|

काठमाडौं : परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले मन्त्रालयका सूचना झ्याल र ढोकाबाट नभई सबैलाई एकमुष्ठ दिइने बताएकी छन्।

उनको श्रीलंका भ्रमणबारे जानकारी दिन मन्त्रालयमा बुधवार गरेको पत्रकार सम्मेलनमा उनले यसो भन्दै सबै सञ्चारकर्मीलाई ह्वाट्स एप वा इमेल ग्रुपबाट सूचना दिने प्रतिबद्धता जनाइन्।

उनले भनिन्, ‘बेलामा समयमा सूचना दिने भन्ने कुरा हामी समयमा नै दिनेछौँ। ह्वाट्स एप वा इमेल ग्रुप हामी त्यसमा काम गर्नेछौँ। सकेसम्म हामी ग्रुपमा सूचना दिन्छौँ। कसैलाई ढोकाबाट, झ्यालबाट गर्दैनौँ।’

मन्त्री बनेपछि पहिलो विदेश भ्रमणमा उनी बिहीबार श्रीलंका जाँदै छिन्। मन्त्री पौड्याल श्रीलंका भ्रमणमा राजनीतिक भेटघाट र राजनीतिक महत्वका भेटघाटमा सहभागी हुने मन्त्रालयले जनाएको छ। 

उनले श्रीलंका भ्रमणका क्रममा सम्भव भएसम्म सार्कबारे पनि साइडलाइन कुराकानी गर्ने बताइन्। ‘साइडलाइन मिटिङहरु भयो भने सार्कबारेमा केही कुराहरु उठाउने छौँ तर सार्कका लागि भनेर यो गरिएको होइन‚’ उनले भनिन्।

मन्त्री पौड्यालले आफूले पछिल्लो समय पोर्चुगलमा रहेका नेपालीलाई पासपोर्टको समस्या परेकाले उनीहरूको समस्या समाधानका लागि तत्काल मोबाइल टिम पठाउने तयारी गरेको जानकारी दिइन्।

‘पोर्चुगलमा ५०/६० हजार नेपाली हुनुहुन्छ, उहाँहरुलाई पासपोर्टको धेरै नै जरुरी छ भन्ने कुरा आएको छ,’ उनले भनिन्‚ ‘हामीले मोबाइल टिम एक महिनाको लागि भए पनि तत्काल पोर्चुगल पठाउने निर्णय गरेका छौँ। त्यहाँको समस्या समाधान गर्ने सोचेका छौँ।’

परराष्ट्रमन्त्री पौड्यालले परराष्ट्र नीतिबारे पनि एकपटक विज्ञहरूसँग बसेर छलफल गर्ने तयारी गरिरहेको बताइन्। ‘हामी परराष्ट्र नीतिबारे एक राउण्डको छिटै नै कन्सलटेसनको प्रोसेसमा जान्छौँ। अपटेड पनि गर्नुपर्नेछ‚’ उनले भनिन्।

मन्त्री पौड्यालले आफ्ना श्रीलंकाका समकक्षीसँग शुक्रवार भेटवार्ता गर्ने र त्यही दिन स्वागत लञ्च राखिएको मन्त्रालयले जनाएको छ। सोही दिन मन्त्री पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवर्द्धनेसँग भेटघाट गर्ने कार्यक्रम छ।

बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औं वर्षगाँठका अवसरमा श्रीलंका सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी भइसकेपछि त्यसै दिन मन्त्री पौड्यालले श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेसँग भेटवार्ता गर्ने छिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.