|

हेटौंडा : राप्रपा नेपालका अध्यक्ष कमल थापाले महाधिवेशनले पारित गरेको नीतिविपरीत राप्रपा सत्तामा गएको टिप्पणी गरेका छन्।

हेटौंडामा मंगलबार आयोजित अगुवा कार्यकर्ता भेलामा थापाले आफूलाई सरकारमा गएर गल्ती गर्‍यो भन्नेहरू नै महाधिवेशनले पारित गरेको नीतिविपरीत सत्तामा गएको टिप्पणी गरेका हुन्।

उनले भने‚ ‘राप्रपालाई सत्तामा जान कुन शक्तिले बाध्य पार्‍यो? शक्तिशाली ठाउँ त महाधिवेशन हो, महाधिवेशनले पास गरेको नीतिविपरीत राप्रपा सत्तामा किन गयो ?,उनले प्रश्न गरे।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनतर्फ इंगित गर्दै थापाले अब सिद्धान्तकेन्द्रित राजनीति गर्छौं भन्नेहरू, हिन्दूराष्ट्र र राजसंस्थाको एजेन्डालाई डिप फ्रिजमा राखेर सत्तारोहण गरेकोसमेत आरोप लगाए।

‘विपरीत स्वार्थमा हिँडेका शक्तिहरूको गठबन्धन‚ स्वार्थको गठबन्धन भन्दै थापाले राजा फाल्ने ,राजा चाहियो भन्ने, भ्रष्टाचार गरेर खानु आमाको रगत खानु भन्ने र ठूलो ठूलो भ्रष्टाचारमा गाँसिएकोहरूको गठबन्धन उदेकलाग्दो भएको बताए।

उनले आफू पार्टीलाई मुलुकको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने अभियानमा रहेको दावी गरे। उनले म्याराथनमा कुदेको खेलाडीको नतिजा अन्तिममा आउने भन्दै आत्मसमर्पण र विलयको कुनै सम्भावना नरहेको स्पष्ट पारे।

थापाले आफूले आदर्श र सिद्धान्तलाई सत्तासँग नसाटेको भन्दै योजनाबद्ध र षड्यन्त्रपूर्वक चरित्र हत्या गरेको विषय आगामी दिनमा स्पष्ट हुने र भ्रम निवारण हुने विश्वाससमेत व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.