राष्ट्रपतिको जिज्ञासा - स्वास्थ्य मन्त्रालयले सहयोग गर्‍यो कि गरेन?

|

काठमाडौं : सँधै हाँसिखुसी चेहरामा प्रस्तुत हुने कुसुम बास्तोलाको शनिबारको प्रस्तुति अलिक फरक थियो। राष्ट्रपति विद्यादेवी भण्डारी पति चक्र बास्तोलालाई भेट्न आउने सूचना पाएपछि कुसुम स्वागत गर्न करिब दुई घण्टाअघि देखि नै प्रतिक्षामा थिइन्।  

दिउँसो १ बजे खुमलटारस्थित निवासमा राष्ट्रपति भण्डारी आइपुगिन्। राष्ट्रपति भण्डारी बास्तोलाको नजिक गइन्, कुसुमले आफ्नो पतिको गाला सुम्सुम्याँदै सोधिन् ‘राष्ट्रपति आउनु भएको छ, तपाईंलाई भेट्न... चिन्नुभयो? अचेत अवस्थामा विगत साढे चार बर्षदेखि ओछ्यान र ह्वील चेयर नछाडेका बास्तोलाले चिम्से पाराले आँखा उघार्दै राष्ट्रपति भण्डारीलाई एकोहोरो नियालिरहे। उनको बाणी भनेकै आँखाको इसारामा सीमित भएको छ।

चार बर्ष पाँच महिनाअघि मस्तिष्क पक्षघातबाट थलिएका कांग्रेस पूर्व केन्द्रीय सदस्य तथा भारतका लागि नेपाली पूर्वराजदूत बास्तोला भेट्न राष्ट्रपति खुमलटार पुगेकी हुन्। चौविसै घण्टा बास्तोलाकै स्याहारमा व्यस्त पत्नी कुसुम बास्तोलाले भनिन् ‘शुक्रबार मात्र राष्ट्रपति कार्यालयबाट फोन आयो, राष्ट्रपतिज्यू भेट्न आउँदै हुनुहुन्छ भनेर।’

बास्तोला बोल्न त सक्दैनन् तर आँखाको सामान्य इसारा मात्र गर्छन्। व्यवस्थापिका संसदमा प्रधानमन्त्री चयनको कार्यतालिका अनुसार शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गरिरहँदा राष्ट्रपति भण्डारी भने कुनै बेलाका देउवाका समकक्षी चक्र बास्तोला भेट्न उनको निवास खुमलटार पुगेकी हुन्।

‘मामालाई भेट्न विगतमा तत्कालिन राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु सुशील कोइराला, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई पनि आउनुभएको हो’, कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईंले थाहाखबरसँग भनिन् ‘आज पनि राष्ट्रपति भण्डारी आएर स्वास्थ्य स्थितिको बारेमा जानकारी लिनुभयो।’

राष्ट्रपतिले बास्तोलाको स्वास्थ्य स्थिति, उपचारको अवस्था र सहायताको बिषयमा जिज्ञासा रोखेको सांसद प्रसाईंले बताइन्। भेटमा राष्ट्रपतिले स्वास्थ्य मन्त्रालयबाट आर्थिक वा उपचारमा सहायता छ कि छैन भनेर जिज्ञासा राखेकी थिइन्। तर कुसुमले विगत एक बर्षदेखि सरकारले सहयोग उपलब्ध नगराएको बताइन्। 

राष्ट्रपति भण्डारीसँग नेता बास्तोलाकी धर्मपत्नी कुसुम, छोरी सुम्नीमा र ज्वाई, बास्तोलाका सहोदर भाई, भाञ्जी सरिता प्रसार्इंले स्वास्थ्य स्थितिको बारेमा राष्ट्रपति भण्डारीले राखेका जिज्ञासा समाधान गरेका थिए। भेटमा राष्ट्रपतिलाई परिवारका सदस्यले स्वास्थ्यमा सुधार हुने आशा रहेको र पाइपबाट खाना पठाउँदा सम्भावित संक्रमण नहोस् भनेर सचेतता अपनाइएको जानकारी दिएको राष्ट्रपतिका परराष्ट्र विज्ञ मदन भट्टराईले सञ्चारकर्मीसँग बताए।

करिब १५ मिनेट बास्तोला निवासमा बिताएर राष्ट्रपति भण्डारी फर्किएकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.