै एउटा सम्मृद्ध र नमुना नगरको रूपमा विकास गर्ने अठोटसहित आफू प्रमुखमा लागि उम्मेदवार बन्न लागेको उनले बताइन्। पर्यटन प्रवर्द्धन र युवा स्वरोजगारलाई केन्द्रमा राख्दै आत्मनिर्भर नगरपालिका बनाउने आफ्नो सपना रहेको उनले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • बागी हैनन् यी सबै । म यही ठाउँको वासिन्दा हुँ ।