|

काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा आठौं बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तुको प्रदर्शनी शुरु भएको छ।

नेपाल छाला जुत्ता उत्पादक संघले बुधबारदेखि ‘कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो’ नारासहित बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा आठौं बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तुको प्रदर्शनी शुरु गरेको छ।

प्रदर्शनीको उद्घाटन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गरिन्। प्रदर्शनी फागुन ९ गतेसम्म चल्नेछ। प्रदर्शनी उद्‌घाटन गर्दै मन्त्री चौधरीले नेपाली छाला जुत्ता उद्योगीलाई प्रोत्साहन गरी उत्पादन बढाउने पक्षमा सरकार रहेको बताइन्।

उनले पछिल्लो समय बजारमा देखिएको तरलता अभावलगायत समस्याबाट तत्काल उद्योगी व्यवसायीलाई निराश नहुन आग्रह गरिन्। उनले वर्तमान सरकार व्यवसायीको समस्या समाधान गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउने पक्षमा रहेको बताइन्। उनले छाला जुत्ताको उत्पादन वृद्धि गरी निर्यात प्रवर्द्धनमा जोड दिनु पर्ने बताइन्।

प्रदर्शनीमा नेपाल छाला जुत्ता उत्पादन गर्ने कम्पनीलगायत विभिन्न उद्योगहरूले शतप्रतिशत छाला प्रयोग गरी उत्पादन गरेका जुत्ताहरु राखिएको छ। छाला जुत्ता उत्पादनमा नेपाल आत्मनिर्भर बन्दै गएको संघले जानकारी दिएको छ।

प्रदर्शनीको मुख्य उद्देश्य लघु घरेलु उद्योगलाई वैज्ञानिक रुपमा आधुनिकीकरण गर्दै विदेशमा निर्यात गर्ने वातावरण बनाई राष्ट्रिय अर्थतन्त्रलाई परिर्वतन ल्याउने रहेको छ। मेलामा करिब ७० देखि ८० हजार दर्शक भित्र्याउने लक्ष्य संघको रहेको छ।

मेलामा छालाका नयाँ डिजाइनका आधुनिक जुत्ता, चप्पल तथा छाला जन्य वस्तुहरू राखिनेछ। मेलामा नेपाली उत्पादन महिला, पुरुष र बालबालिकाका लागि जुत्तालगायत अल्लो र हेम्पबाट बनेका वस्तुहरूको प्रदर्शनीमा राखिएको छ। मेलामा अपाङ्ग व्यक्तिहरुलाई विशेष छुटको व्यवस्थासमेत गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.