हाडनातामा विवाहितका सन्तान जन्मजात मुटु रोगी हुने अधिक सम्भावना

|

काठमाडौँ : अझै पनि एक हजार नवजात शिशु जन्मँदा १० जना शिशुमा मुटुको समस्या (जन्मजात मुटु रोग) रहेको हुन्छ। ​आमाको स्वास्थ्य, वंशाणुगत जस्ता विभिन्न कारणले गर्दा बालबालिकाले जन्मँदै मुटुको समस्या लिएर जन्मिएका हुन्छन्।

यसरी जन्मँदै मुटुको समस्या लिएर जन्मने बालबालिकामा गर्भावस्थामै मुटुको बनावट बिग्रेको हुने र यो समस्या कसैमा एउटा मात्र समस्या देखिने र कसैमा मुटुको भल्भमा प्वाल परेको हुने तथा कसैको मुटुका धमनीको बनावट फरक तरिकाले बनेको हुनेजस्ता विभिन्न समस्या पनि लिएर आएको हुन सक्ने बताउँछिन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रकी वरिष्ठ बाल मुटुरोग विशेषज्ञ डा. उर्मिला शाक्य।

‘जन्मँदै बालबालिकाको मुटुमा समस्या देखिन्छ‚ जसमा कसैमा मुटुको भल्भमा प्वाल हुन्छ कसैमा धमनीको बनावट फरक तरिकाले बनेको हुन्छ भने कसैमा मुटुमा जुन नसाबाट रगत आउनुपर्ने हो त्यो फरक बाटोबाट आइरहेको हुन्छ। जन्मँदै हुने यस्ता समस्यालाई जन्मजात मुटुको समस्या भनेर बुझ्नुपर्छ’‚ डा. शाक्यले भनिन्।

यसरी जन्मँदै मुटुको समस्या लिएर जन्मेका एक तिहाइ बालबालिकाको जन्मनेबित्तिकै उपचार गर्नुपर्ने डा. शाक्यले बताइन्। डा. शाक्यले भनिन्‚ ‘जन्मजात मुटुको समस्या लिएर जन्मिएका एक तिहाइ शिशुको जन्मनेबित्तिकै उपचार गरिएन भने थप समस्या उत्पन्न हुनसक्छ।’

किन देखिन्छ बालबालिकामा जन्मँदै मुटुको समस्या?

गर्भावस्थाको एकदेखि ३ महिनामा हुने संक्रमण र गर्भावस्थामा रेडियो विकिरण एक्सपोजर हुनु‚ गर्भवतीमा दीर्घरोग वा धुमपान मद्यपानको सेवन तथा गर्भावस्थामा कडा औषधिको प्रयोगले जन्मजात बच्चामा मुटुको समस्या देखिने मुख्य कारण रहेको केन्द्रकी अर्की बाल मुटुरोग विशेषज्ञ डा अंशु शाक्यले बताइन्।

डा. शाक्यका अनुसार गर्भावस्थाको शुरुको तीन महिनामा गर्भवती महिलालाई रुघा, खोकी, रुबेला जस्ता संक्रमण भएको छ। अझै त्यस्ता भाइरल संक्रमणविरुद्ध औषधि सेवन गरेको छ भने आमाको गर्भमा हुर्किरहेको बच्चामा मुटुको समस्या हुने सम्भावना धेरै हुने गर्छ। ‘गर्भवती महिलालाई गर्भ रहेको शुरुका ३ महिनासम्म रुघा, रुबेला जस्ता भाइरल संक्रमण भएको छ भने पनि बच्चाले जन्मँदै मुटुको समस्या लिएर जन्मने गर्छन्’‚ डा. शाक्यले भनिन्।

यस्तै बालबालिकाले जन्मँदै मुटुको समस्या लिएर जन्मन सक्ने अर्को महत्त्वपूर्ण कारण भनेको हाड नातागोतामा विवाह भएको आमाबाबुबाट बच्चा जन्मनु पनि हो। डा. शाक्यले भनिन्‚ ‘हाड नातागोतामा विवाह भएका आमाबाबुबाट जन्मिएका बालबालबालिकामा जन्मँदै मुटुको समस्या हुने सम्भावना धेरै हुन्छ। त्यसैले यस्ता आमाबाबुले गर्भावस्थामा नै आफ्नो गर्भको बच्चामा मुटुको समस्या छ‚ छैन भनेर पत्ता लगाउन इसिजी र एक्सरे जस्ता सामान्य जाँच गराउनु पर्छ। यसका साथै एमआरआई, सिटीस्क्यान गरेर वा गर्भावस्थामै बच्चाको इको गरेर पनि यसको समस्या पत्ता लगाउन सकिन्छ।’

कस्ता लक्षण देखिन्छ जन्मँदै मुटुको समस्या लिएर आएका बालबालिकामा

जन्मँदै मुटुको समस्या लिएर आएका बच्चाहरूमा दूध पिउन गाह्रो हुने, खुट्टा नीलो हुने, उमेरअनुसार खुल्न गाह्रो हुने जस्ता मुख्य लक्षण देखिने केन्द्रकी अर्की बाल मुटुरोग विशेषज्ञ डा. पुनम शर्माले जनाइन्।

‘जन्मँदै मुटुको समस्या लिएर जन्मिएका बच्चामा देखिने मुख्य समस्या भनेको आमाको दूध खान गाह्रो हुनु हो। यदि भर्खरै जन्मिएका बच्चामा आमाको दूध खाँदा निधारमा धेरै पसिना आउँछ भने बच्चामा मुटुको समस्या छ कि भनेर विशेष ध्यान दिनुपर्ने हुन्छ’‚ डा. शर्माले भनिन्।

यसका साथै बालबालिकामा उमेर बढेसँगै कडा खालको निमोनिया भइरहने‚ दैनिक क्रियाकलापमा समस्या देखिने, उमेरअनुसार तौल नबढ्ने, छातीको बायाँ भाग माथि उठ्ने समस्या देखिएमा पनि मुटुको समस्या छ कि भनेर चिकित्सकलाई देखाउनुपर्ने डा. शर्माले बताइन्।

जन्मँदै मुटुको समस्या लिएर जन्मिएका बालबालिकामा कतिपय समस्या धेरै सानो हुने हुँदा लक्षण कम देखिँदा धेरै मानिस जन्मजात मुटुमा देखिएको प्वाल तथा अन्य समस्या लिएर हिँडिरहेका हुन्छन्। यस्तो समस्या छ कि भनेर परीक्षण गराउनुपर्ने समेत डा. शर्माले बताइन्।

समयमै समस्या पहिचान गरेर उपचार गर्न सके जन्मजात रूपमा देखिने मुटुको समस्याको सफल उपचार समेत हुने डा. शर्माको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.