|
फाइल तस्वीर

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक पुँजीबजारप्रति नकारात्मक नरहेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड कार्यक्रममा आइतबार गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंक पुँजीबजारको विकास गर्न प्रतिवद्ध रहेको भन्दै कहिल्यै पुँजीबजारप्रति नकारात्मक नभएको दावी गरे। गभर्नर अधिकारीले शेयरबजार बढ्नु र कहिलेकाहीँ घट्नु स्वाभाविक भएको बताए।

उनले पुँजीबजार हेर्ने छुट्टै केन्द्रीकृत नियमन निकायहरु भएको बताउँदै धितोपत्र बोर्डले पुँजीबजार नियन्त्रण र अनुगमन गर्ने बताए। उनले राष्ट्र बैंकले नियमन गर्ने भनेको वित्तीय क्षेत्रभित्रका बैंक तथा वित्तीय संस्थाहरु मात्रै भएको स्पष्ट पारे।

उनले नेपाली पुँजीबजारमा बाफियाभित्र ७० प्रतिशत संस्थाहरु समावेश भएकाले राष्ट्र बैंकले यी संस्थाहरुलाई गरेको नियमनको कारणले प्रभाव परेको हुनसक्ने बताए। उनले राष्ट्र बैंकको चाहनाअनुसार पुँजीबजारलाई असर पर्ने नीति नलिएको भन्दै राष्ट्र बैंक जहिले पुँजीबजारको प्रोस्परिटी चाहेको बताए।

गभर्नर अधिकारीले भने, ‘पुँजीबजारप्रति राष्ट्र बैंक नकारात्मक हुनुपर्ने अवस्था छैन। पुँजीबजार हेर्ने छुट्टै केन्द्रीकृत नियमन निकायहरु रहेका छन्। धितोपत्र बोर्डले पुँजीबजारलाई नियन्त्रण र अनुगमन गर्छ। राष्ट्र बैंकले नियमन गर्ने भनेको वित्तीय क्षेत्रभित्रका बैंक तथा वित्तीय संस्थाहरुलाई हो। नेपाली पुँजीबजारमा बाफियाभित्र ७० प्रतिशत संस्थाहरु समावेश भएको कारणले राष्ट्र बैंकले यी संस्थाहरुलाई गरेको रेगुलेशनको कारण कुनै न कुनै विषयले प्रभाव परेको होला। राष्ट्र बैंकको इन्टेन्शन पुँजीबजारलाई असर परोस् भन्ने लिएको हुँदैन। हामी जहिले पनि प्रोस्पर होस् भन्ने चाहन्छौं। शेयर बजारका शब्दहरु मौद्रिक नीतिमा नभएकाले अन्यथा लिएको पाएको छु।’

उनले राष्ट्र बैंक बैंकहरुसँग भएको पुँजी उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने गरी नीति लिएकाले प्रत्यक्ष रुपमा शेयर बजारको विषयमा नबोलेको बताए। उनले शेयर बजारको शब्दहरु मौद्रिक नीतिमा नभएकाले अन्यथा नलिन आग्रह गरे। उनले विदेशी मुद्रा सञ्चितिमा सन्तुलनमा राख्न आयात प्रतिबन्धको नीति लिएको भन्दै सहज भएसँगै खुल्दै गरेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.